शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भट्टराईको निधनले क्षति : मुख्यमन्त्री राउत

शनिबार, १७ मङ्सिर २०७९, २० : ३४
शनिबार, १७ मङ्सिर २०७९

मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनले स्तब्ध बनाएको बताएका छन् । 

मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । दिवङ्गत अध्यक्ष भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री राउतले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैगरी मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पनि आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन्  । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११ औँ वार्षिक साधारणसभामा सहभागी हुन सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुगेका अध्यक्ष भट्टराई आज बिहान मृत फेला परेका थिए । ६७  वर्षीय भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए ।

सप्तरी सदरमुकाम राजविराज निवासी भट्टराई मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुरधाममा बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखुलेको र झ्यालबाट हेर्दा मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए । भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप