बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘शून्यको मूल्य’ : कर्णालीका आमाहरूको कथा व्यथा !

शनिबार, १७ मङ्सिर २०७९, २२ : ०८
शनिबार, १७ मङ्सिर २०७९

 सुर्खेत । ‘डाक्साप बच्चाकी आमाले जिद गरिरहेकी छ ।’
‘के जिद ?’
‘मान्दै मान्दिन’
‘के मान्दिन ?’
‘उ बच्चालाई दुध चुसाउन चाहन्छे’
‘हँ बच्चा त मरेको जन्मेको छ त, दुध चुसाउन कसरी सम्भव होला ? 
 ‘मैले सम्झाएको हुँ, डाक्साप ! बारबार सम्झाएको हो ! खै जति गरे नि मान्दिन् । त्यो लास भएपनि दिनु न, दिनु न । अर्को विकल्प जानिन हजुर, उ त्यसैलाई दुध चुसाउन चाहन्छे । उ प्रयास गर्न चाहन्छे ।’

माथि उल्लेखित वार्तालाप शनिबार सार्वजनिक डाक्टर नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ अर्थात् सास, साहस र स्नेहको कथा नामक सिर्जनशील गैरआख्यान पुस्तकको ‘बुबालाई चिठी’ च्याप्टरमा समावेश गरिएको छ । डाक्टर केसी आफैंमा बालरोग विशेषज्ञ हुन् ।

मृत्यु भइसकेको शिशुकी आमाले आफ्ना श्रीमानलाई भनेको कुरा श्रीमानले डाक्टर केसीसमक्ष भनेका छन् । हो यस्तै आमाहरूको कथाको संगालो हो ‘शून्यको मूल्य’ ।  शनिबार वीरेन्द्रनगरको शुभ होटेलमा एक कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक कार्यक्रममा सहभागीहरूले पुस्तकले कर्णालीको वास्तविकता बोलेको भन्दै प्रशंसा गरे ।

विशेषतः कर्णालीका महिलाहरूले भोग्नुपरेको वास्तविक चित्रलाई पुस्तकमा चित्रण गरिएको छ । उक्त गैरआख्यान पुस्तक केसीको पहिलो पुस्तक हो ।   एप्रोन लगाएर कर्णालीमा समाजसेवा गर्दै आएका डा.केसी कर्णालीमा दुर्गम ठाउँमा पुगेर काम गर्दै गर्दा त्यहाँका आमाको सास, साहस र स्नेहका कथा देखेको र तीनै कथाहरूको संगालो ‘शून्यको मूल्य’ बनेको बताउँछन् ।  

उनले कर्णालीका मान्छेहरूको कथा यस्तो रहेछ भन्ने कुरा दुनियाँसम्म पुगोस् भन्ने उद्देश्यसहित कथाहरू कृतिमा समावेश गरिएको बताए । ‘कर्णाली आफैंमा विश्वविद्यालय हो,’ डा.केसी भन्छन्, ‘यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठूलो डिग्री हो ।’

पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी लेखक तथा अभियन्ता राधा पौडेलले ‘शून्यको मूल्य’ ले अन्धकार समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरेको बताइन् ।  ‘यो पुस्तक देशका प्रधानमन्त्रीदेखि मन्त्रीहरूको हातमा हुनुपर्छ, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरूले पढ्नुपर्छ,’ उनले भनिन्,‘ त्यसपछि उहाँहरूले थाह पाउनुहुने छ, कर्णालीको वास्तविकता, यो पुस्तक आफैंमा एउटा अभियान हो, कर्णालीमा गरिबी छ, यहाँमा मान्छेहरू उपचार गर्ने पैसा नपाएर ज्यान गुमाउँछन् भन्ने मात्र छैन, त्यसबाट मुक्तिको साहस गर्न पनि माहिर छन् भन्ने सिकाएको छ ।’ 

पौडेलले ४ सय वर्षदेखि पैतालाको धुलोसरी राज्य र खबरदारी गर्ने नागरिक समाजले बेनाम बनाएको, अस्तित्वहिन बनाएको, जुरमुराउन नदिएको, धर्म, संस्कृति, संस्कार, चलन, प्रथा, दासत्वका नाममा गाँजेर रहेको महिला माथि हुने शोषण विरुद्धका लागि ‘शून्यको मूल्य’ १० रेक्टरको भूकम्पको कम्पन जस्तै भएको दाबी गरिन् । 

पुस्तक सार्वजनिक कार्यक्रममा लेखक म्यागी डोयन, अन्बिका गिरी, महेश नेपाली लगायतका लेखक तथा साहित्यकारहरूले पुस्तकमाथि चर्चा परिचर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप