शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटकीय गन्तव्य बन्दै  पामडाँडा

आइतबार, १८ मङ्सिर २०७९, ०८ : ०१
आइतबार, १८ मङ्सिर २०७९

पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । 

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ । 

प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडासदस्य तारा गुरुङले बताए । उनले भने, “हिमशृङ्खलाको आकर्षक दृश्यसँगै यहाँबाट त्रिशूली नदीमाथि पामडाँडाबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । कात्तिक, मङ्सिर, पुस र फागुनसम्मै पामडाँडाबाट तल कुहिरो देखिने गुरुङले बताए ।

“हिजोआज मध्याह्न १२ बजेसम्मै कुहिरो देखिन्छ”, उनले भने, “बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ ।” यतिबेला यहाँ लटररम्म सुन्तला फलेका छन् । यसले पनि यहाँको दृश्य थप मनोरम बनाएको छ ।
 
यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य  यानबहादुर गुरुङले बताए । उनका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ । पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ । यहाँ पुग्नेका लागि १५–२० जना पाहुनालाई  राख्न सक्ने क्षमता यहाँका घरवास (होमस्टे)को व्यवस्था गरिएको छ ।

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ । गुरुङ समुदायको खुलाल जातिमात्रै बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू यहाँ आएर बसेको उनले बताए । यहाँबाट नजिकै रहेको चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ ।

पामडाँडाको पर्यटन विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्ने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप