शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

किन चाहिन्छ रंगमञ्चमा समीक्षा ?

आइतबार, १८ मंसिर २०७९, १२ : ०३
आइतबार, १८ मंसिर २०७९

मन्डला थियटरमा शुक्रबार ‘किन चाहिन्छ रंगमञ्चमा समीक्षा ?’ शीर्षकमा छलफल भयो । ९ देखि १७ मंसिरसम्म चलेको दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सव’ का दौरानमा नेपाली र विदेशी गरी १८ नाटक मञ्चन हुनुका साथै रंगमञ्च र यससँग सम्बन्धित विविध विषयमा छलफल भए ।

शुक्रबारको छलफलको ब्यानरमा अंग्रेजी शब्द ‘क्रिटिसिजम्’को नेपाली अनुवाद स्वरूप ‘समीक्षा’ लेखिएको थियो । अनुवादको कसीमा टेक्दा अंग्रेजी शब्द ‘क्रिटिसिजम्’ले समालोचना र ‘रिभ्यु’ले पुनर्विचार वा समीक्षालाई जनाउनुपर्ने हो । तर, हाम्रा शब्दकोशमा ‘समालोचना’ र ‘समीक्षा’ शब्दको अर्थ उस्तै–उस्तै पाइन्छ । र, हामीकहाँ कला–साहित्यलाई केलाउने अर्थमा प्राज्ञिक रूपमा ‘समालोचना’ शब्द नै बढी प्रचलित छ । रिभ्युको अर्थमा पनि हामीसँग शब्दको खाँचो परेको आभास हुन्छ । 

जहोस्, झट्ट सुन्दा ‘किन चाहिन्छ रंगमञ्चमा समीक्षा ?’ भन्ने प्रश्न सोझो र सरल लाग्छ । गहिरिएर सोच्दा यसले गम्भीर अर्थ बोकेको छ । समालोचना वा समीक्षाको अर्थ हुन्छ– कुनै विषयवस्तु, ग्रन्थ, लेख, व्यक्ति आदिको गुणदोषको सम्यक् विवेचना । मानव सभ्यता गुण र दोषकै उपज हो । आदिम मानवले सबैभन्दा पहिले आफ्नो भोजनको गुण र दोष छुट्ट्याउन बाध्य भयो । गुण र दोषको मात्रा मिल्दा कति चिज औषधि बन्छ, कति विष । आज हामीले खाने अधिकांश खाद्यपदार्थ हिजोका हाम्रा पुर्खाले गरेको लामो अनुसन्धानको उपज हो । 

रंगमञ्च भावाभिव्यक्तिको विशेष माध्यम हो, अर्थात् एक भाषा हो, यसले कथा भन्छ, गाथा गाउँछ । रंगमञ्च कलाहरूको समष्टिगत रूप हो । सभ्यता र संस्कृतिको विकाससँगै यसमा साहित्य (कथानक), नृत्य, गायन, वादन, अभिनय, वाक्कला, चित्रकला, मूर्तिकला हुँदै आजका नयाँनयाँ प्रविधि जोडिन आइपुगेका छन् । सभ्यताको इतिहासमा लामो यात्रा गरेर रंगमञ्च आज हाम्रा माझमा छ । लामो बाटो हिँड्दा यसले आफ्नै व्याकरण अर्थात् शास्त्र बनाएको छ । 

अधिकांश कला मानिसको संंस्कृतिसँग जोडिएको छ । सिंगो रंगमञ्च नै हामी अधिकांशको संस्कृति नहोस्, यससँग सम्बन्धित कुनै न कुनै रूप वा कला अधिकांश मानव समुदायको संस्कृति अवश्य हो ।

यहाँ हामी समीक्षामाथि केन्द्रित हुँदै छौँ, समीक्षा यस्तो प्रक्रिया हो, यो कहिल्यै सकिँदैन । समीक्षा जुनसुकै शास्त्रमाथि गर्न सकिन्छ, कसैको समीक्षाकै पनि समीक्षा हुन सक्छ । तपाईंले बुझिसक्नुभयो होला, यस लेखको पनि कसैले अर्को समीक्षा गर्न सक्छ । 

शुक्रबारको छलफलमा म पनि वक्ताका रूपमा थिएँ । अर्की वक्ता रंगकर्मी नम्रता केसीको गुनासो थियो, हामीकहाँ रंगमञ्चको समीक्षा विवरणात्मक वा परिचयात्मक हुन्छ । जस्तो : कथा के हो छ, कति कलाकार छन्, कसको निर्देशन, नाटककार को हो, आदिबारे चर्चा । वास्तवमा नाटकको समीक्षा कस्तो हुनुपर्छ त ? यसकै जवाफले उपरोक्त छलफलको शीर्षकलाई समेट्छ । 

विचार, कला र संस्कृति

युनानी दार्शनिक अरस्तुले कथानकलाई नाटकको आत्मा मानेका छन् । जुनसुकै रूप (फर्म)को नाटक मञ्चन गर्न कथानक वा खाका आवश्यक हुन्छ । खासगरी कथानकमा भावना मात्रै आउँदैन, विचार पनि आउँछ । अर्थात् मञ्चित नाटकले दर्शकमा कस्तो विचार वा भाव उत्पन्न गराउँछ, त्यो महत्त्वपूर्ण हुन्छ । 

यसर्थ, नाटकको समीक्षा गर्दा वा गुणदोष केलाउँदा कथानकलाई केन्द्रमा राख्नुपर्ने हुन्छ । मानव समाज वा राज्यलाई मार्गनिर्देश गर्न वा समाजमा विद्यमान विसंगति, विकृति, विभेद आदिलाई हटाउनका लागि सामाजिक न्यायमा आधारित कुनै ‘नयाँ विचार’ आवश्यक पर्छ । तसर्थ सर्वप्रथम कथानकको समीक्षा हुन आवश्यक हुन्छ । 

अमेरिकी लेखक तथा समालोचक सेल्डन चेनीका अनुसार, नृत्यकला अन्य कलाहरूको महामाता हो । नृत्य विकसित हुँदै नाटक जन्मियो । 

अधिकांश कला मानिसको संंस्कृतिसँग जोडिएको छ । सिंगो रंगमञ्च नै हामी अधिकांशको संस्कृति नहोस्, यससँग सम्बन्धित कुनै न कुनै रूप वा कला अधिकांश मानव समुदायको संस्कृति अवश्य हो । संस्कृतिका अनेक रूपमा हाम्रा अनेक परम्परागत गीत छन्, नृत्य छन्, देवीदेवताका पूजा–प्रार्थना छन्, कथा भन्ने शैली छन्, यतिसम्म कि हामीसँग परम्परागत चित्रकला पनि छन् । नाटकमा कुनै न कुनै समुदायको कुनै न कुनै संस्कृति आएको हुन सक्छ । कहिलेकाहीँ समीक्षा गर्ने व्यक्तिले त्यसको खोजी गर्नुपर्ने हुन्छ ।

नाटकमा दृश्य र संकेत विशेष रूपमा आउँछन्, जसलाई दर्शकले विम्ब र प्रतीककै रूपमा वा शब्दशक्तिकै कसीमा बुझ्नुपर्छ भन्ने होइन । सामान्य रूपमा चिन्तन गर्ने व्यक्तिले नाटकमा प्रयोग गरिएका संवाद, दृश्य, अभिनय (शरीरको भाषा पनि) आफ्नै किसिमले अथ्र्याउन सक्छ ।

विम्ब र प्रतीक 

शुक्रबार मन्डला थियटरमा भारतीय समूहको नाटक ‘ब्ल्याकबोर्ड ल्यान्ड’ मञ्चन गरियो । काज हिम्मेलस्ट्रपको लेखन र राजेश सिंहको निर्देशन रहेको यस नाटकमा एउटा यस्तो विम्बात्मक र प्रतीकात्मक दृश्य राखिएको थियो :

महिनावारी भएकी स्त्री पात्रको रगत भुइँमा चुहिन्छ । त्यसलाई पुरुष पात्रले पुछ्ने प्रयत्न गर्छन्, त्यसपछि स्त्री पात्रले बडो सकसपूर्ण किसिमले पुछ्न थाल्छिन् । उनले केहीबेर उकुसमुकुस भावमा भुइँ पुछेको दृश्य र पुरुष पात्रको संवाद (पुरुष पात्र भन्छन्— मैले तिमीलाई सघाउन सकिनँ ।) ले विम्बात्मक र प्रतीकात्मक रूपमा संकेत गथ्र्यो– महिलाहरू सदियौँदेखि घरधन्दामा दलिएका छन् । 

कहिलेकाहीँ साहित्यमा विम्ब र प्रतीक एकैचोटि जोडिएर आउँछन् । विशेषतः विम्ब (इमेज) र प्रतीक (सिम्बोल) पश्चिमा साहित्यिक सिद्धान्तको तत्व हो । पूर्वीय सिद्धान्तमा भने शब्दशक्ति (अभिधा, लक्षणा र व्यञ्जना)को कसीमा साहित्यको व्याख्या गरिन्छ । 

निश्चय नै नाटकको उपरोक्त दृश्य र संंवाद रमाइलोका लागि राखिएको होइन, नाटक हेर्ने सबैले यसलाई यसरी नै बुझ्नुपर्छ भन्ने छैन, कम्तीमा समीक्षा गर्नेले यति बुझ्न सके उत्तम । 

नाटकमा दृश्य र संकेत विशेष रूपमा आउँछन्, जसलाई दर्शकले विम्ब र प्रतीककै रूपमा वा शब्दशक्तिकै कसीमा बुझ्नुपर्छ भन्ने होइन । सामान्य रूपमा चिन्तन गर्ने व्यक्तिले नाटकमा प्रयोग गरिएका संवाद, दृश्य, अभिनय (शरीरको भाषा पनि) आफ्नै किसिमले अथ्र्याउन सक्छ । तर, त्यसलाई सैद्धान्तिकीकरण गर्दा शब्दशक्ति, विम्ब वा प्रतीकमा टेक्नुपर्ने हुन सक्छ । विश्वमा कलाका केही मानक वा नियम पनि छन् । जस्तो : नाच्नेले ताल छाड्न सक्दैन । ऊ संगीत वा गीतको भावसँग पनि जोडिनुपर्छ, नत्र नृत्य नाम मात्रैको हुन्छ । अझ गायकले तालसँगै सुरलाई छाड्नुहुँदैन । 

नाटकमा अभिनय गर्ने पात्र एउटा मनोदशा वा मनस्थितिसँग जुधिरहेको हुन्छ, जुन उसको शारीरिक भावभंगिमामार्फत व्यक्त हुन पुग्छ । शरीरको भाषा र मनोविज्ञान बुझ्ने लेखक, निर्देशक भइदियो भने उसले नाटक वा साहित्यमार्फत धेरै भाव व्यक्त गर्न सक्छ । 

एउटा भारतीय फिल्म छ, अभिमान । ऋषिकेष मुखर्जी निर्देशित, अमिताभ बच्चन र जया बच्चन अभिनीत यस फिल्ममा स्त्री मनोविज्ञान सम्बन्धी एउटा सशक्त दृश्य राखिएको छ । सहरबाट गाउँमा आएको गायक सुवीर (अमिताभ) उमा (जया)को प्रेममा पर्छ । सहर फर्कने बेला उसले भन्छ– म भोलि सहर फर्कंदैछु, यस कुरामा तिमीलाई दुःख छैन ?

संवाद अघि बढ्दै जान्छ र सुवीरले भन्छ, ‘सहरको भीडमा पनि एक्लो हुनेछु, किनकि उहाँ उमा हुने छैनन् ।’

सुवीरले यसो भन्दा उमा लजाउँदै आफ्नो एउटा खुट्टाको बुढीऔँला अर्को खुट्टाको बुढीऔँलामा खप्टाउँछिन् । मैले कतै पढेको थिएँ– महिलाले यसो गरे भने ऊ पुरुषको कुरामा सहमत भएकी हुन्छे । केही वर्षअघि मसँग एकान्तमा संवाद गर्दा एक युवतीले यस्तै मनोविज्ञान व्यक्त गरेकी थिइन् । पछि अभिमान फिल्म हेर्दा यही दृश्य देखेँ, मलाई अद्भुत लाग्यो । शरीरका केही सार्वभौम भाषा छन्, केही आञ्चलिक । जस्तो : घाँटी छोएर हात फुकेको दृश्य नेपालीका लागि एउटा मान्यता वा विश्वास हो, विदेशीका लागि यो अनौठो हुन सक्छ । 

हाम्रा पुर्खाले प्रकृति र अलौकिक शक्तिप्रति प्रार्थना गर्दा गीत, संगीत, नृत्य, अभिनय प्रकट हुन्थे । खुला आकाशमुनिको जनताको कला र संस्कृति पछि शासकको अगाडि देखाउन थालियो । नाटकका कतिपय दृश्य र संवाद शासकको अगाडि सीधा भन्ने वा देखाउने अवस्था हुँदैनथ्यो । त्यस बेला हाम्रा पुर्खाले घुमाउरो साहित्य र दृश्यको सहारा लिए, जुन पछि गएर कला–साहित्यको तत्त्व बन्न पुगे । कल्पनाको देउतालाई मूर्त रूप (मूर्तिको रूप) मा ल्याउन पनि मानिसले विम्ब र प्रतीकको सहारा लिन पुग्यो । 

१७ मंसिरमा दिया मास्के निर्देशित नाटक ‘कथा कस्तुरी’ मञ्चन भएको थियो । नयनराज पाण्डेको कथा सर्पदंशमा आधारित यस नाटकलाई भारतीय अभिनेत्री शबाना आजमीले पनि हेरेकी थिइन् । यस नाटक हेरेपछि शबानाले रंगमञ्चमा शब्दहरूले त्यति महत्त्व नराख्ने बताइन् । ‘जुन किसिमले यो कथा भनिएको थियो । यसमा म निर्देशक (दिया मास्के)लाई धेरै धेरै बधाई दिन्छु,’ उनले भनिन्, ‘यस नाटकमा सबै टिमले पूर्ण ऊर्जाका साथ काम गर्नुभएको छ । खास रूपमा लाइट र म्युजिकको यस नाटकमा ठूलो योगदान छ । म सन्तुष्ट भएँ ।’ 

शबानाले सायद यस नाटकको भाषा बुझिनन्, उनले लाइट र म्युजिकको कुरा यस कारण गरिन् कि त्यो सार्वभौमजस्तै थियो । अचेल विभिन्न प्रविधि जोडेर नाटकलाई प्रयोगशील बनाइन्छ । नाटकमा लाइट विभिन्न कलर (रङ)मा प्रयोग गरिन्छ, कलरको केही सार्वभौम अर्थ पनि छ । विशेषतः लाइटका माध्यमबाट दिन, रात र मानिसको मनोदशालाई दर्शाउने कोसिस गरेको बुझिन्छ । 

शास्त्रीय प्रमाणमै टेक्दा वैदिक कालमै नाटक गर्ने जाति भेटिन्छ । हाम्रा विभिन्न जातजातिको संस्कृति नियाल्दा नृत्यको रूप (फर्म)मा नाटक देख्न सकिन्छ । यसो हुँदा हामीसँग हाम्रो माटोसँग जोडिएका अनेक नाटकका रूप छन्, केवल त्यसको अनुसन्धान आवश्यक छ । 

म रंगमञ्च क्षेत्रको विज्ञ होइन, तर साहित्यको विद्यार्थी हुँ । स्वअध्ययन र चिन्तनबाटै मैले साहित्यसम्बन्धी धारणा बनाएको हुन्छु । मेरा धारणा पनि समीक्षाकै घेरामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर एडिटर हुन् ।

लेखकबाट थप