बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका एक्ला स्वतन्त्र सांसद देवेन्द्र भन्छन्– जुम्लामा सक्कली कांग्रेस म हुँ

आइतबार, १८ मङ्सिर २०७९, १४ : ३८
आइतबार, १८ मङ्सिर २०७९

हालै सम्पन्न निर्वाचनमा कर्णालीको जुम्ला अन्य जिल्लाभन्दा विशेष रह्यो । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीको उम्मेदवारी र प्रदेशसभातर्फ गठबन्धनविरुद्ध स्वतन्त्र र नयाँ अनुहारले चुनौतीमात्र दिएनन्, जुम्ला नयाँ इतिहास रच्न सफल भयो ।

एकातिर ठुला राजनीतिक दलसहितको गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भर्खरै राजनीतिमा बामे सर्दै गरेका ज्ञानेन्द्र शाहीले पराजित गरे भने प्रदेशसभातर्फ नेपाली कांग्रेसका प्रदेश सभापति नै पराजित भए ।

प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने रणनीतिसहित मैदानमा होमिएको सत्तारुढ गठबन्धनलाई जुम्ली जनता रुचाएनन्, बरु नयाँ अनुहारलाई चुने ।

देवेन्द्रबहादुर शाही ०५८ सालदेखि नै नेपाली कांग्रेसमा आवद्ध भएर जुम्लामा पार्टीको सांगठनिक अवस्था विस्तार गर्न अग्रणी भूमिका खेलेका नेता हुन् । तर पार्टीले आफूलाई उम्मेदवार नबनाएपछि उनले विद्रोह गरेर प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए । उनको उम्मेदवारीको उद्देश्य भनेको कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्नु थियो । उनले जुम्ला (क) मा १ हजार ८९९ मतान्तरले कांग्रेसका प्रदेश सभापति शाहीलाई पराजितसमेत गरे । उनको पक्षमा ९ हजार ६५४ मत आउँदा सभापति शाहीको पक्षमा ७ हजार ७५५ मत आयो ।

प्रदेश सभापति भएपछि ललितजङ्गले पार्टीभित्र बलमिच्याइँ गर्न थालेको आरोप देवेन्द्रको छ । ०४८ सालमा नेकपा ‘मसाल’को राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका देवेन्द्रले ०५८ मा नेपाली कांग्रेस प्रजातान्त्रिकको सदस्यता लिएका थिए ।

सुरुमै जिल्ला कार्यसमिति सदस्य र कोषाध्यक्षको भूमिका पाएका उनी भन्छन्, ‘हामीले जुम्लामा कांग्रेसको सांगठनिक अवस्था सुदृढ गर्नका लागि धेरै संघर्ष ग¥यौँ तर उहाँ (ललितजङ्ग)ले ०५१ र ०५६ मा विद्रोह गरेर पार्टीलाई पराजित गर्नुभयो, उहाँसँग मेरो व्यक्तिगत कुनै रिस होइन तर राजनीतिक यात्रामा पटक–पटक गल्ती गर्दै आउनुभएकाले उहाँविरुद्ध मैले उम्मेदवारी दिएको हो ।’

०७० मा आफूहरुले ललितजङ्गलाई जिताएको भए पनि उनमा शासकीय रुप बढ्ता देखिएको देवेन्द्रको गुनासो छ । उनी भन्छन्, ‘यसअघि स्थानीय तहको निर्वाचनमा मेयरमा १ नम्बरमा सिफारिस भएको मान्छेलाई टिकट नदिएर पाँचौं नम्बरको मान्छेलाई टिकट दिनुभयो, जसले गर्दा यहाँ स्वतन्त्र उम्मेदवारले चुनाव जिते भने आधिकारिक उम्मेदवारको पक्षमा उहाँकै आसेपासेहरु पनि उभिएनन् ।’

पार्टीभित्र प्रदेश सभापति शाही संस्थापन पक्ष र देवेन्द्रले इतर पक्षको प्रतिनिधित्व गर्दछन् । यसअघि ०७४ मा प्रतिनिधिसभा चुनावमा देवेन्द्र कांग्रेसबाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धन भएका कारण कांग्रेसले जित्न नसक्ने भएपछि आफूलाई टिकट थमाइएको उनको भनाइ छ ।

त्यो बेला वाम गठबन्धनबाट माओवादीका गजेन्द्रबहादुर महत २२ हजार १७३ मतसहित निर्वाचित हुँदा देवेन्द्रले १४ हजार १४९ मत पाएका थिए ।

उनी यो पटक पनि उम्मेदवार बन्न आकांक्षी थिए । उनी भन्छन्, ‘मैले प्रतिनिधिसभामा दाबी गरेको थिएँ, तर गठबन्धनको भागवण्डा अनुसार माओवादीलाई भाग प¥यो । हाम्रो माग जुम्ला हाम्रो भागमा परोस् भन्ने थियो । तर प्रदेश सभापतिले आफू सुरक्षित हुने तरिकाले प्रदेश (क) मा टिकट ल्याएर हामीलाई फुत्काउने दुष्प्रयास गर्नुभयो, त्यसैले मैले उहाँविरुद्ध विद्रोह गरेर पराजित गरेको हुँ,’ उनले रातोपाटीसँग भने, ‘०७४ मा मैले भोगेको पीडा जुम्ली जनताले बुझेका थिए ।’

‘जुम्लामा सक्कली कांग्रेस म हुँ’

गठबन्धन र पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको छ । उनी भने अब पार्टीमा फर्कने कि नफर्किने भन्ने कुरा पार्टीमै निर्भर रहने बताउँछन् ।

‘वास्तवमा भन्ने हो भने जुम्लामा सक्कली कांग्रेस म हुँ, उहाँ (प्रदेश सभापति) कहिल्यै आन्दोलनमा लाग्नुभएको छैन । उहाँको योगदानका बारेमा जुम्ली जनतालाई थाहा भएरै मतदाताले मलाई विश्वास गर्नुभएको हो,’ उनी भन्छन, ‘म निरन्तर आन्दोलन र हरेक चुनावमा पार्टीको पक्षमा संघर्ष गर्दै आएको व्यक्ति हो, उहाँले नक्कली कुरा गर्न धेरै जान्नुभएको छ, हामी सक्कली कुरा जान्दछौँ र सक्कली भएकै कारण उतातर्फ गठबन्धन हुँदाहुँदै पनि मलाई जुम्ली जनताले जिताएका हुन् ।’

उनले प्रदेशसभामा आफ्नो भूमिका कस्तो हुने भन्नेबारे पार्टीकै निर्णयमा निर्भर रहने बताए । उनले भने, ‘पार्टीले आवश्यक ठान्छ भने ठिक छ, ठान्दैन भने पनि म लोभीपापी होइन, न कसैको डर ! म स्वतन्त्र रुपमा जुम्लाको विकास समृद्धिका लागि लड्छु ।’

जुम्लाका पुराना नेता माधव सेजुवाललाई आफ्नो राजनीतिको गुरु सम्झिने उनी पार्टीले कारबाही फुकुवा नगरे स्वतन्त्र भएरै आफ्नो संगठन निर्माण गर्ने बताए ।

‘कांग्रेसका प्रदेश सभापतिले राजीनामा दिनुपर्छ’

प्रदेशसभाका नवनिर्वाचित सदस्य देवेन्द्र शाही प्रदेश सभापति ललितजंग शाहीलाई जनताले कारबाही गरिसकेको भन्दै अब उनले राजीनामा दिनुपर्ने तर्क गर्दछन् ।

‘जनकारबाही भएर हारेका व्यक्तिलाई पार्टीले राख्ने कि जितेकालाई राख्ने भन्ने कुरा पार्टीले जान्नुपर्ने हो,’ उनले भने, ‘मेरो सिधा कुरा छ उहाँले प्रदेश सभापतिबाट राजीनामा दिनुपर्ने हो, एक त आफूले टिकट दिएको मेयरको उम्मेदवारलाई पराजित गर्नुभएको छ, उहाँ आफै पनि हार्नुभएको छ ।’

कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाही ‘फेलियर’ भइसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप