मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक एवं बैंकिङ सुधारका लागि सहकार्य गर्न आईएमएफलाई सिबिफिनको आग्रह

आइतबार, १८ मङ्सिर २०७९, १७ : १२
आइतबार, १८ मङ्सिर २०७९

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रको सुधारका लागि सहकार्य गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई आग्रह गरेको छ । आइतबार राजधानीमा नेपालका लागि आईएमएफका प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गर्दै सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, ब्याजदर, लगानी योग्य रकमको अभाव लगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएकोप्रति उपाध्यायले चिन्ता व्यक्त गरे । 
सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफलमा बोल्दै आईएमएफ प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभइ विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिँदा ब्याजदर समेत उच्च भइ मुद्रास्फिति बढेको बताए । वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरूले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनले बताइन् । 

नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनकोबीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा उनले सुझाव दिइन् ।
यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । 
सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए । उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरूको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवर्द्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्नेमा उनले विशेष जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप