बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेसँगको तालमेल चुनावसँगै सकियो : उपेन्द्र यादव

आइतबार, १८ मङ्सिर २०७९, २३ : ०८
आइतबार, १८ मङ्सिर २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिएका हुन् ।

‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

यादवले आफ्नो पार्टी निर्णायक नभएको र अब आफूहरूले उठाउँदै आएको मुद्दामा केन्द्रित हुन जनताले म्यान्डेट दिएको पनि बताए । ‘हाम्रो पार्टी निर्णायक होइन । चुनावबाट काँग्रेस र एमालेलाई निर्णायक बनायो । हाम्रो पार्टी भनेको यो चुनाव पछि एउटा मुद्दामा राष्ट्रिय सवालमा हामीले जुन विगतदेखि उठाइरहेका छौं । त्यो उठाउने जनादेश आयो,’ यादवले भने । 

अहिलेको निर्वाचनमा केही महिना अगाडि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धमाका दिएको, मधेस नेपाल नै होइन भन्ने जनमत पार्टीले म्यान्डेट पाएको र राजतन्त्र फर्काउने एजेन्डा लिएको राप्रपाले धेरै मत पाएको विषयमा अध्ययन हुनुपर्ने पनि बताए ।

‘घण्टी छाप आएको छ । चुनावभन्दा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यत्रो धमाका दियो । जनमत पार्टीले मधेशै अलग बनाउँछु भनेर आएको पार्टी हो । उसको मूल स्लोगन नै मधेश इज नट नेपाल थियो । त्यसो भनेर आएको पार्टीले म्यान्डेट पायो,’ अहिले आएको जनमतलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा यादवले भने, ‘अहिलेको परिवर्तन होइन पहिलेकैमा जानुपर्छ भन्ने राप्रपा अगाडि आयो । यो अध्ययनको विषय हो । पुराना पार्टी र नेताहरुले गरेको कामबाट अलिक फस्टेट भएर नेगेटिभ भोटबाट आएको हो कि ?’ 

यादवले डेमोक्रेटिक रेभुलेसनले ल्याएको उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका लागि त्यसका पक्षपातीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘जसले परिवर्तन ल्याए ति क्रान्तिकारी शक्तिहरु पछि परेका छन् । जुन मक्सदका लागि ज्यान दिएका आन्दोलनहरु भए त्यो हाँसीमजाक जस्तो भएको छ, त्यो दुर्भाग्यपूर्ण भयो,’ यादवको भनाइ छ, ‘नेतृत्व गर्नेको कमजोरी भएको भएपनि यो मुलुकको क्यारेक्टर त्यस्तै खालको भएको छ । जुन पहिले पनि नेपालले भोेगेको हो र अहिले पनि त्यही देखिरहेको छ ।’

आँखा चिम्लेर समर्थन गर्दैनौं

यादवले अहिले सत्तापक्ष र प्रतिपक्षको कित्तामा उभिने निर्णय गरिनसकेको बताए । ‘प्रतिपक्षी कि सत्तापक्ष भन्ने विषय हामीले तय गरेका छैनौं । सबै चुनावी परिणाम आइसकेपछि हामी कार्यकारिणी समितिको बैठक बस्छौं । त्यसपछि सरकार बनाउने पार्टीले के का लागि सरकार बनाउने हो । हामीले उठाएको मुद्दा के हुन्छन् लगायतका कुरा बुझेर हामी निर्णय गर्छौं,’ यादवले भने, ‘सरकारमा बस्ने कि जाने भन्ने विषयमा हामीलाई अहिले हतार छैनौं । हतार त काँग्रेस, एमाले त्यो भन्दा बढी माओवादीका साथीहरुलाई देख्छु ।’

यादवले संविधानमा उल्लेखित निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायीक प्रणाली, समावेशीकरण, पहिचानका सवाल र प्रदेशका अधिकार सम्पन्न बनाउने कुराहरु संशोधन नगर्ने हो भने सिस्टम नै कोल्याप्स हुनसक्ने बताए । यस्तै अहिले मुलुक आर्थिक रुपमाले निक्कै तल गएको पनि उनको भनाइ थियो ।

‘मुलुकमा आर्थिक संकटका लक्षणहरु देखा परेका छन् । कतिपय आर्थिक मामिलाका विज्ञहरुले नेपाल आर्थिक रुपले दिवालिया हुने अवस्था आउन सक्ने बताएका छन् । त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा योजना नआएसम्म हामीले आँखा चिम्लेर कसैलाई समर्थन गर्ने भन्ने आउँदैन’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप