शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जहाँ मेस्सी जन्मिए...

आइतबार, १८ मङ्सिर २०७९, २० : ३३
आइतबार, १८ मङ्सिर २०७९

सत्तरी वर्षिया सुसना आरोस उनको बस्ती अहिलेजस्तो चर्चामा आउनुअघिका दुई कुरा सम्झन्छिन् : तास खेलिरहेका साथीसंगी र गल्लीमा कुदिरहेका बालबच्चाको आवाज । हल्ला गर्दै कुदिरहेका बच्चाको लक्ष्य कि त पोखरी हुन्थ्यो कि त उनीहरू बल वरिपरि झुम्मिएका हुन्थे । 

यही भिडमा आफ्ना दौँतरीभन्दा होचो एक फुच्चे केटो पनि हुन्थ्यो, जसले पछि गएर अर्जेन्टिनाको यस सानो गाउँलाई विश्वको भूगोलमा पहिचान दिलायो । ‘उ अरू बच्चाजस्तै थियो,’ आरोसले गाउँको त्यही सानो फुच्चे र अहिलेका विश्वका नामी फुटबल खेलाडी लियोनेल मेस्सीको सम्झना गर्दै भनिन् ।  

मेस्सीको बाल्यकाल बितेको यो बस्ती ‘ला बजाडा’(जसको अर्थ भिरालो भन्ने हुन्छ)मध्यम आकारको रोसारियो सहरभित्र  पर्छ । ‘उनी एकदम नरम थिए, अहिलेजस्तो छन् , त्यस्तै । उनी जीवनभर अहिले देखिए जस्तै रहे,’ बाल्यकालमा बस्तीका गल्लीमा मेस्सीसँगै बल कुदाएकी ३३ वर्षिया बारबारा सोसीले सम्झिइन् । 

मेस्सीले १३ वर्ष नपुग्दै रोसारियोको मुख्य स्थानीय क्लब ‘नेवेल्स ओल्ड बोईज’बाट ६ वर्ष खेलिसकेका थिए, जुन अवधिमा उनले झण्डै ५०० गोल हाने । 

उनले सोही क्लबमा देखाएको कलाको कारण युरोपको चर्चित क्लब बार्सिलोनाले उनी र उनको परिवारलाई अर्जेन्टिनाबाट स्पेन लग्यो । बार्सिलोनाले मेस्सीलाई आफूसँग लैजाँदा उनको शरीरमा देखिएको वृद्धि हार्मोनको कमीको पनि उपचार गर्ने कबुल गरेको थियो । त्यहीँबाट उनको बार्सिलोनामा २१ वर्षे करिअर सुरु भयो ।  

बार्सिलोनामै मेस्सी विश्वव्यापी सुपरस्टारको रुपमा उदाए । मेस्सी क्लबमा रहँदा बार्सिलोनाले ३५ ट्रफी जित्यो, जसमा १० ला लिगा, सात कोपा डेल रे र चार युईएफए च्याम्पियन लिग ट्रफी थिए । 

मेस्सीले हालसम्म फुटबल जगतको शिर्ष पुरस्कार मानिने बालोन डी’ओर नै सात पटक जितिसकेका छन् । गत वर्ष मेस्सीको कप्तानीमा अर्जेन्टिनाको कोपा अमेरिका जित्यो । 

अहिले उनी पाँचौं विश्वकपमा खेलिरहेका छन्, जुन सम्भवतः उनको अन्तिम हुनसक्छ । उनले जित्न बाँकी ठुला ट्रफीमा यही विश्वकपको ट्रफी मात्र बाँकी छ । 

अर्जेन्टिनाको सानो गाउँ ‘ला बाजाडा’मा बिताएका जीवनका प्रारम्भिक १३ वर्षले मेस्सीको जीवनमा मात्र छाप पारेको छैन, यस बस्तीका गल्ली पनि मेस्सीको छाप पाइन्छ । धेरै अर्थमा मेस्सी अझै ‘ला बाजाडा’मै छन् जहाँका हरेक अग्ला भित्तामा मेस्सीका ठूलठूला पेन्टिङ देखिन्छ । साथै यहाँका गाउँले पनि मेस्सीलाई बिर्सिन सकेका छैनन् । 

मेस्सीका पूर्व प्राथमिक विद्यालय शिक्षक अझै चक बोर्डकै काममा तल्लीन छन् । र मेस्सी पढेको स्कुलमा अझै उनको मार्क निलो रेकर्ड बुकका पृष्ठमा अझै सुरक्षित छ । (जहाँ मेस्सीको बाहेक सबै पूर्व विद्यार्थीका ग्रेड रेकर्ड हुन्छन् ।)

कुनै समयका अभिभावक अहिले हजुरबुवा हजुरआमा भइसके । उनीहरू मेस्सी र तिनका सन्तान सँगै खेलेको सम्झन्छन् । मेस्सीका दौतरीहरु आफै अभिभावक भइसके, जो तिनको बालबालिकालाई मेस्सीको भित्ते चित्रलाई छेउ पारेर विद्यालय लैजान्छन् । 

‘मेस्सी र उनका दौँतरी हुर्किएपछि यहाँका गल्लीमा फुटबल खेल्न छाडियो । अर्को पुस्ताले बल खेल्नै छाड्यो ,’ आफ्ना छिमेकी ओल्गा डवीडोवीक्जको घरबाहिर उभिएर आरोसले भनिन् । मेस्सीको जन्मिएको गाउँमा अहिले आरोस र ओल्गाजस्ता वयोवृद्ध धेरै देखिन्छन् । 

हाल ७५ वर्षकी ओल्गा ५० वर्षदेखि यही गाउँमा बस्दै आएकी छन् । सन् १९७० को दशकको सुरुमा ओल्गा उनका श्रीमानसँगै अमेरिकाबाट तीन वर्षको लागि भनेर यहाँ आएकी थिइन् । तर बसाई लम्बिएर ५० वर्ष पुगिसक्यो । ओल्गा अमेरिकामा ला बाजाडामा घर बनाउने उदेश्यले एक पर्स उद्योगमा काम गर्थिन् । 

ओल्गा र आरोस तिनको वस्तीमा हुर्किएका मेस्सीको कुरा गर्दा उनका हजुरआमा सेलियालाई सम्झन्छन् । सेलियाले कोचहरूलाई जोडबल र भनसुन गरेर मेस्सीलाई सानै उमेरबाट खेल्न लगाएकी थिइन् । 

तर उनी मेस्सी १० वर्षको उमेरमा बितिन् । अहिले पनि मेस्सी गोल गरेपछि खुसी व्यक्त गर्दा आकाशतर्फ औला तेर्स्याएर उनै हजुरआमालाई धन्यवाद व्यक्त गरेको बताउने गर्छन् । 

मेस्सीकै बस्तीका अर्का बासिन्दा ६६ सेबास्टियन मुरुआ आफूले मेस्सीका पितालाई ‘उनीसँग हिरा भएको बताउने गरेको’ सम्झन्छन् । मुरुआ अवकास लिईसकेको भए पनि आफ्नो पेन्सनले परिवार धान्न गाह्रो भएपछि एक बेकरीमा काम गर्छन् । 

‘अहिले गाउँमा कुनै अन्तरिक्ष यानजस्तो चिल्लो कार देखियो भने त्यसको कालो सिसापछाडि लियो (मेस्सी) या त उनका परिवार सदस्य हुन्छन् । तिनलाई भेट्दा म बधाई दिने गर्छु । कतै भेट भयो भने उनीहरू पनि जीवनभर सँगै बसेझैँ गरी बोलाउँछन् ,’ मुरुआले हाँस्दै भने । 

पछिल्लो समय ला बाजाडा बस्ती रहेको रोसारियो सहरमा ड्रग्स युद्धका कारण हिस्सा उलेख्य बढेको छ । सहरमा हत्याको दर देशको औसत हत्या दरभन्दा चार गुणा बढि छ । वृद्ध पुस्ताले ‘ला बजाडा’ बाँकी सहरको तुलनामा शान्त मान्ने गरेपछि एक खालको असुरक्षा भावना व्याप्त छ । 

गाउँमा केही कुरा बदलिएका छन् भने केही कुरा उही रहेका छन् । मेस्सीको हाई स्कुलमा रहेको ठूलो निलो रेकर्डबूक अझै पनि विद्यालयको अफिसको दराजमा छ । 

एक कार्यालय सहयोगीले रेकर्ड बुक तानेर त्यसमा रहेको मेस्सीको नाम देखाए । मेस्सी हाई स्कुलको पहिलो वर्ष नसकिँदै बार्सिलोना गएका थिए । 

‘उनले कहिल्यै पनि आफ्नो मुल जरा बिर्सिएनन् । अहिले पनि उनको लबजमा अर्जेन्टाईन महक आउँछ । उनी आफ्नो मुलुक र नगरलाई माया गर्छन् ,’ विद्यालयको प्रशासनमा काम गर्ने ४० वर्षे सिन्टिया भेगाले गर्वको भावमा भनिन् । 

मेस्सीले उनको एलिमेन्टरी शिक्षा एस्कुएला नम्बर ६६ जनरल लास हेरसमा पुरा गरेका थिए । उनको सम्पूर्ण प्राथमिक शिक्षा यहीँ सकिएकाले यस विद्यालयसँगको मेस्सीको सम्बन्ध गहन छ । मेस्सी १८ वर्षको उमेरमा सन् २००५ मा यस विद्यालय पुगेका थिए । विगत वर्षमा उनले यस विद्यालयका लागि थुप्रै अनुदान सहयोग दिए । 

ठुला प्रतियोगितामा देशका लागि ट्रफी जिताउन नसकेको कुरा मेस्सीको खेल जीवनको ठूलो बोझ रहँदै आएको छ । गत वर्ष कोपा अमेरिका जिताए सँगै उनको यस बोझ केही कम भएको छ । तर अपेक्षाको भार अझै पुरै हटिसकेको छैन । 

मेस्सीले सन्यास लिनुअघि देशका लागि विश्वकप जिताउन् भन्ने अपेक्षा छ । र विश्वकपमा अर्जेन्टिना अझै कायम रहेकाले आशा जीवित नै छ । 

अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप