शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुन्धुमले सदियौँदेखि मानव सभ्यता चिनाएको छ : उपराष्ट्रपति पुन

आइतबार, १८ मङ्सिर २०७९, २१ : १२
आइतबार, १८ मङ्सिर २०७९

उपराष्ट्रपति नन्दबहादुर पुनले मुन्धुम र किरात धर्म–संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताएका छन् । इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उनले किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभइ सिङ्गो नेपालीको उत्कृष्ट सम्पदा भएकाले यसमा गौरव गर्न नेपालीमा आग्रह गरे ।

“विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान हो”, उनले भने– “नेपाल बहुजातीय, बहुभाषिक, बहुुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा जातीय विविधता, भाषिक, सांस्कृतिक विविधिता छ, सहिष्णुता छ ।” उनले इलाम प्रकृति र संस्कृतिको धनी जिल्ला भएको बताए । उपराष्ट्रपति पुनले भने, “यो ठाउँ प्राकृतिक  रूपमा मनोरम र सांस्कृतिक रूपमा समृद्ध छ । आदिमकालदेखि किरातीको बसोबास भएको यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ ।”

किरात धर्मगुरुका प्रगतिशील धारणाबारे खुलेर प्रशंसा गरेका उनले शान्ति अहिंसा, शिक्षाजस्ता उपदेश आज पनि व्यावहारिक रहेको बताए । “मुन्धुम सबै नेपालीको जीवन दर्शन हो । परम्परागत र मौखिक रूपमा रहेको मुन्धुमलाई परिस्कृत गर्दै अघि बढाउन फाल्गुनन्दको खास योगदान छ ।” उपराष्ट्रपति पुनले भने, “छोरीलाई छोरासमान शिक्षा र अंश दिने, स्वदेशी उत्पादनका सामानको प्रयोग, किरात धर्ममार्फत आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचार प्रगतिशील हुन् । यसले मानवजातिलाई सकारात्मक सन्देश दिइरहेको छ ।” 

फरक प्रसङ्गमा उनले निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई र नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिए । उनले भने, “निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, कर्मचारी र पर्यवेक्षकलाई पनि धन्यवाद दिन चाहान्छु ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप