शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोह्र वर्षदेखि झुपडीको वास

सोमबार, १९ मङ्सिर २०७९, ०७ : २९
सोमबार, १९ मङ्सिर २०७९

खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो ।

उनी त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेका छन् । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उनले भने, “त्यही गोठलाई जग उठाएर बस्ने छाप्रो घर बनाएको हुँ ।” उनले त्यो छाप्रोमा १६ वर्ष बिताइसकेका छन् । 

जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए। “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उनले भने, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।” 

उनका दुई छोरा छन् तर, दुवै छोरा छुट्टै बस्छन् । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको बास हुन्छ । त्यो छाप्रोलाई पनि उनले दुई तले बनाएका छन् । तल खाना पकाउने र माथि सुत्ने बनाइएको छ । उनकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उनी अहिले त्यही छाप्रोमा एक्लै जीवन बिताइरहेका छन्। 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताए । उनले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताए । “वास पनि आधारभूत कुरा हो”, उनले भने, “हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौँ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप