शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएका सीईओमाथि कारबाहीको तयारी, अध्यक्षको १८ बुँदे असन्तुष्टि

सोमबार, १९ मङ्सिर २०७९, ०८ : ५२
सोमबार, १९ मङ्सिर २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) का  सीईओ रविकिरण अधिकारीलाई कारबाहीको तयारी भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको शनिबार सम्पन्न बैठकमा कार्यकारी अध्यक्ष रविना थापाले सीईओको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो दस्ताबेज नै प्रस्तुत गरेकी थिइन् । 

यो कुरालाई पुष्टि गर्दै एनआरएनएका तीन अध्यक्षमध्येका एक बद्री केसीले कार्यकारी अध्यक्षले प्रश्न उठाइसकेपछि सबै विषय समेटेर सीईओलाई चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय भएको रातोपाटीलाई बताए । बैठकमा सीईओविरुद्ध असन्तुष्टि जनाउँदै थापाले सीईओबाट गर्न नहुने कुराहरुको ठूलै दस्ताबेजै पेश गरेकी थिइन् । अध्यक्षले असन्तुष्टि जनाएपछि ती विषय समेटेर चेतावनी दिने र लिखित स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ । 

आफ्नो निर्देशन नमानेको, संघको कर्मचारी प्रशासन नियमावली र विधानलाई उलंघन गरेको थापाको भनाइ छ ।  अधिकारीलाई थापाले ४ हप्ताअघि यस्तै लिखित चेतावनी पत्र थमाएकी थिइन्, सो पत्रको समेत अवज्ञा गरेपछि संघको पदाधिकारी बैठकले पुनः औपचारिक निर्णय गर्दै कारवाहीको प्रकृया अघि बढाएको हो । 

अधिकारी गत अगष्ट महिनामा एनआरएनएको सीईओमा १ वर्षको लागि नियुक्ति पाएका थिए । ​शुरुमा तीन लाख ५० हजार तलव कबुल गरेर आएका अधिकारीलाई संघले पछि तलव भत्ता घटाएर डेढ लाखमा झारेको थियो ।  

एनआरएनएमा कुल आचार्य कार्यकारी अध्यक्ष हुँदा रवि किरणले नियुक्ति पाएका हुन् । अहिले रविना कार्यकारी अध्यक्ष हुँदा रवि किरणले टेर्न छाडेको एक एनआरएनए नेताले बताए । एनआरएनएभित्रको चरम विवाद र गुटबन्दीका कारण अघिल्लो महाधिवेशनबाट चक्रिय प्रणाली अनुसार पालैपालो नेतृत्व गर्नेगरी कुल आचार्य, रविना थापा र डा बद्री केसी अध्यक्ष बनेका थिए । सोहीअनुसार ६ महिना आचार्यले नेतृत्व गरेपछि अहिले रविनाको पालो आएको हो भने त्यसपछि बद्रीले पालो पाउनेछन् । 

यहीबीचमा आफूलाई सीईओबाट असहयोग भएको भन्दै रविनाले १८ बुँदे असन्तुष्टि पोखेको रातोपाटीलाई प्राप्त विवरणमा उल्लेख छ । थापाले बैठकमा राखेको विषयअनुसार विगत ४ महिनादेखि अधिकारीले संस्थाको हितविपरीतको गतिविधि गर्दै आएको जिकिर गरिएको छ । 

जसमा संघप्रति आलोचनात्मक लेख प्रकाशन गरेको, एनआरएनएको बैंकक क्षेत्रीय सम्मेलनमा  पदाधिकारीहरुको निर्देशनलाई अटेर गर्दै घोषणापत्र लेखन तथा प्रकाशनमा लापरवाही गरेको, अवैधानिक रुपमा संघको केन्द्रीय कार्यालय संचालन गरेको, संघको लागि हुने टेन्डर प्रकृयामा पारदर्शी बाटो बन्द गरेको जस्ता आरोप रविनाले लगाएकी छन् । 
 
यस्तै आर्थिक हिनामिना गरेको, अध्यक्षकै निर्देशनको समेत अवहेला गरेको, अध्यक्षविरुद्ध लविङ गरेको, कर्मचारीबीच गुटबन्दी गराएको लगायतका आरोप पनि उनीमाथि छ । यस विषयमा अधिकारीले भने आफू काममै रहेको र कारबाही वा स्पष्टीकरण सोधिएको भन्नेबारे केही थाहा नभएको बताए । उनले आफूमाथि लागेको सबै आरोप झूटा भएको समेत दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप