बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

नारायणगोपालको प्रेम र विवाहको कथा

सोमबार, १९ मंसिर २०७९, ११ : २८
सोमबार, १९ मंसिर २०७९

‘नेपालमा राम्रा–राम्रा विदेशी सामान पाइन्छ, तिमीलाई के ल्याइदिऊँ ?’ साथी भीम मुखियाले पेमला लामालाई सोधे । ‘मलाई कुनै विदेशी सामान चाहिँदैन । पाइन्छ र सक्छौ भने नारायणगोपालको ठेगाना ल्याइदेऊ,’ पेमलाले मनभरिको धोको पोखिन् । 

पेमला दार्जिलिङको एक सरकारी स्कुलमा पढ्थिन् । उनकी मिल्ने साथी सिक्किमकी देविका राईको झुकाव नेपाली गीतप्रति थियो । क्यासेटको जमाना आइसकेको थिएन, उनीहरू रेडियोमार्फत नेपाली गीत सुन्थे । उनीहरू बस्ने क्यासल्टन कटेजकी एउटी भान्से दिदीसँग सानो रेडियो थियो । बिदाको दिन (शनिबार र आइतबार) उनीहरू त्यो रेडियोमा नेपाली गीत सुन्थे । त्यही रेडियोमार्फत हो, पेमलाले पहिलोपटक नारायणगोपालको स्वरमा गीत सुनेको । पहिलोपल्टमै उनी नारायणको गायकीको फ्यान भइन् । 

पछि कलेजको पढाइ सकेर पेमला आफ्नो घर सुकियापोखरी फर्किन् र स्थानीय विद्यालयमा पढाउन थालिन् । उनीसँगै पढेका र सँगै स्कुलमा पढाएका भीम मुखिया भने नेपाल आएर जागिर गर्न थालेका थिए । अर्कोपटक घर फर्केका बेला भीमले पेमलालाई नारायणगोपालको ठेगाना ल्याइदिए । त्यसपछि उनीहरूबीच पत्राचार चल्न थाल्यो ।

पेमलाको पहिलो पत्रको जवाफमा नारायणगोपालले आफू चाँडै भारतको बडोदा जाने जनाएका थिए । चिठीमा उनीहरू गीत–संगीतको मात्र चर्चा गर्थे, एकअर्काको तस्बिर पनि साटासाट गरेका थिएनन् । 

सन् १९६४ मा दार्जिलिङको क्यापिटल सिनेमा घरमा नारायणगोपालको गायन कार्यक्रम थियो, नारायणगोपालले पत्रमार्फत पेमलालाई त्यो कार्यक्रम हेर्न बोलाएका थिए । तर, पेमलाले उनलाई भेट्ने आँट गरिनन्, अप्ठेरो मानिन् । यतिखेरै नारायणगोपाल र गोपाल योञ्जनले मीत लगाए । सन् १९६५ मा नारायणगोपाल साथीहरू (नगेन्द्र थापा, कर्म योञ्जन र गोपाल योञ्जन)लाई लिएर पेमलाको गाउँ सुकियापोखरी पुगे ।

‘नारायणको विवाह यसरी भयो’ भन्ने शीर्षकमा गोपाल योञ्जनका दाइ कर्म योञ्जनको एउटा लेख छ । सो लेख अनुसार, सुकियापोखरीकी पेमला नारायणगोपालको फ्यान मात्रै होइनन्, उनका लागि ज्यानै दिन तयार छन् भन्ने कर्मलाई थाहा थियो । 

नारायणकै इच्छामा उनीहरू पेमलाको गाउँ पुगेका थिए । ‘पुग्न त पुग्यौँ तर के निहुँले भेट्ने, कसरी भेट्ने ? हामी अकमक्क पर्‍यौँ । हामी ठाउँमा पुगिसकेका थियौँ, पछि हट्ने कुरा थिएन,’ कर्म लेख्छन्, ‘त्यसैले नारायण र म एक ठाउँमा बस्यौँ, गोपाल र नगेन्द्रलाई पेमलालाई बोलाउन पठायौँ । एकैछिनमा उनीहरू पेमलालाई लिएर आए । नारायण र पेमलाले भेट्नासाथ गुलाबजस्ता राताराता गाला पारे ।’

त्यसपछि उनीहरू त्यहाँदेखि ३४ किलोमिटर टाढा नेपाल–भारत सिमानामा पुगे, जहाँ एउटा रुमानी चौर थियो । त्यही चौरमा पेमला र नारायणगोपाललाई छाडेर कर्महरू अन्यत्रै अलमलिए । दुई घन्टाजति एकान्तमा यी दुईको वार्तालाप चल्यो । त्यसपछि चार भाइको टोली पेमलासँग छुट्टिएर दार्जिलिङ फर्कियो । 

त्यसको ६ महिनापछि कर्म काठमाडौंं आएका थिए । नारायणले भने– दाज्यू ! मैले अब पेमलासँग बिहे गर्ने निश्चय गरेँ । दाज्यूले दार्जिलिङ पुग्नासाथ ‘प्रोग्राम फिक्स्ड, कम सुन’ भनेर एउटा तार पठाउनुहोला । 

प्रोग्राम नै छैन किन तार पठाउने ? कर्म अलमलमा परे । कुनै कार्यक्रमबिना दार्जिलिङ जान नारायणगोपाललाई बुवाले बिदा दिँदैनथे, त्यसैले उनले उपाय अपनाएका थिए । दार्जिलिङ फर्केर कर्मले झूटो तार पठाए, जसले नारायणगोपाल र पेमलाको साँचो प्रेमलाई सफल गरायो । 

त्यतिबेला गोपाल योञ्जन र नगेन्द्र थापा काठमाडौंमै थिए । विवाहका लागि नारायण एक्लै दार्जिलिङ पुगे । जातीय संस्कार नमिल्ने भएकाले दुवैको परिवार यो विवाहमा सहमत थिएन । पेमलाको दिदी–भिनाजुको घरमा औपचारिकता निभाउने खालको विवाहको योजना बनाइयो । बिहेका लागि जग्गे र बाहुनको पनि व्यवस्था गरिएको थियो । बाहुनले भने, ‘बेहुलीका लागि के ल्याएका छौ ?’ नारायणगोपालले गोजीबाट सिन्दुर र औँठी निकाले । यसरी यी दुई जीवनसाथी बन्न पुगे ।  

विवाहपछि यो दम्पती पोखरा पुग्यो, भूपि शेरचनको घरमा । रोजीरोटीका लागि पेमलाले स्थानीय रत्नराज्य लक्ष्मीदेवी स्कुलमा पढाइन्, नारायणगोपालले अमरसिंह भूपू सैनिक विद्यालयमा पढाए । 

एक वर्षपछि काठमाडौं फर्केर यो जोडी परिवारसँग बस्न थाल्यो । परिवारसँग बस्दा संस्कार नमिलेर पेमलालाई अप्ठेरो होला भनी नारायणले हेटौँडा जाने प्रस्ताव गरेका थिए, जहाँ उनको परिवारको घरजग्गा थियो । सम्पत्तिको रेखदेख हुने भएकाले बुवा (आशागोपाल)ले पनि नारायणलाई हेटौँडा पठाउन चाहेका थिए । तर, साथी नगेन्द्र थापाले नारायणलाई रोके– त्यहाँ गयौ भने तिम्रो करिअर खत्तम हुन्छ, त्यसैले जसरी हुन्छ तिमी यहीँ बस्नुपर्छ । 

साथीको माया र सद्भावले नारायणका पाइला थामिए । एक वर्षजति परिवारसँग बसेपछि उनीहरू डेरामा बस्न थाले । डेरा सरेको १० वर्षमा महाराजगन्जमा घर बनाउन सफल भए । 

यो दम्पती पोखरामा रहँदा गीतकार नगेन्द्र थापाले ‘धूपी’ पत्रिका एउटा आलेख लेखेका छन्, ‘प्रोमिथियसको आगो : अराकनीको धागो’ शीर्षकमा । २०२७ भदौमा छापिएको यस आलेखमार्फत नगेन्द्रले नारायणगोपाललाई स्वर सम्राट भनेर घोषणा गरिदिए ।

उनको लेख भन्छ : ‘मलाई थाहा छ तिमी पोखरा त्यसै गएनौ, घर, मीत र साथीहरू छोडेर फेवातालमा पौडी खेल्न गएका होइनौ । तिमीभित्रका असीम असन्तुष्टता, वेदना, तिमीलाई पनि जित्ने तिम्रो कलाकार (जुन अहिले साम्य छ, मौन छ, जुन मृत्यु होइन– विस्फोट पर्खिरहेछ ।) बोकेर मन नपरीनपरी तिमी पोखरामा छौ । बाध्यता । अब तिमी एक्लै छैनौैँ । उत्तरदायित्व थपियो । आफू र उनका लागि, बाँच्नका लागि पनि पोखरा गयौ । तिमी आफूलाई मारेर त्यहाँ इतिहास पढाउँदै छौ । यहाँ बितेकाहरू मात्रै इतिहास जस्ता हुँदैनन् (सायद जिउँदैमा सिंगो इतिहासमा फेरिन्छन्) र तिमीले भोगेको वर्तमान काँचो ठट्टा र परिहास । तिमी साह्रै सोझा भयौ । तिमी पड्किन सकेनौ । तिमी साह्रै स्वाँठ भयौ । तिमीले विद्रोह गरेनौ । बरु रेडियो नेपालका प्रत्येक कार्यलाई तिम्रो स्वीकृति हो तिम्रो पोखरा जवाई । रेडियो नेपाल वा सम्बन्धित विभागले त तिमीहरूको हत्या पहिलेदेखि नै गर्दै आको हो तर मलाई लाग्छ फेवातालमा देखिने माछापुच्छ्रे को प्रतिविम्बमा आत्महत्या गरिरहेछ— नेपालको स्वर सम्राट । प्रतिविम्बमा देखिने घोप्टिएको माछापुच्छ«ेको शिखर छुने प्रयास गर्छ– स्वर सम्राट् । रेडियो नेपालका र विभागका केही टाउकेहरूले तिमीहरू (मीतहरू) लाई सधैँ हुत्याउने गरे, अब त तिमी स्वयंमा यति विरक्ति आइसकेको छ— तिमी आफैँलाई निर्वासित गरिरहेछौ, आफैँबाट र विसर्जन गरिरहेछौ गण्डकीमा जहाँ तिम्रो सुस्केरा मात्र छ ।’

दार्जिलिङमा पढ्दा नगेन्द्र र गोपाल योञ्जन साथी भएका थिए । साथीको नाता र प्रतिभाको कदर गर्ने स्वभावका कारण उनले नारायणगोपाल र गोपाल योञ्जनलाई रेडियो नेपालमा जागिर लगाउन दुई वर्षभन्दा बढी सिंहदरबार धाए । तर, नारायणगोपाललाई प्रथम श्रेणीको कलाकार मान्न सरकारी मान्छेहरू अनकनाइरहे । नगेन्द्रले निकै धाएपछि नारायणलाई अस्थायी रूपमा मासिक तीन सय रूपैयाँ दिएर राख्ने अभिप्राय सरकारी मान्छेहरूले देखाए । साथी नारायणलाई अस्थायी तीन सय रूपैयाँमा बेच्न नगेन्द्र तयार भएनन् । तैपनि उनले एउटा सर्त राखे— गोपाल योञ्जनलाई पनि रेडियो नेपालमा लिने हो भने मलाई मञ्जुर छ । उनलाई थाहा थियो, गोपाल योञ्जनलाई कुनै अवस्थामा पनि यिनीहरूले रेडियोमा लिने छैनन् । ‘रेडियोभित्र ठूलो चक्रव्यूह रचिएको छ, तिमी दुई मीत रेडियो जाँदा धेरैको अस्तित्व खलबलिन्छ,’ नगेन्द्र लेख्छन्, ‘नभन्दै बजेट नभएकाले गोपाललाई कुनै अवस्थामा लिन नसक्ने कुरा व्यक्त गरे । गोपाल योञ्जनजस्तो संगीतकार र गीतकारका लागि वर्षभरिमा ३६ सय रूपैयाँको बजेट हुँदैन– जब कि उसबाट ३६ लाखको उसको प्रतिभा दुहुन र एक्प्लोइट गर्न सकिन्थ्यो । मनपरि खर्चका लागि बजेट हुन्छ तर तिमी दुईको लागि बजेट नै हुँदैन ।’ 

नारायणले फोनमा गीत सुनाउने साथी 

नारायणगोपाललाई गीत र संगीत छान्नमा धेरैजसो पेमलाले सघाउँथिन् । तर अन्तिम निर्णय नारायण एक्लै गर्थे । कहिलेकाहीँ पेमलालाई निकै मनपरेको गीत नारायणलाई मन पर्दैनथ्यो । दिव्य खालिङको शब्द र दिनेश अधिकारीको लेखनको एउटा गीतमा यस्तै भयो । ‘भेटी नभेट्न सक्ने आकाशको तलाउ, तिमी सामु बत्ती बाल यात्रा मलाई देऊ’ बोलको गीतको शब्द र लय दुवै पेमलालाई खुबै मन परेको थियो । तर नारायणलाई मन परेन र गाएनन् । 

नारायणगोपालले टेलिफोनबाट कसैलाई गीत गाएर सुनाउँथे भने कवि भूपि शेरचनलाई सुनाउँथे । उनीहरूबीच घन्टौँ टेलिफोनमा कुराकानी हुन्थ्यो । भूपिको शब्द, गोपाल योञ्जनको संगीत र नारायणगोपालको स्वरको ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’ बोलको गीत लोकप्रिय छ । 

नारायण र भूपिबीच टेलिफोनमा वार्ता हुँदा पेमला रिसिभर समाएर बसिरहिन्थिन् । नारायणगोपाल भने हार्मोनियम बजाएर भूपिलाई गीत सुनाइरहन्थे । कहिले भूपिको फर्मायसीमा र कहिले नारायणकै चाहनामा फोनबाट गीत सुनाउने क्रम जारी रहन्थ्यो । 

एक दिन नारायणगोपालले पेमलालाई रिसिभर समाउन लगाएर ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलको गीत सुनाउँदै थिए । भूमिलाई यसको लय पटक्कै मन परेन । उनले बदल्न भने । पछि शान्ति ठटाल आउँदा पनि यस गीतको लय मन पराइनन् । नारायणगोपालले कसैलाई सुनेनन्, आफूलाई मन परेकै रेकर्ड गरे, आज त्यही लय सबैको प्रिय भएको छ । 

***

‘बन्द गरौँ होला अब,’ पुस्तकालयका कर्मचारीको आवाज आयो । हिजो (आइतबार) म मदन पुस्तकालयमा थिएँ । नारायणगोपालमाथि लेखिएका ‘बागीना नारायणगोपाल स्मृति अंक’, ‘स्वरसम्राट नारायणगोपाल स्मृति ग्रन्थ’ लगायत चार पुस्तक पढ्दै थिएँ । ३ बजे पुस्तकालय पुगेर दुई घन्टामा मलाई हतारको आलेख लेख्नु थियो । पुस्तकालयका कर्मचारी ठान्दा हुन्, ३ बजे आएर किन यति धेरै किताब माग्छ ?

नारायणगोपालसम्बन्धी पुस्तक पल्टाउँदापल्टाउँदै ५ बजेछ । पुस्तकालयबाट बाहिर सडकमा निस्कँदा उत्तरतिर हिमाल रातो भएको थियो । पूर्वपट्टि देखिएको मंसिर शुक्ल एकादशीको चन्द्रमा चम्कन खोज्दै थियो ।

आज १९ मंसिर । ३२ वर्षअघि आजैको दिन स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको निधन भएको थियो । हरेक संगीतप्रेमीले आजको दिन मात्र होइन, हरेक दिन कुनै न कुनै माध्यम वा बहानामा नारायणगोपाललाई सम्झन पुगेकै हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर एडिटर हुन् ।

लेखकबाट थप