शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एमालेले ‘लिडिङ’ हैसियत गुमायो, लोकप्रियता कायमै

​कमाण्डरहरूलाई रुचाएनन् मतदाताले
सोमबार, १९ मङ्सिर २०७९, १३ : ३८
सोमबार, १९ मङ्सिर २०७९

हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा २०७४ को आम निर्वाचनमा पाएको आफ्नो लिडिङ्ग हैसियत गुमाएको छ । तर पार्टीले लोकप्रियतालाई भने कायम राख्न सफल भएको छ ।

१६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ को निर्वाचनमा नेकपा एमालेले मात्रै ११ सिट जितेको थियो । यस्तै, नेकपा माओवादी ३, कांग्रेस र जसपाले १/१ सिट जितेका थिए । प्रदेशसभामा पनि नेकपा एमालेकै सांसदहरुकै वर्चश्व थियो ।

तर २०७९ सम्म आइपुग्दा आफ्नो त्यो हैसियत एमालेले गुमाएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार सुदूरपश्चिममा एमाले प्रतिनिधिसभातर्फ २ सिटमा खुम्चिएको छ भने प्रदेशतर्फको प्रत्यक्षतर्फ ३ सिटमा सीमित छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारीले नेकपा एमालेको साख जोगाएका हुन् ।

तामाङले नेकपा माओवादी केन्द्रकी उम्मेदवार वीना मगरलाई ५ हजार ५४३ मतले हराउँदै निर्वाचित भए । उनले २४ हजार ९४३ ल्याएका थिए भने मगर १९ हजार ४ सयमा सीमित भइन् ।

त्यस्तै, बैतडीमा नेकपा एमालेका भण्डारीले ३३ हजार ६११ मत ल्याउँदै निर्वाचित भए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत पाए ।

प्रदेशतर्फ डोटी (क) मा एमालेका चक्रबहादुर मल्ल १५ हजार २७९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरेन्द्र बहादुर सिंह १४ हजार ८२९ मा सीमित भए ।

कञ्चनपुर १ (क) नेकपा एमाले वीरबहादुर थापा १२ हजार ३८५ मत ल्याउँदै चुनाव जिते । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बन्धु राना ११ हजार २७ मतका साथ दोस्रो स्थानमा रहे ।

त्यस्तै, बैतडी (क) मा नेकपा एमालेका सुरेन्द्र बहादुर पाल १२ हजार ८३१ मत ल्याइ विजयी भए । स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारी ११ हजार १८ र नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बिष्ट १० हजार ९५३ मतमा सीमित भए ।

प्रत्यक्षतर्फ निकै पछाडि रहेको एमालेले समानुपातिकतर्फ भने सुदूरपश्चिम प्रदेशमै लोकप्रिय मत पाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिममा सबैभन्दा धेरै २ लाख ५३ हजार ३४ मत नेपाली कांग्रेसले ल्याउँदा २ लाख ४१ हजार ७९८ मतका साथ नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र १ लाख १२ हजार २५६ मतका साथ तेस्रो स्थानमा छ । ९९ हजार ३८१ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ ।

प्रदेशसभाको समानुपातिकतर्फ भने सुदूरपश्चिममा एमाले पहिलो पार्टी बनेको छ । २ लाख ४८ हजार ८४० मतका साथ एमाले पहिलो पार्टी बनेको हो । २ लाख ४३ हजार ३९ मत पाएको कांग्रेस दोस्रो, माओवादी केन्द्र १ लाख १८ हजार ९०३ मतका साथ तेस्रो र ९८ हजार ५५४ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ ।

कमाण्डरहरुलाई पत्याएनन् मतदाताले

सुदूरपश्चिममा एमालेका शीर्ष कमाण्डरहरु भने पराजित भएका छन् । एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भटट्ले नै पराजय भोग्नु परेको हो ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लडेका उनलाई कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले ३ हजार ३१२ मतान्तरले पराजित गरे । बलायरले २६ हजार २७५ मत प्राप्त गर्दा भट्टले २२ हजार ६६३ मत पाए । भट्ट २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी वाणिज्य तथा आपूर्ति मन्त्री थिए । नेकपा विभाजनपछि उनी माओवादीमा नगइ एमालेमा प्रवेश गरेका थिए ।

उता बाजुरामा एमालेका प्रदेश अध्यक्ष कर्ण थापा पनि पराजित भएका छन् । उनलाई कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ५ हजार ४३७ मतले पराजित गरे । पाण्डेले ३१ हजार ७८६ मत ल्याए भने थापाले २६ हजार ३४९ मत पाएका छन् ।

एमाले कैलाली जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नारदमुनि राना पनि पराजित भएका छन् ।

पूर्व मन्त्री समेत रहेका रानालाई १ हजार ७३ मतले हराउँदै नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भए । पन्तले २१ हजार ३९१ मत ल्याए भने राना २० हजार ३१८ मतमा सीमित भए ।

गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्‍यो :एमाले सचिव भट्ट

सुदूरपश्चिममा पाएको अनपेक्षित हारले एमालेलाई स्तब्ध तुल्याएको छ । यहाँको १६ सिटमा कम्तीमा १० सिट जित्ने एमालेको आकलन थियो । तर एमालेको सो आकलनलाई सत्तारुढ गठबन्धनले ध्वस्त बनाइदियो ।

एमाले सुदूरपश्चिममा नराम्ररी पराजित हुनुमा पार्टी विभाजन र आन्तरिक कलहको रुपमा असन्तुष्ट भीम रावल फ्याक्टरलाई लिन सकिन्छ ।

चुनावको पूर्वसन्ध्यामा रातोपाटीसँगको अन्तरवार्तामा एमाले सचिव भटट्ले भनेका थिए, ‘एमालेको अवस्था धेरैै राम्रो छ । कमजोर छैैन । हामी १६ सिटमध्ये कम्तीमा १० सिट जित्दैछौँ । जित्ने आधार जनता हुन् । एमाले फुटे पनि माओवादीको ठूलो हिस्सा यता आएको छ । सुदूरपश्चिममा म लगायत थुप्रै माओवादीहरु जोडिएका छन् । हामीले त्यो पाटोलाई हेरिरहेका छैनौं । बाहिर गरिएको आकलनजस्तो एमाले कमजोर छैन ।’

निर्वाचनपछि रातोपाटीसँग प्रतिक्रिया दिदै उनले भने, ‘सुदूरपश्चिममा गठबन्धनले पूरा शक्ति एमाले विरुद्ध लगायो । सत्ता र राज्य शक्तिको दुरुपयोग पनि भएको छ । बाजुरा र कैलालीमा त्यो देखा परेको छ । कैलाली–४ मा सरकारी गाडी पनि हाम्रै साथीहरुले प्रहरीलाई बुझाएका छन् । तर मत परिणामलाई हामीले स्वीकार गर्नैपर्छ । गठबन्धनमा लोकतान्त्रिक अभ्यास देखिएन ।’

निर्वाचनमा आफूहरुलाई कम मत आउनुको कारण आन्तरिक कलहका साथै जातीय र क्षेत्रीय सेन्टिमेन्टले पनि प्रभाव पारेको सचिव भट्टको भनाइ छ ।

उनले अगाडि थपे, ‘नेतृत्वलाई कम मत आउनुको कारण आन्तरिक कारण थियो । निर्वाचन परिचालन समितिबारे हामी वडादेखि केन्द्र स्तरसम्म समीक्षा गर्दैछौं । यहाँ जातीय, क्षेत्रीय कुराले प्रभाव पारेको देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप