मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

अबको भविष्य इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको

सोमबार, १९ मंसिर २०७९, १४ : २०
सोमबार, १९ मंसिर २०७९

हामी दिनहुँ मोबाइलमा कुरा गर्छौं । कम्प्युटर, ल्यापटप, स्मार्ट टीभी र ग्याजेटहरूचलाउँछौं । कोशौँ टाढासम्म भिडिओ च्याट गर्छौं । इन्टरनेटमार्फत् विश्वका गतिविधि, समाचार, सूचना आदि हेर्छौं ।   अनलाइनमै खेल खेल्छौं । फेसबुक या ट्विटर अकाउन्ट दैनिक प्रयोग गर्छौं ।

भाइबर, इमो, ह्वाटस एप, युट्युब आदि सबै सबैको प्यारो बनेको छ । हाम्रो दैनिक जीवन दिनानुदिन प्रविधिमय बन्दै गइरहेको र सूचना तथा सञ्चारको यति विधि विकास भएकोले अहिलेको समयलाई सूचना तथा सञ्चार प्रविधिको युग पनि भनिन्छ ।

सूचना तथा सञ्चार प्रविधिको औपचारिक अध्ययन अध्यापन  गराउने इन्जिनियरिङअन्तर्गत हार्डवेयरसम्बन्धि अध्ययनलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सफ्टवेयरसम्बन्धि अध्ययनलाई कम्प्युटर इन्जिनियरिङ भनिए पनि अहिले कोर्षहरु परिमार्जन हुँदैछन् ।

अहिले नेपालमा कतिपय विश्वविद्यालयमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा इन्फर्मेसन इन्जिनियरिङ पनि थपेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ वनाइएको छ । र, यसको कोर्ष कम्प्युटर इन्जिनियरिङसँग लगभग ८५ प्रतिशत मिल्छ ।

प्रयोग या महत्ताका हिसावले इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको प्रयोग मनोरन्जनदेखि औषधि उपचार, कला र वाणिज्य, कार्यालय स्वचालितिकरण, व्यापार भिजुलाइजेसन, वैज्ञानिक अनुसन्धान, कम्युटर एडेड डिजाइन एण्ड ड्राफ्टिङ, भर्चुअल रियालिटीलगायत झनझन नयाँ क्षेत्रमा व्यापक रुपमा भइरहेको छ । र, त सूचना प्रविधिलाई मानवनिर्मित दोस्रो प्रकृति पनि भन्ने गरिएको छ । 

जीवनका हरेक क्षेत्रमा प्रयोग भइरहेको इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको पढाइ र प्रयोगवारे अझ प्रस्ट पार्न यसको विविध पक्षबारे स्पष्ट हुन जरुरी छ । 

अनलाइन किनमेल र इन्टरनेटमार्फत्् भुक्तानी

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको प्रयोग महसुस गर्न सकिने गरी हामी अनलाइन किनमेल र इन्टरनेटमार्फत्् भुक्तानीमा देख्छौँ । पहिला पहिला बिजुली, पानी, टेलिफोन, आदिको बिल तिर्न घण्टौ लाइन बस्नु पथ्र्यो । अहिले यी सबै काम इन्टरनेट र मोबाइलमार्फत्् क्लिकको भरमा क्षणभरमा हुन्छ ।

इन्टरनेटमार्फत् अनलाइन शुल्क भुक्तानी, सामानहरूको अनलाइन किनमेल, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम, डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग, ई–कमर्स, ई–विजनेस आदि सामान्य भइसकेको छ ।

अनलाइन जानकारी र कम्पुटराइज्ड सेवा सुविधा

पहिला पहिला एसएलसीको नतिजा हेर्न पनि निकै दिन कुर्नु पथ्र्यो । नापी कार्यालयबाट नक्सा निकाल्न घाम लाग्नै पर्थ्यो । ठेक्कापट्टामा व्यापक गुण्डागर्दी हुन्थ्यो ।

सरकारी काममा मनपरी, बल मिच्याइ र पट्यारलाग्दो ढिलासुस्तीले अफिस जानु जेल जानु जस्तो कष्टमय थियो । सूचना तथा सञ्चार प्रविधिको प्रयोगले यी समस्या केही हदसम्म हल भएको छ।

अहिले अनलाइन जानकारी र कम्पुटराइज्ड सेवा सुविधाको  जमाना  आएको छ । निजी, सरकारी, गैरसरकारी वा सामाजिक संघसंस्था, कार्यालय, विद्यालय, उद्योग, कलकारखानाहरूले अहिले इन्टरनेटमार्फत् अनलाइन जानकारी र सेवा सुविधाहरू उपलब्ध गराइरहेका छन् भने कतिपय काम कम्प्युटरबाट हुनाले धेरै सजिलो र भरपर्दो भएको छ।

मनोरन्जनदेखि औषधोपचारसम्म

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको प्रयोग मनोरन्जनदेखि औषधि उपचारसम्म भएको पाइन्छ । भिडियो गेम, एनिमेटेड चलचित्रदेखि औषधि, उपचार र जटिल चिरफार सम्ममा इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको व्यापक प्रयोग भइरहेको छ 

संसार ‘अटाउने’ मोबाइल

प्रविधिको विकासले सानो चिप्समा पनि धेरै चीज अटाउने भएको छ । एउटै मोबाइलमै हजारौंको फोन नम्बर रेकर्ड गर्न सकिन्छ, लाखौं फोटो र भिडिओ राख्न सकिन्छ । त्यस्तै, अथाह तथ्याङ्क र सूचना सुरक्षित गर्न सकिन्छ, विश्वको गतिविधि र समाचार हेर्न सकिन्छ ।

मोबाइलबाटै आर्थिक कारोबार गर्न सकिन्छ, खेलकुद प्रतियोगिता या अन्य रुचिको विषयबारे प्रत्यक्ष या परोक्ष हेर्न सकिन्छ । यो सबैको देन इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको विकासलाई जान्छ ।

यान्त्रिकीकरणबाट स्वचालितकरणको युग

इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रिकल मेकानिकल इन्जिनियरिङको सहकार्यमा औद्योगिकीकरण र यान्त्रिकीकरण मात्र बढेन अपितु स्वचालितकरण समेत भएको छ । त्यसैले, अहिलेको जमानालाई स्वचालितकरणको जमाना पनि भनिन्छ ।

अहिले भाषा रूपान्तरण, होलोग्राम, स्वचालित र सचेत रोबोटसम्मको विकासले नवीनतम र दिमागी प्रविधि भनेर सूचना प्रविधिलाई मानिन्छ । अब भविष्यको विकास भनेकै इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको विकासजस्तै भएको छ ।

सूचना प्रविधिको ज्ञान नहुनु, आँखा नहुनु बराबर

मानवसिर्जित नविनतम ज्ञानको स्रोत सूचना प्रविधि भएको छ । इन्टरनेटमा प्रायः खोजेको सबैजसो कुरा भेटिन्छ । इन्टरनेटमार्फत् आफ्नो वा आफ्नो उत्पादनको विज्ञापनदेखि आफ्नो रुचि अनुसारको अन्वेषणसमेत  गर्न सकिन्छ । यसलाई उपयोग गर्न जानिएन भने धेरै पछि परिन्छ । त्यसैले, सूचना प्रविधिको ज्ञान नहुनु आँखा नहुनु जतिकै भइसकेको छ ।

सूचना चुहावट र निगरानीको युग

प्रविधिको उपयोग अहिले उत्पादन, रूपान्तरण र वितरण बढाउने काममा मात्र सीमित छैन । अहिले त प्रविधिको प्रयोग सूचना चोर्ने र निगरानीमा राख्ने सम्मको गम्भीर काममा भइरहेको पाइन्छ ।

अहिलेको चीन–अमेरिका व्यापार युद्ध वा हुवावे वा ५ जी प्रकरण पनि यसैको नयाँ कडी हो । कृत्रिम बुद्धिमताको प्रयोग गरी स्वचालितकरण, यन्त्र सिकाइ, यन्त्र दृष्टि, प्राकृतिक भाषा प्रणाली, प्याटर्न पहिचान, रोबोटिक्स आदिको विकासको कारण अब सूचना प्रविधिको क्षेत्र विराट बनेको छ ।

अब देशमै यस्ता अत्याधुनिक प्रविधि विकास नगर्ने हो भने देशका गोप्य सूचना चुहिने वा चोरी हुन सक्ने र संवेदनशील क्षेत्र समेत थाहै नपाइकन अरुको निगरानीमा जान सक्ने खतरा छ ।

सूचना चुहावट रोक्न डाटालाई बिग्रिन र नष्ट हुनबाट जोगाउनु, डाटाको गोप्यता, उपलब्धता र सत्यतालाई जोगाइ राख्ने र अनाधिकारिक प्रयोग हुनबाट सुरक्षित गर्नु, अहिलेको अहम् आवश्यकता भएको छ ।

भाइरस र ह्याकरबाट डिजिटल डाटा सुरक्षित बनाउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ । त्यसैले सूचना र सञ्चार प्रविधिको अध्ययन, अध्यापन र अन्वेषणमा जोड दिनु अनिवार्य छ ।

सूचना शक्तिको जमाना

अहिले जोसँग सूचना प्रविधि छ, ऊ नै सबैभन्दा शक्तिशाली बन्ने जमाना आएको छ । गोप्य सूचना चुहाइ दिएर महाशक्ति भनिएका देशहरूलाई पनि एक पत्रकार जुलियन असान्जले हल्लाई दिएको इतिहास छ । त्यसैले अहिलेको जमानालाई सूचना शक्तिको जमाना पनि भनिन्छ ।

अब सूचना प्रविधिमा नियन्त्रण हुनेले नै संसार नियन्त्रणमा लिनेछ । यसो हुनाले इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ शिक्षाको महत्व बढ्दै छ ।

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको कोर्ष करिब एकै

त्रिभुवन विश्वविद्यालयको अहिलेको इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको ८५ प्रतिशत भन्दा बढी कोर्ष मिल्छ । इलेक्ट्रोनिक्समा कम्युनिकेसनका विषयतिर र कम्प्युटरमा डाटावेस र प्रोग्रामिङतिर बढी जोड दिने भएकोले इलेक्ट्रोनिक्स इन्जिनियरिङ बढी हार्डवेयर केन्द्रित र कम्प्युटर इन्जिनियरिङ बढी सफ्टवेयर केन्द्रित मानिन्थ्यो ।

तर त्रिभुवन विश्वविद्यालयले विगत ४ वर्षदेखि इलेक्ट्रोनिक्स इन्जिनियरिङमा इन्फर्मेसन इन्जिनियरिङ पनि थपेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ बनाएको छ ।

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङमा कम्प्युटर इन्जिनियरिङका विषय पनि पढाइ हुने भएकोले कोर्ष मिलेको हो । र, व्यवहारमा पनि इलेक्ट्रोनिक्स इन्जिनियरले पनि सफ्टवेयरसम्बन्धि काम पनि गरिरहेको हामी देख्छौं ।

रोजगारीका अनेक क्षेत्र

कम्प्युटर इन्जिनियरले गर्ने नेटवर्किङ, प्रोग्रामिङ, वेबसाइट डिजाइन, डाटावेस, इमेज प्रोसेसिङका काम इलेक्ट्रोनिक्स इन्जिनियरले पनि गरिरहेको पाइन्छ ।

नेपालमा आइटी, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार कम्पन, हार्डवेयर, सफ्टवेयर, वेबसाइट बनाउने कम्पनीहरू, रेडियो टेलिभिजन, उड्डयन, स्याटेलाइट अफिसहरू, निजी, सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था, विद्यालय, उद्योग, कलकारखानाहरूका सूचना प्रविधिसम्बन्धि कामहरू इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरहरूका रोजगारीका क्षेत्र हुन् ।

सूचना प्रविधिको ज्ञान, सीप र अनुभव विश्वव्यापी छ । कति पेशामा एक ठाउँको अनुभव अर्को ठाउँमा काम लाग्दैन । तर सूचना प्रविधिको अनुभव विश्वभर काम लाग्छ । सूचना प्रविधिको कामलाई ग्लोबल क्यारियर भनिन्छ ।

राम्रो आम्दानी र अबको भविष्य

सूचना प्रविधि विश्वमा सबैभन्दा धेरै आम्दानी र वृत्तिविकास हुने पेशामा मात्र पर्दैन, भविष्यको रोजगारीको ठूलो क्षेत्र पनि यही हुने देखिन्छ ।

एक अध्ययनअनुसार अमेरिकामा अहिलेका काममध्ये ४७ प्रतिशतले भविष्यमा निरन्तरता पाउने सम्भावना छैन । प्रविधिसँग सामञ्जस्य भएन भने आजको ज्ञान तथा सीप केही वर्षपछि काम नलाग्न सक्ने खतरा बढेको र हाइब्रिड कामको जमाना आएकोले अबको भविष्य भनेकै सूचना प्रविधि बनेको छ ।

नेपालमै बसी विदेशी मुद्रा कमाइ

सूचना र सञ्चारका प्रविधिको काम विश्वको कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ । नेपालमै बसेर संसारभरको काम यहीबाटै गर्न सकिन्छ । नेपाल जस्तो श्रम सस्तो भएको देशले आउट सोर्सिङबाट नेपालमै बसी विदेशी मुद्रा कमाउन सकिन्छ ।

नेपाल सरकारले सूचना प्रविधिसम्बन्धि कतिपय काम विदेशी कम्पनीलाई पनि दिइरहेको हुन्छ । विदेशी कम्पनीहरूलाई काम दिँदा नेपाली इन्जिनियरहरूलाई अनिवार्य रूपमा काम गराउनु पर्ने प्रावधान राखेमा थप रोजगारी सिर्जना हुने देखिन्छ ।

पाठ्यक्रम, पढाइ, परीक्षा प्रणाली र पास भएका इन्जिनियरहरूको अब्बल प्रस्तुति आदि आधारमा नेपालको इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ शिक्षा गुणस्तरीय मान्न सकिन्छ । साथै, अझ समयअनुकूल कोर्ष परिमार्जन र थप विषय अध्यापनले प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्न सकिन्छ ।

उत्पादित सबै इन्जिनियरिङ जनशक्ति देशमै खपत गर्न सके केही दशकमै विकासमा कायापलट ल्याउन सकिन्छ । किनभने, नेपालले विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने सीमित क्षेत्र (विद्युत, पर्यटन, जडिवुटी आदि) मध्ये सूचना प्रविधि पनि एउटा हो । यसका लागि सरकारले सूचना प्रविधि वा इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङमा  व्यापक लगानी र अनुसन्धान वढाउनु पर्छ । 

लेखक काठमाडौं इन्जिनियरिङ कलेजका एसोसियट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

श्रीकृष्ण सुलु
श्रीकृष्ण सुलु
लेखकबाट थप