शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको नागरिकता विवाद : अमेरिकी दूतावासलाई प्रहरीको पत्र

नागरिकता त्याग र प्राप्तिको प्रक्रिया पूरा गरे/नगरेको छानबिन हुँदै
सोमबार, १९ मङ्सिर २०७९, १६ : ०८
सोमबार, १९ मङ्सिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय यतिबेला पेचिलो बनेको छ । लामिछानेले अर्को देशको नागरिक रहेकै अवस्थामा दोहोरो नागरिकता र पासपोर्ट लिएको तथा निष्क्रिय भइसकेको नागरिकताका आधारमा पार्टी दर्ता तथा उम्मेदवारी दिएको आरोप छ । 

गृह मन्त्रालयमा समेत सोही विषयमा उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेखेर नागरिकताको विषयमा छानबिन गर्न भनेको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले मङ्सिर ६ गतेको मिति राखेर मङ्सिर ९ गते गृह मन्त्रालयमा लामिछानेको नागरिकता विवादमा सम्बन्धमा  गृह मन्त्रालयमा उजुरी गरेका थिए । ‘आवश्यक छानबिन गरी कानुन अनुसारको हदैसम्मको कारबाही गरी पाउँ’ भनी दिएको उजुरीमा लामिछानेले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) तथा नागरिकता नियमावली २०६३ विपरीतको कार्य गरेको र दोहोरो नागरिकता लिएको तथा निष्क्रिय भइसकेको नागरिकता प्रयोगमा ल्याएको भन्दै उजुरी गरेका थिए । 

युवराज सफलले गृह मन्त्रालयमा गरेको उजुरीमा भनिएको छ,

‘... नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः कायम नरहने कुरा उल्लेख छ । साथै नेपाल नागरिकता नियमावली २०६३ ले भने विदेशी नागरिकता  लिएर नेपालको नागरिकता त्याग गर्ने बारे नेपालको निकायलाई जानकारी दिनुपर्ने  व्यवस्था गरेको छ । जसमा नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत, वा नेपाली नियोग प्रमुख वा महावाणिज्य दूत वा वाणिज्य दूत समक्ष नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति संलग्न गरी सूचना दिनुपर्ने र सूचना प्राप्त भएको ७ दिनभित्र नेपाली कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा लेखी पठाउनु पर्ने र नागरिकता खारेजी प्रक्रिया थाल्ने कुरा उल्लेख छ । अमेरिकी नागरिकता लिँदा पनि उनी कानुन अनुसार नेपाली नागरिकता खारेजी प्रक्रियामा नगई नेपाली नागरिकता आफूसँगै राखेका थिए । हाल आएर मौखिक रूपमा अमेरिकी नागरिकता त्याग गरेको भनेर सार्वजनिक रूपमा भने पनि त्याग गरेको आधिकारिक कागजात पेस गर्न सकेका छैनन् । साथै उनले अमेरिकी नागरिकता त्याग्न २ हजार ३ सय ५० अमेरिकी डलर तिरेको भनी रसिद सार्वजनिक गरेता पनि त्यहाँपछिको प्रक्रियाको बारेमा केही बताएका छैनन् । अतः उल्लेखित कसुर गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा प्रतिनिधि चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई तत्काल पक्राउ गरी कानुन बमोजिमको हदैसम्मको कारबाही गर्न माग गर्दै श्रीमान् सचिव ज्यु एवं गृह मन्त्रालय समक्ष गृह मन्त्रालयको आधिकारिक इमेल ठेगानामा यो ठाडो निवेदन तथा उजुरी पेस गरेको छु ।’

गृह मन्त्रालयको सचिवलाई सम्बोधन गरी दिइएको उजुरी मन्त्रालयले दर्ता गरी लामिछानेले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छानबिनका लागि पठाएको थियो । 

गृह मन्त्रालयबाट पत्र प्राप्त भए लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सम्बन्धमा विस्तृतमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेको थियो । जिप्रका काठमाडौँले मङ्सिर १२ गते पत्र लेखेर प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो ।

सीडियो कार्यालयबाट अनुसन्धानका लागि पत्र प्राप्त भएसँगै जिल्ला प्रहरी परिसरले लामिछानेको नागरिकता विवाद सम्बन्धमा छानबिन सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार यतिबेला जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पुनः पत्र लेख्दै नागरिकता त्याग र प्राप्तिसम्बन्धी कागजात मगाएको छ । साथै काठमाडौँस्थित अमेरिकी दूतावासलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेको मिति र त्याग गरेको भए सो खुल्ने मिति र निर्णयका बारेमा जानकारी दिन भनेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनालीसँग यस विषयमा कुराकानी गर्न खोज्दा उनले अनुसन्धानकै क्रममा रहेको कारण यस विषयमा थप केही बोल्न नमिल्ने बताए । मैनालीले भने, हामीलाई गृह प्रशासनबाट अनुसन्धानका लागि पत्र आएको सत्य हो । यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौँ । त्यस सम्बन्धमा अहिले थप केही बताउन मिल्दैन । 

प्रहरीका अनुसार प्रहरीले आफ्नो अनुसन्धान सकाएपछि त्यसको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाउने छ । त्यसपछि सो सम्बन्धमा के गर्ने भन्ने निर्णय जिल्ला प्रशासन कार्यालयले नै तय गर्नेछ । 

यसैबीच सोमबार मात्रै सफलले निर्वाचन आयोगमा अर्को उजुरी गरेका छन् । लामिछानेले अवैध वा निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर दल दर्ता गरी उम्मेदवारी दिएको भन्दै उनको साधारण सदस्यतासमेत खारेज गर्न माग गरिएको छ । 

नागरिकता विवादमा लामिछाने दोषी देखिएमा उनलाई जेल सजायसमेत हुन सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप