मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो ।
मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब रु चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए ।
निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो । आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ । चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।
आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए ।
सुरुआतमा रु दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । विसं २०७१ मा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए । त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ ।
विसं २०७२ मा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिराको पनि उस्तै सामना गर्नुपरेको थियो । पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो ।
पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ । आयोजनाको दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ । निर्माण सुरु गर्ने बेलामा १५ दशमलव एक मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो
-
नियुक्त भएको २८ दिनमा मधेस प्रदेशमा मुख्यमन्त्रीले दिए मन्त्रिपरिषद्लाई पूर्णता
-
नौ महिनामा संघीय निजामती सेवा ऐनमा थारु क्लस्टर छुट्याउन सर्वोच्चको परमादेश