शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको विज्ञप्ति–थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता

सोमबार, १९ मङ्सिर २०७९, १८ : २२
सोमबार, १९ मङ्सिर २०७९

सत्ता गठबन्धनले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको जनाएको छ।  
सोमबार बसेको गठबन्धनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख गरिएको छ । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको  आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने भन्दै विज्ञप्तिमा गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ । 

यसैगरी आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता गठबन्धनले गरेको छ ।  ‘निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौ’, गठबन्धनको विज्ञप्तिमा भनिएको छ । 


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।  मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले  यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप