बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रत्यक्षतर्फको मतगणना सकियो, नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन अग्रसर

सोमबार, १९ मङ्सिर २०७९, २० : ५५
सोमबार, १९ मङ्सिर २०७९

आज २०७९ मंसिर १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन अग्रसर, नेताहरु भेटघाट र छलफलमा, प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै सिटको मतगणना सम्पन्न, प्रदेशसभातर्फ प्रत्यक्षमा सर्वाधिक सिट जित्ने पार्टी बन्यो कांग्रेस, रवि लामिछानेको नागरिकता विवाद पेचिलो बन्दै, प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १२ स्वतन्त्र उम्मेदवार निर्वाचित, नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी वैशाखमा लगायत छन् ।

१. नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन अग्रसर
वर्तमान सत्ता गठबन्धनले नयाँ सरकार गठनमा पनि अग्रसरता देखाउने भएको छ । सोमबार बसेको गठबन्धन बैठकले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने निर्णय गरेको हो । यद्यपि चुनावी नतिजा भने अपेक्षाकृत नआएको निष्कर्ष गठबन्धनले निकालेको छ । 

​२. नेताहरू भेटघाट र छलफलमा
आम निर्वाचनको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । योसँगै विभिन्न दलका नेताहरु भेटघाट र छलफलमा जुटेका छन् । उनीहरु नयाँ सरकार गठन तथा सम्भावित संसदीय समीकरणका सन्दर्भमा छलफलमा जुटेका हुन् ।

​३. प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै सिटको मतगणना सम्पन्न
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फका सबै अर्थात् १६५ निर्वाचन क्षेत्रकै मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये ५७ सिटमा जित हासिल गर्दै कांग्रेस पहिलो बनेको छ ।

४. प्रदेशसभातर्फ प्रत्यक्षमा सर्वाधिक सिट जित्ने पार्टी बन्यो कांग्रेस
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको नेपाली कांग्रेसले प्रदेशसभातर्फ पनि प्रत्यक्षमा सर्वाधिक सिट जितेर पहिलो बनेको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये कांग्रेसले १११ सिट जितेको हो । दोस्रो स्थानमा रहेको एमालेले ९१ सिट जितेको छ ।

५. रवि लामिछानेको नागरिकता विवाद पेचिलो बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवाद पेचिलो बन्दै गएको छ । उनले अर्कै देशको नागरिक रहेकै अवस्थामा नेपालमा राजनीतिक दल खोलेको र निर्वाचनमा उम्मेदवारसमेत भएको भन्दै उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत छानबिन अघि बढाउन निर्देशन दिएको छ ।

६. प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १२ स्वतन्त्र उम्मेदवार निर्वाचित
आमनिर्वाचन २०७९ मा देशभरबाट १७ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।  

७. विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुग्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग
घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको तीनवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंसिर १९ गते सर्वोच्चमा पुनरावेदन गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

८. नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी वैशाखमा
नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । 

९. सुदूरपश्चिम प्रदेशमा एमालेले गुमायो ‘लिडिङ्ग’ पावर
हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा २०७४ को आम निर्वाचनमा पाएको आफ्नो लिडिङ्ग हैसियत गुमाएको छ । तर पार्टीले लोकप्रियतालाई भने कायम राख्न सफल भएको छ ।

१०. र यो पनि,
प्रहरी प्रधान कार्यालयले हालै सम्पन्न चुनावमा सबैभन्दा धेरै चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट झेल्नुपरेको निष्कर्ष निकालेको छ ।

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाएका छन् । 

नेपाल आयल निगमसँग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नहुँदा अम्लेखगञ्ज–बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि अलपत्र अवस्थामा छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप