बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महाकालीमा संयन्त्र बनाएर मात्रै तटबन्ध निर्माण गर्ने नेपाल र भारतीय प्रशासनबीच सहमति

सोमबार, १९ मङ्सिर २०७९, २१ : १०
सोमबार, १९ मङ्सिर २०७९

दार्चुलाको खलंगा र आसपासमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचनाको निर्माण तत्कालका लागि रोकिएको छ । सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका छन् । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित ‘संयन्त्र’ बनाएर मात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ ।

पिथौरागढका एडिएम सहितका अधिकारी र नेपाली अधिकारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका हुन् । प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर निर्माण अघि बढाउने सहमति भएको दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले रातोपाटीलाई बताए ।

आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले विरोध गरेका थिए । विरोधका क्रममा ढुंगा हानाहान हुँदा खलंगा बांगाबगर स्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका ४ बालक घाइते भए । स्थानीयले झोलुंगे पुलेको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । स्थानीय प्रशासनले पुलको गेट खुलाएको छ ।

विवाद भएको ठाउँमा संयन्त्र बनाउने दुई देशको बीचमा सहमति भएपनि विवाद नभएको ठाउँमा भारतीय पक्षले तटबन्ध निर्माण गरिरहेको छ । ‘महाकालीको बहाव परिवर्तन गर्नुपर्ने ठाउँमा निर्माणकार्य रोक्ने सहमति भएको छ’ डीएसपी तर्कराज पाण्डेयले रातोपाटीसँग भने ।

नदीको स्वभाविक बहावले बनाएको बगरमा भारतले तटबन्ध उठाउँदा खलंगा बजार र आसपासका क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । तटबन्ध बनाउन भारतकै अरुण कन्स्ट्रक्सन कम्पनीले ८० करोड भारुमा ठेक्का पाएको छ । सोही कम्पनीले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को पहरामा निर्माण अघि बढाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप