शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोसपा र जसपाको साथ पाएर मधेसमा एमाले बलियो

मङ्गलबार, २० मङ्सिर २०७९, ०७ : ५०
मङ्गलबार, २० मङ्सिर २०७९

आम निर्वाचन २०७९ अघि मधेसमा नेकपा एमालेलाई कमजोर मानिन्थ्यो तर हालै सम्पन्न निर्वाचनको नतिजाले त्यसलाई गलत साबित गरेको छ । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ मधेस प्रदेशका ३२ सिटमध्ये नेकपा एमालेले ९ सिटमा जित हासिल गरेको छ । यस्तै, समानुपातिकतर्फ ३ लाख ७१ हजार ७०९ मत प्राप्त गरेको छ ।

जबकि, प्रतिनिधिसभातर्फ प्रत्यक्षमा देशभर सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले मधेस प्रदेशमा ७ सिटमात्र जितेको छ । समानुपातिकतर्फ भने कांग्रेसले ४ लाख ३४ हजार ९७१ मत प्राप्त गरेको छ ।

यस्तै, जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ सिट जितेको छ । समानुपातिकतर्फ जसपाले मधेस प्रदेशबाट २ लाख ९८ हजार ७४४ मत पाएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा लोसपाले तीन सिट, नेकपा एकीकृत समाजवादीले दुई सिट, माओवादी केन्द्रले एक सिट, जनमत पार्टीले एक सिट, स्वतन्त्रले ३ सिट जितेका छन् ।

एक समय मधेसमा सबैभन्दा अप्रिय दलको रुपमा रहेको एमाले यतिबेला प्रिय दल बनेको छ । मधेसमा एमालेले यति सफलता पाउनुमा मधेसवादी दलहरुकै भूमिका मुख्य रहेको जानकारहरु बताउँछन् । जबकि कुनै बेला मधेसवादी दलहरुले नै ‘एमाले मुक्त मधेस’ घोषणा गरेका थिए ।

एमालेले २०७४ को चुनावमा मधेस प्रदेशमा वाम गठबन्धनका बाबजुद प्रतिनिधिसभातर्फ प्रत्यक्षमा दुई सिटमात्र जितेको थियो । तर यसपटक पार्टी विभाजनका बाबजुद पनि ९ सिट जितेको छ । २०६४, २०७० र २०७४ सम्मको चुनावमा मधेस आन्दोलनको रापतापबाट जितेका मधेसवादी दलहरु २०७९ को चुनावमा खस्किएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा लोसपाको साथ पाएर मधेसमा ठूलो शक्ति बनेको एमाले आम चुनावमा जसपाको साथ पाएर ठूलो शक्ति बन्यो । एमालेले यी दुई दललाई साथमा लिए पनि उनीहरुलाई साथ नदिएको चुनावी नतिजाले देखाएको छ ।

राजनीतिक विश्लेषक एवं प्राध्यापक विजय मिश्रले एमालेले मधेसवादी दलको बुइ चढेर मधेसमा बलियो भएको बताए । ‘मधेसमा लोसपा र जसपाले एमालेलाई पालैपालो साथ नदिएको भए एमाले यो पोजिसनमा आउने थिएन,’ उनले भने, ‘स्थानीय तहको चुनावमा लोसपाले एमालेलाई बोकेको थियो, त्यसको आडमा मधेसमा एमालेले धेरै राम्रो नतिजा ल्यायो, तर लोसपा कमजोर भयो । यस पटकको चुनावमा पनि जसपाले एमालेलाई बोक्यो, त्यसको आडमा एमालेले राम्रो ग-यो तर जसपा कमजोर भयो ।’

मधेसमा गठबन्धन हुँदा जसपाले एमालेलाई मत दिए पनि एमालेले जसपालाई मत नदिएको जसपाका मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव बताउँछन् । उनले भने, ‘मधेसमा हामीले एमालेलाई मत दिए पनि एमालेलाई हामीलाई मत दिएको होइन, हामीले जहाँजहाँ जितेका छौं, आफ्नै शक्तिले जितेका छौं ।’

प्राध्यापक मिश्रका अनुसार एमालेसँग गठबन्धन गरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ठुलो गल्ती गरे । उनले भने, ‘जसपा पाँच दलीय गठबन्धनमा रहेको भए जसपा र माओवादी दुवैको सिट बढ्थ्यो र एमालेको घट्थ्यो तर उपेन्द्र यादवजी गल्ती गर्नुभयो ।’

वरिष्ठ पत्रकार एवं मधेस मामिलाका जानकार चन्द्रकिशोर पनि यस्तै धारणा राख्छन् । पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादवले साथ दिएको कारण मधेसमा एमाले ठूलो शक्ति बनेको उनले बताए ।

मधेसको ठूलो शक्तिले नै साथ दिइसकेपछि त्यसको फाइदा एमालेलाई हुनु स्वाभाविक रहेको तर त्यसको आकलन जसपाले गर्न नसकेको उनको भनाइ छ । २०७४ को चुनावसम्म मधेसमा निकै कमजोर रहेको एमाले जसपा र लोसपाको साथ पाएर बलियो भएको उनले बताए ।

मधेस आन्दोलनको रापताप र तत्कालीन फोरम र राजपा बीचको चुनावी तालमेलका कारण २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी पार्टीले १० र राजपाले आठ सिट जितेका थिए । ती दलहरुले समानुपातिकमा पनि राम्रो सिट हात पारेका थिए ।

अलमलमा जसपा–लोसपा

तर यो चुनावमा मधेसवादी दलहरु अलमलमा परेको देखियो । चुनाव आइसक्दा पनि जसपा र लोसपा गठबन्धनको सवालमा अलमलमा थिए । कुन गठबन्धनमा जाने, कोसँग गठबन्धन गर्ने भन्नेमा अलमल थियो । अन्तिम समयमा जसपाले एमालेसँग र लोसपाले कांग्रेस नेतृत्वको गठबन्धनमा आफूलाई सामेल ग-यो । जसले गर्दा ती दलका मतदाताहरु अलमलमा परेको विश्लेषकको भनाइ छ ।

विगतमा मधेसवादी दलहरुसँग चुनावी एजेण्डा स्पष्ट हुन्थ्यो, तर यसपटकको चुनावमा यी दलहरुले आफ्नो चुनावी एजेण्डा र मुद्दा पनि छुुट्याउन सकेनन् । त्यसले गर्दा मधेसका जनताले सीके राउत नेतृत्वको जनमत पार्टीलाई विकल्पका रुपमा स्थापित गरे ।

मधेसवादी दलहरुले २०७४ को निर्वाचनमा एमालेलाई मधेस विरोधी पार्टीका रूपमा प्रचार गरेका थिए । मधेस आन्दोलनमा राज्यद्वारा दमन गरिएको भिडियोहरु जनतालाई देखाइएको थियो । तर यसपटको चुनावमा उनीहरुको हात खाली थियो ।

‘मधेसवादी दल कमजोर हुनुको फाइदा एमालेलाई भएको छ,’ राजनीतिक विश्लेषक जय निशान्तले भने, ‘मधेसी दल मधेसमा कमजोर हुँदा त्यसको सिधै फाइदा सिर्फ एमालेलाई भएको देखिन्छ ।’

मधेसी दलको संगठनको धरातल कमजोर, नेतृत्वमा विवाद, मुद्दा अस्पष्टता, भ्रष्टाचारमा लिप्त, आपसमा सहकार्यको कमी, संविधान संशोधन लगायत मधेसका विभिन्न माग पूरा गराउन नसक्नुको कारणले मधेसी जनताको विकर्षण हुनुको साथै मधेसी दलप्रति वितृष्णा बढेको उनको भनाइ छ । त्यही वितृष्णा एमालेमा गएर पोखिएको उनले बताए ।

मधेसी जनताको चाहना जसपा–लोसपा मिलेर चुनावमा आउन रहेको थियो । तर यी दुवै दलले त्यो चाहना विपरीत गएपछि जनताले आफ्नो पावर देखाइदिएको जय निशान्तको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप