बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटकलाई गुणस्तरीय सेवा दिने रसुवाका पर्यटन व्यवसायीले प्रतिबद्धता

मङ्गलबार, २० मङ्सिर २०७९, ०८ : २३
मङ्गलबार, २० मङ्सिर २०७९

हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन यहाँका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घको तेस्रो जिल्ला अधिवेशनका क्रममा उनीहरुले पर्यटकीय होटललाई व्यवस्थित एवं मर्यादितरूपले सञ्चालनमा ल्याई आगन्तुक पाहुनालाई गुणस्तरीय सेवामा एकरूपता ल्याउने दृढ सङ्कल्प गरेका हुन् ।

जाडोको याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको सङ्ख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खाना खाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने कार्यसमेत अगाडि बढाउने जनाइएको छ । कोठामा तातोपानीको व्यवस्थापन गर्ने तथा रैथाने जातका सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको सङ्घले जनाएको छ ।
 
 अधिवेशनले रामशरण गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन भए ।

सदस्यमा छविलाल पौडेल, सन्तोष तामाङ र सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ रहेका छन् । सबै होटल तथा लज आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ स्थायी लेखा नम्वर लिने, सरकारी दस्तुर समयमै बुझाउने, समयसाक्षेप होटल तथा लजको सुदृढीकरण गराउने, व्यवसायीको हितमा आवाज उठाउने र पाहुनालाई गुणस्तरीय सेवाप्रवाहको विषयमा अनुगमन गर्ने जनाइएको छ ।

अध्यक्ष गजुरेलले नयाँ कार्यसमितिले धुञ्चे, ठूलोस्याफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड हुँदै हेलम्बु रूट, स्याफ्रुबेँसीबाट लाङ्टाङ क्याञ्जेन क्षेत्र र तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नाकथली, थुमन तथा बृद्विम होमस्टेसमेतका क्षेत्रका होटललाई  व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा पुर्याउन केन्द्रित रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप