मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

सुन पसलको अवैध कारोबार

८३ जनाको झण्डै ३ करोड ठगी
मंगलबार, २० मंसिर २०७९, ०८ : ५६
मंगलबार, २० मंसिर २०७९

सुन्दरहरैंचा १० खोर्सानेका ७८ वर्षीय टंकबहादुर कोइरालाले सरकारले दिने आफ्नो र श्रीमतीको सामाजिक सुरक्षा भत्ताका साथै बाख्रा, खसी बेचेर जम्मा गरेको ३ लाख रुपैयाँ छिमेकी राजु विश्वकर्मालाई ऋण लगानी गरे ।

खोर्साने बजारमै कमला ज्वेलर्सको नामबाट पसल सञ्चालन गर्ने विश्वकर्माले कोइराला दम्पतीलाई १८ प्रतिशत ब्याज दिने बताएका थिए । तर, उनको ब्याज होइन, साँवा रकम पनि ठगीमा परेको छ । आफ्नै छोराछोरीलाई पैसा राख्न दिँदा भनेको बेलामा नदेलान्, ढिलो देलान् भन्ने ठानेर उनले छिटो र सजिलै फिर्ता पाउने आशमा सुन पसलेलाई पैसा दिएका थिए ।

सुन्दरहरैंचा–१० की मनमाया राईले ६ महिनामा साँवा ब्याज नै फिर्ता पाउने शर्तमा उनै विश्वकर्मालाई १२ लाख रुपैयाँ दिएकी थिइन् । उनले पनि फिर्ता पाउनुको साटो आफू ठगिएको थाहा पाइन् ।

सोही ठाउँकी राधादेवी भण्डारीले पनि सुन पसलमा ५ लाख रुपैयाँ दिएकी थिइन् । आफू पोल्ट्री व्यापारी भएको बताउने सोही ठाउँका इन्द्रबहादुर पुरीले पनि लामो समयदेखि लेनदेन चलिरहेको विश्वासमा १० लाख रुपैयाँ उनै विश्वकर्मालाई दिएका थिए । तर, अहिले सबै ठगीमा परेका छन् ।

उनीहरुजस्तै सो ठाउँका ८३ जनाको झण्डै ३ करोड ठगीमा परेको पुरी दाबी गर्छन् ।

खोर्सानेमा रहेको ‘कमला ज्वेलर्स’ का सञ्चालक ४५ वर्षीय विश्वकर्माले ५५ जना सर्वसाधारणलाई १८ देखि २४ प्रतिशतसम्म ब्याज दिने प्रोलोभनमा पारी ठगी गरेको उजुरी प्रहरीमा परिसकेको छ । सोही उजुरीका आधारमा प्रहरीले विश्वकर्माको दम्पतीलाई नै पक्राउ गरी मुद्दा चलाएको छ ।

अनुसन्धान गर्दा ५५ जना सर्वसाधारणको १ करोड ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डीएसपी टीका बहादुर कार्कीले बताए । सर्वसाधारणको बचत गरेको रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेपछि अहिले उजुरी दिने पीडितको संख्या दिनदिनै बढिरहेको प्रहरीको भनाइ छ ।

‘अहिले उजुरी दिन आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘प्रारम्भिक चरणमा १५ जनाको उजुरी आउँदा ८२ लाख रुपैयाँ ठगी गरेको पाइएको थियो । अहिले पक्राउ गरेपछि उजुरी दिने सर्वसाधारणको संख्या बढ्दै गएको छ ।’

विकले सहकारीलेजस्तै पासबुक छापेर बैंक र सहकारीको भन्दा आकर्षक ब्याज दिने भन्दै सर्वसाधारणबाट रकम संकलन गरेका थिए । उनले संकलन गरेको रकम भने घर जग्गामा लगानी गर्ने गरेको पाइएको प्रहरी बताउँछ ।

यसअघि पनि उर्लाबारी नगरपालिका–६, डीबी मार्गमा रहेको गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनिने गोपाल गौतमले तीन सय जनाभन्दा बढी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएका थिए ।

यस्तै मोरङको बुढीगंगा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता धितोमा राखिएको सुनचाँदी र बचत गरेको करोडौं रुपैयाँ लिएर भागेका थिए ।

नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले निक्षेप उठाउने र ऋण लगानीको काम गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ । तर, ऐन कार्यान्वयनमा राष्ट्र बैंक र प्रहरी प्रशासनले सक्रियता नदेखाउँदा सुनचाँदी व्यवसायीले गैरकानुनी रूपमा निक्षेप संकलन गर्ने तथा सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिने काम निर्वाध रूपमा गर्दै आएका छन् ।

सुन पसलबाट कारोबार गरेका सर्वसाधारणहरूको लगानी नै जोखिममा समेत पर्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप