शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

‘शिक्षक सेवा पास गर्न हाम्रा मान्छेहरूको स्तर पुगेन’

अब पढाउने प्रक्रियामा बदलाव ल्याउनुको विकल्प छैन : प्राडा विद्यानाथ कोइराला
मंगलबार, २० मंसिर २०७९, १० : २९
मंगलबार, २० मंसिर २०७९

शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको विज्ञापनको नतिजा सार्वजनिक गरिरहेको छ । माध्यमिक तहको अन्तिम नतिजा प्रकाशन भएर छनौटमा परेका शिक्षकहरू नियुक्ति पत्र लिने प्रक्रियामा छन् । त्यस्तै अहिले निम्न माध्यमिक तह तर्फको नतिजा सार्वजनिक भइरहेको छ ।  

आयोगले सार्वजनिक गरिरहेको नतिजा भने निकै चिन्ताजनक छ । केही विषयमा त उत्तीर्ण उम्मेदवार सङ्ख्या शून्य छ । नतिजा सन्तोषजनक नआएपछि आयोगले परीक्षा प्रणालीबारे समीक्षा गर्न थालेको छ । 

आयोगले विद्यार्थीको पढाइमा सुधारका लागि विभिन्न विश्वविद्यालयलाई समेत पत्राचार गरिसकेको छ । त्यस्तै, आफ्नै पाठ्यक्रमसमेत सुधारका लागि गृहकार्य अगाडि बढाइसकेको छ । 

आयोगले नतिजालाई कसरी राम्रो बनाउन सकिन्छ भनेर आन्तरिक छलफल गर्नुका साथै विज्ञहरूसँग पनि परामर्श थालेको छ । यसै विषयमा रातोपाटीले शिक्षाविद् प्राडा विद्यानाथ कोइरालासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी गरेको सम्पादित अंशः  

शिक्षक सेवा आयोगबाट सार्वजनिक भइरहेको शिक्षकको नतिजालाई यहाँले कसरी हेर्नु भएको छ ? 

यसलाई मैले तीन वटा आँखाबाट हेर्ने गरेको छु । एउटा स्तरबाट, दोस्रो मान्छेबाट र तेस्रो साथीहरूको कोकोहोलोबाट हेर्ने गरेको छु । 

स्तरबाट हेर्दा हाम्रा मान्छेहरूको तागत पुगेको छैन । स्तर नपुगेपछि उनीहरू फेल हुनु भनेको कुनै नौलो कुरा भएन । न्यूनतम मापदण्ड पुरा नभइ त ३० वर्ष बिगार्नु भएन नि । प्रत्येक वर्ष एक पुस्तालाई पढाउँदा एउटा शिक्षकले ३० पुस्तालाई पढाउँछन् । त्यो पुस्ताका निम्ति कमजोर स्तर भएका केटाकेटी (शिक्षक)लाई भर्ना गर्न हुन्छ त ? प्रश्न त्यो हो । 

हामीले के भन्यौ भने अब्बल क्षमता भएका केटाकेटीहरूलाई शिक्षकमा भर्ना गर्नुपर्छ । सकेसम्म फस्ट डिभिजन ल्याएका हुनु राम्रो, त्यो नभएपनि राम्रो नतिजा ल्याएको हुनुपर्छ भन्ने चिन्तन बनिरहेको बेलामा स्तरबाट नहेरी सुख हुन्छ त ? 

दोस्रो कुरा उनीहरूको हालत हेर्छु । उनीहरू भन्नाले जसले जाँच दिन गए । उनीहरूले के बुझे भने अन्त कतै भएन, यहीँ भएपनि जाऊँ भन्ने लागेका मान्छे हुन् । कमसेकम उनीहरूलाई पाठ्यक्रममा के दिएको छ । यो यो पढ्नुपर्छ भन्ने कुराको जानकारी छ । 

त्यो हुँदाखेरी आफ्नो तयारी नगर्नेलाई जागिरै दिने कि भत्ता भनेर हेर्नुपर्छ । जागिर दिने हो भने अब्बललाई ल्याउनुपर्‍यो । भत्ता दिने हो भने जो सुकैलाई दिएपनि भयो । शिक्षक भनेको त जागिर होला, भत्ता होइन होला । 

तेस्रो आँखाबाट हेर्दा जुन साथीहरूको विश्लेषण छ, थोरै पास गरायो भन्ने कुरा आयो । विश्वविद्यालयको पढाइ कमजोर भयो भन्ने कुरा आयो । विश्वविद्यालयका साथीहरूले स्कुलको पढाइ कमजोर भयो भने । 

यो त आफ्नो कमजोरी तथा गल्ती अर्कोतिर फकाईदिने काम भयो । हाम्रो बुद्धि त त्यतिमात्र भयो । तर, त्यसले यथार्थ के जनायो भने विश्वविद्यालय पनि कमजोर रहेछ, हाम्रो स्कुल प्रणाली पनि कमजोर रहेछ । गुणस्तरीयता खस्किएछ । अब त्यो गुणस्तरीयता बनाउने कसले हो भनेर हेर्‍यो भने शिक्षकले होला, प्राध्यापकले होला । यी मान्छेकै अहिले त्यस्तो दशा छ भने भोलि त्यस्ता थोत्रा मान्छे ल्याएर के गर्ने ?  

यस्तो खालको समस्या आउनुको पछाडिको कारण के होला ? 

हाम्रा राजनीतिक पार्टीहरूको कुबुद्धि के भने आफ्ना मान्छेहरूलाई जसरी पनि भित्र हालौँ भन्ने छ । सबै सम्भावनाबाट हेरौँ । ल मान्छे कमजोरै आयो, त्यसलाई बलियो त बनाउन सकिन्छ होला । आएका मान्छेहरूलाई विशेष तालिम, विशेष काम गराएर अब गरिखान्छौं भन्न बनाउन सकिने प्रणालीको विकास हुने हो भने त्यो समस्याको विषय भएन । 

मैले देखेको के हो भने हामी न स्कूल सुधार गर्न सक्छौं, न विश्वविद्यालय सुधार गर्न सक्छौं । न दिइएको शैक्षिक स्तर भेट्टाउन सक्ने मान्छे भेट्टाउन सक्यौं । हामीले त्यस्ता थोत्रालाई ल्याएर पनि गतिला तालिम दिएर सक्षम पनि बनाउन सकेनौं । 

यसलाई बर्बादै भयौं भन्ने पक्षमा म छैन । यसमा हाम्रो गुणस्तर पुगेन, त्यसलाई स्वीकारौं, स्वीकारेर सुधारौँ । 

विश्वविद्यालयले आफ्नो गुणस्तर कमजोर भयो भनेर स्वीकार गर्‍यो भने त्यो गुणस्तर सुधार गर्न सकिन्छ । 

शिक्षक, प्राध्यापकमा नैतिकता नहुने, अनि कमजोर शिक्षक भित्र हाल्न खोज्ने ? म चाहिँ कमजोर शिक्षकलाई भित्र हाल्नुपर्छ भन्ने पक्षमा छैन । हालिसकेका मान्छेलाई पनि बेस्सरी जोत्नुपर्छ, अब्बल बनाउनुपर्छ । 

पाठ्यक्रम नै कमजोर भयो, यसलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि चलिरहेको छ । के पाठ्यक्रम नै कमजोर हो ? 

यसलाई म अर्को ढंगबाट हेर्छु । कस्तो हुँदो रहेछ भने बिहेमा कस्मेटिक लगाएर चिटिक्क परेकी दुलहीलाई भोलिपल्ट बिहान हेर्दा के दशा हुन्छ ? बिहेको दिन त निकै राम्रो देखिएकी छे, त्यो किन भने कस्मेटिकले गर्दा हो । 

हाम्रो पाठ्यक्रम कस्मेटिक हो । कस्मेटिकले त्यस्तो दीर्घकालीन कुराकानी दिँदो रहेनछ । विश्वकै पाठ्यक्रमलाई हेर्दा पाठ्यक्रम उस्तै उस्तै हुन्छ । सबैभन्दा महत्वपूर्ण कुुरा के हो भने पाठ्यक्रमले कसरी डेलिभरी गर्छ ? कसरी भन्छ ? भन्ने प्रश्न हुँदो रहेछ ।  

त्यही पाठ्यक्रम पढाउने खोटाङमा रहेको मदन राईको स्कूलमा गएर हेर्‍यो भने केटाकेटी गरेर खान्छन् । पाठ्यपुस्तक त त्यही हो । बस्, त्यसमा तरिका बदलिएको हो र के पढाउने भन्ने किसिमको सम्वाद गरेको हो । 

प्रश्न पाठ्यक्रम हो कि पाठ्यक्रम डेलिभरी गर्ने क्षमताको हो ? त्यसमा पनि पाठ्यक्रम भनेको भगवान् हो कि शिक्षक हो ? भन्ने कुरा पनि आउँछ । 

पाठ्यक्रम भनेको मरेको चीज हो । जिउँदो शिक्षक राखेको किन हो भने त्यसले गरी खान्छ भनेर हो । शिक्षक चाहिँ मरेको पाठ्यक्रम बोक्ने अनि गुणस्तरको कुरा गर्ने ? त्यो भनेको हाम्रो गाउँघरको बुद्धि जस्तो । गाउँघरमा भात धेरै भयो भने कुणो बनाउँछौं । तर, सहरमा वा ठूलो होटलमा भने त्यही बासी भातको बिरयानी बनाउने कि फ्राई राईस बनाउने भन्ने हुन्छ । त्यो पनि झन महँगोमा बेच्छ । 

भनेपछि प्रश्न पाठ्यक्रम होइन रहेछ, पाठ्यक्रम भनेको त बासी भात हो । पाठ्यक्रम अपडेट गर्ने भनेको शिक्षकले हो । त्यसलाई कस्तो बनाउने र कसरी डेलिभरी गर्ने भनेको त शिक्षकले नै हो । 

पाठ्यक्रम परिवर्तन गरेर त्यो शिक्षकले पढाउन जानेनन् भने परिर्वतन गरेको के अर्थ ? त्यसले गर्दा पाठ्यक्रम बदल्नुलाई ठूलो अभ्यास मानिदैन । बदल्न पाइन्छ । पाठ्यक्रम बदल्नु भन्दा शिक्षक राम्रो बनाउनुपर्छ । 

के गरियो भने अहिले शिक्षकको नतिजा निराशाजनक आउने समस्याको समाधान हुन्छ ? 

विश्वमा चार वटा तरिका अपनाइन्छ । एउटा संरचना नै बदल्ने हो भने हुने रहेछ । संरचनामा हुने भनेको शिक्षक, पाठ्यक्रम, विद्यार्थी र अभिभावक पर्छन् । 

तर, शिक्षक बदल्न सकिँदैन । अहिलेको अवस्थामा सुधार गर्ने भनेर शिक्षक बदल्न सकिएको छैन । 

अब अभिभावक पनि फेर्न मिल्दैन । तिनै अभिभावकका कारण शिक्षकले भात खान पाएका छन् । अनि उनीहरूलाई गाली गरेर हुन्छ ? उनीहरूले त जति जानेका छन्, त्यति नै गर्ने हुन् । 

अब विद्यार्थी पनि फेर्न मिल्दैन । विद्यार्थी फेर्न खोजियो भने कसरी पढाउने ? विद्यार्थी पनि फेर्न नमिलेमा संरचनामा कसरी परिवर्तन गर्ने ? अब पढाउने प्रक्रियामा बदलाव ल्याउनुको विकल्प छैन । 

दोस्रो भनेको व्यक्ति बदल्ने कुरा रहेछ । त्यो भनेको शिक्षक नै बदल्ने हो । तर, त्यो सकिदैन । एउटा शिक्षकको सरूवा वा कारबाही गर्न खोजियो भने, त्यो कि एमाले हुन्छ, कि काँग्रेस हुन्छ, कि माओवादी हुन्छ । अनि कसरी बदल्ने ? हामीसँग विशुद्ध राजनीतिको ओत नओढेका शिक्षक नै छैनन् । राजनीतिक संरक्षणमा लागेका शिक्षकहरूले केही गर्नै दिँदैनन् । त्यसो हो भने दोस्रो तरिकाको व्यक्ति फेर्न पनि हामी सक्दा रहेनछौं । 

तेस्रो भनेको अन्तरक्रिया बदल्ने हो । अन्तरक्रिया बदल्ने भनेको हिजो जुन किसिमले पठनपाठन गरिन्थ्यो, त्यो बदल्नु हो । चौथो तरिका भनेको सोच बदल्नु हो । 

नेपालको सन्दर्भमा हेर्ने हो भने केही पनि फेर्न सकिने अवस्था मैले देख्दिन । किनभने हामी संरचना फेर्न सक्दा रहेनछौं, हामी व्यक्ति पनि फेर्न सक्दा रहेनछौं । तेस्रो सोच फेर्न पनि हाम्रो क्षमताले सकिदो रहेनछ । 

तर, हामीसँग फेर्न सकिने भनेको अन्तरक्रिया हो । हिजोको पठनपाठन गर्ने तरिकामा बच्चालाई कुटेर, तर्साएर पढाइन्थ्यो । अबका बच्चाहरूलाई सोधेर पढाउनुपर्छ । हिजो विषयवस्तुलाई जोड दिइन्थ्यो, आज अन्तरक्रियालाई जोड दिनुपर्छ । 

यो तरिकाबाट जान सकियो भने बदलिन सक्छौं । नत्र रमाईलो त हुन्छ तर काम बन्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप