बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि उत्पादन घट्दै, प्रदेश १ को आर्थिक गतिविधिमा किन आयो सुस्तता ?

मङ्गलबार, २० मङ्सिर २०७९, १२ : १९
मङ्गलबार, २० मङ्सिर २०७९

समग्र प्रदेश १ को आर्थिक गतिविधिमा केही सुस्तता आएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८÷७९ का लागि समग्र प्रदेशको आर्थिक गतिविधिको अध्ययन गरेकोमा प्रदेश १ को कृषि उत्पादनसँगै औद्योगिक उत्पादन र बजार सर्कुलेशनमा ह्रास आएको देखिएको हो । 

राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षमा प्रदेश १ मा कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले वृद्धि भएपनि उत्पादन भने समग्रमा १.४ प्रतिशतले घट्न पुगेको छ । २०७९ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये प्रदेश १ मा १० प्रतिशत (५४ अर्ब ५२ करोड रुपैयाँ) पुगेको छ । 

यस्तै, उद्योगतर्फ समीक्षा वर्षमा औसत १.२ प्रतिशतले उपयोग क्षमता घटेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो औद्योगिक औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो ।

विशेष गरी तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेन्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पल जस्ता वस्तुहरू उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको देखिएको बैंकको विश्लेषण छ । प्रदेश नं. १ का नमुना छनोटमा परेका उद्योगहरूको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत रहेको छ ।

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ । उद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस अध्ययनमा समेटिएका ठुला ४२ उद्योगहरूमा कार्यरत ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर रु.१ खर्ब २१ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो । विशेष गरी निर्माण, खानी र विद्युत ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको बैंकले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा सेवातर्फ होटलहरूको औसत अकुपेन्सी दर अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशतले बढेर ४०.४ प्रतिशतले पुगेको बैकले जनाएको छ । अध्ययन वर्षमा समग्र प्रदेशको होटलहरूमा आन्तरिक पर्यटकको संख्या ५८.४ प्रतिशत र बाह्य पर्यटकको संख्या ३०८.३ प्रतिशतले बढेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप