बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थायी राजधानीमा लुम्बिनी प्रदेश सरकारको पहिलो दिन कार्यालय व्यवस्थापन र सेवा सँगसँगै

मङ्गलबार, २० मङ्सिर २०७९, १२ : २३
मङ्गलबार, २० मङ्सिर २०७९

लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी टुुङ्गो लगाएको ठ्याक्कै ३ वर्ष दुुई महिनापछि पहिलो पटक आज अर्थात् २०७९ मंसिर २० गते स्थायी राजधानीबाट सेवा थालनी गर्दै छ । स्थायी राजधानीमा मुकाम सारेको पहिलो दिन सेवाग्राही खासै देखिएका छैनन् । कर्मचारीहरु कार्यालय व्यवस्थापनमै व्यस्त देखिएका छन् । तर सेवाग्राही आए सेवा दिने तयारीमा पनि कर्मचारी बसेका छन् ।

मन्त्रीदेखि कर्मचारीसम्म कार्यालय व्यवस्थापनमै व्यस्त छन् । स्थानीयहरु राजधानी सरेको खुसियालीमा कर्मचारीहरुलाई कार्यालय व्यवस्थापनमा सघाइरहेका छन् । सामान झार्नेदेखि सार्नेसम्मको काम बिहानैदेखि चलिरहेको छ ।

स्थानीयवासी रामप्रसाद भुषालले भने, ‘आज त राजधानीमात्रै होइन, सरकार पनि आयो ।’

स्थायी राजधानीको पहिलो दिन कार्यालय समयदेखि नै सेवा प्रवाह गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री कुलप्रसाद केसी सोमबार राति नै आफ्ना आवश्यक कागजातसहित मुख्यमन्त्रीको कार्यालय परिसरमा भित्रिएका थिए । तर अन्य आवश्यक फर्निचर सर–सामानहरु मंगलबार बिहानमात्रै आइपुगेको हो ।

मुख्यमन्त्री केसीले भने, ‘म बिहानदेखि अन्य काम र सेवा सञ्चालन गर्नुु पर्छ भनेर राति नै आएको हुुँ । अहिले नागरिक सेवाका लागि आवश्यक पर्ने कक्ष व्यवस्थापन गरी अन्य कार्यालय व्यवस्थानको काम चलिरहेको छ ।’

कार्यालय व्यवस्थापनका क्रममा नागरिक सेवा नरोकियोस् भन्ने उद्देश्यका साथ बिहान नागरिक सेवा स्थल व्यवस्थापन गरी दिउँसोदेखि आन्तरिक कार्यालय व्यवस्थापनको काम चलिरहेको छ ।

मन्त्रालय र आवश्यक आवास व्यवस्थापनको काम चाँडै सकेर अन्य काम पनि तत्काल सञ्चालनको तयारी गर्ने मुख्यमन्त्री केसीले बताए ।

कहिले बस्छ स्थायी राजधानीमा मन्त्रिपरिषद बैठक ?

मुख्यमन्त्री केसीका अनुसार आवश्यक कार्यालय तथा आवास व्यवस्थापनको काम सकेर चाँडै नै मन्त्रिपरिषद बैठक बस्नेछ ।

यद्यपि मन्त्रिपरिषद बैठकको मिति तय नभएको उनले बताए । उनले रातोपाटीसँग भने, ‘तत्काल कार्यालय व्यवस्थापन गरी मन्त्रिपरिषदको बैठक बस्ने, चाँडै स्थायी राजधानीमै नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ गराउने तयारीमा छौं ।’ मुख्यमन्त्री केसीले सरकारको मुकाम स्थायी राजधानीमै आइसकेकाले अब सबै काम स्थायी राजधानीबाटै हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप