शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनको टिकी–टाकालाई रोक्ला मोरक्कोको सशक्त डिफेन्सले  ?

मङ्गलबार, २० मङ्सिर २०७९, १२ : ३०
मङ्गलबार, २० मङ्सिर २०७९

स्पेन मंगलबार हुने अन्तिम १६ खेलमा जित्ने अपेक्षासहित मैदान उत्रदैछ तर यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको मोरक्को पनि पूर्व विजेता टोलीलाई निराश बनाउन सकिनेमा आशावादी देखिएको छ ।

आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ७–० को विशाल अन्तरले हराउँदै धमाकेदार सुरुवात गरेको स्पेन समूह ईको अन्तिम खेलमा जापानसँग १–२ गोलले स्तब्ध हुँदै समूहको उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । यो समूहबाट चारपटकको विजेता जर्मनी समूह चरणबाट नै बाहिरिएको थियो ।

मोरक्कोले भने समूह एफमा क्रोएसिया र बेल्जियमजस्ता महारथीहरुलाई पछि पार्दै समूह विजेता बनेको थियो । मोरक्को विश्वकपको नकआउट चरणमा प्रवेश गरेको यो मात्र दोस्रो अवसर हो । विश्वकपमा बाँकी रहेको एकमात्र अरब राष्ट्र भएका कारण मोरक्कोले एजुकेसन स्टेडियममा हुने खेलमा राम्रो समर्थन पाउने अपेक्षा गर्न सकिन्छ ।

मोरक्को प्रशिक्षक वालिद रेग्रागुईले पछाडि बसेर डिफेन्डिङ  गर्ने र अवसर पाएको खण्डमा काउन्टर अट्याकबाट विपक्षी टोलीलाई प्रहार गर्ने रणनीति अख्तियार गरेका छन् । उनको रणनीतिको केन्द्रमा हाकिम जियेच रहेका छन् । गत अगस्तमा रेग्रागुईले राष्ट्रिय टोलीको नेतृत्व सम्हालेपछि जियेच टोलीमा फर्किएका हुन् । यसअघिका प्रशिक्षकसँगको विवादले गर्दा जियेचलाई टोलीबाट हटाइएको थियो ।

उनको रचनात्मकताले मोरक्कोको आक्रमणलाई बल पुग्ने गरेको छ । तर, फुटबल विश्लेषकहरूले भने टोलीको सशक्त डिफेन्सको तारिफ गर्ने गरेका छन् । समूहको अन्तिम खेलमा क्यानडालाई २–१ ले पराजित गर्ने क्रममा खाएको गोल रेग्रागुईको ६  खेलको नेतृत्वमा पहिलो थियो । 

मोरक्कोका गोलकिपर यासिन बोनो अन्तिम १६ मा पुगेर टोलीले नयाँ इतिहास बनाइसकेको तर आफूसँग अझै ‘थप’ हासिल चाहेको बताएका छन् । ‘स्पेनलाई हामीलाई उत्कृष्ट बन्न बाध्य बनाउने छ, उनले भने, ‘तर हामी तयार छौँ । हामी हरेक खेलसँगै राम्रो बन्दै छौँ । हामी हाम्रो देशवासीलाई खुसी बनाउन चाहन्छौँ ।’

यता, स्पेनले पनि गत खेलमा जापानविरुद्ध गरेको प्रदर्शनमा सुधार ल्याउनुपर्ने देखिन्छ । पहिलो हाफमा उत्कृष्ट पासिङको नमुना पेस गरेको लुइस एनरिकेको टोलीले दोस्रो हाफमा भने डिफेन्समा गल्ती गरेको कारण पराजयको सामना गर्नुपरेको थियो । जमर्ननीभन्दा राम्रो गोलअन्तर भएका कारण मात्र स्पेन नकआउट चरणमा पुगेको हो ।

मिडफिल्डर रोड्रीले भने टोलीले टिकी–टाका स्टाइललाई नै पछ्याउने बताएका छन् । उनले गरेका गल्तीबाट टोली पाठ सिक्ने पनि बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप