शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारदेखि काठमाडौँबासीका घरको धारामा मेलम्चीको पानी

मङ्गलबार, २० मङ्सिर २०७९, १८ : ००
मङ्गलबार, २० मङ्सिर २०७९

शुक्रबारदेखि पुन: काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै  प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा  छोड्न लागिएको  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

उनले भने,‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका छौँ, अहिले काठमाडौँतर्फको गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ । ३ दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाडौंको वितरण प्रणालीमा पानी छोड्दैछौँ । शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेछ ।’ 

काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाडौंमा पानी आइपुगेको उनले बताए । 

आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ । अघिल्लो वर्ष असारमा आएको भीषण बाढी पहिरोले आयोजना स्थलमा क्षति पु-याएपछि गत वैशाखमा अस्थायी बाँध बनाएर १ महिनासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो । 

जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने श्रेष्ठले बताए । साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको उनले बताए । 

यस्तै मेलम्ची खानेपानी विकास समिति खारेजको विषयमा सरकार संवेदनशील बन्नुपर्नेमा श्रेष्ठले जोड दिए । उनले निरन्तर रुपमा काठमाडौंमा खानेपानी वितरणका लागि विकास समितिलाई कसरी क्रियाशील र व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले प्रमुख प्राथमिकता दिनुपर्नेमा उनको जोड रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप