बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठकमा प्रश्न : कांग्रेसको भोट घण्टीमा कसरी ?

मङ्गलबार, २० मङ्सिर २०७९, १५ : ००
मङ्गलबार, २० मङ्सिर २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकमा केही महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीका रुपमा देखापरेको विश्लेषण भएको छ ।

गठन भएको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी​ (रास्वपा)ले घण्टी निर्वाचन चिह्नमार्फत चुनाव लडेर प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा करिब १४ सिट जित्ने अवस्था छ । पुराना दलहरूको आँकलनविपरीत कतिपय स्थानमा गठबन्धनकै बलिया उम्मेदवारलाई समेत घण्टीवाला उम्मेदवारहरुले हराइदिएपछि गठबन्धनको पक्षमा नतिजा आउन नसकेको भन्दै नेताहरुले घण्टीको शक्तिबारे जिज्ञाशा राख्दै समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । त्यसमा कतिपय नेताहरुले ठुला दलहरुले बुद्धि नपुर्‍याउँदा जनतामा बढेको आक्रोश घण्टीमा पोखिएको धारणा राखेका थिए । त्यस क्रममा ठूला दल र दलका नेताहरूको व्यवहार जनअपेक्षाअनुरुप परिवर्तन गर्न जरुरी रहेको बताएका थिए ।

‘गठबन्धन गर्दा जित सुनिश्चित भनिएका स्थानमा समेत हाम्रो पक्षमा मत आएन, खासगरी कांग्रेसका उम्मेदवारहरूले हारे, यस्तो किन भयो ?’, सोमबारको बैठकमा सहभागी एक नेताले प्रशंग कोट्याएपछि उनको प्रश्नमा माओवादी र जनमोर्चाका नेताले समेत सहि थपेका थिए ।

‘चुनावपछि पहिलो पटक बसेको गठबन्धनको बैठकमा छलफलका क्रममा घण्टीको चर्चा त हुने नै भयो । यो बाहेक कांग्रेसकै उम्मेदवारलाई कांग्रेसकै नेता कार्यकर्ता पनि हराउने भुमिका खेलेको पाइयो, यस्तो किन भयो ? भनेर नेताहरुले प्रश्न गर्नुभयो’, बैठकमा सहभागी ती नेताले भने,‘चुनाव जित्ने ठाउँमा पनि हार्नुको कारण खोतल्ने प्रयास भयो ।’

काठमाडौं उपत्यका लगायतका कतिपय स्थानमा गठबन्धन दल कांग्रेस, माओवादी र समाजवादीका उम्मेदवारलाई रास्वपाका उम्मेदवारले पराजित गरेका थिए ।

‘काठमाडौं निर्वाचन क्षेत्र नम्बर २, ६,७, चितवन लगायतका जिल्लामा गठबन्धनका उम्मेदवारले अनपेक्षित हार बेहोर्नुपरेको छ, जसमा घण्टीको प्रभाव देखिन्छ । यो विषय कति चुनौतीपूर्ण हो भन्ने ढंगले छलफलहरू भएका छन्’, अर्का एक नेताको भनाइ छ ।  

बैठकपछि चार दलका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्दै निर्वाचन नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको जनाएका छन् । बैठकमा नेताहरुले गठबन्धनका निम्ति एमाले भन्दा पनि घण्टी चुनौतीका रुपमा देखा परेको धारणा समेत राखेका थिए । तर त्यसका बाबजुद पनि निर्वाचनमा ठूला दलहरूले पाएको मतले दलहरूप्रति फैलाइएको घृणा चिर्न सफल भएको र ठूला राजनीतिक दलको विकल्प खोज्ने बेला अहिले नभएको पुर्नपुष्टि भएकोमा समेत दलका नेताहरू एकमत भएका थिए । ‘मुलुकका सामु विद्यमान चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यकताले पनि यो यो गठबन्धनलाई निरन्तरता दिन जरुरी छ’ चार दलका शीर्ष नेताले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका नेता डा. बेदुराम भुसालले रातोपाटीसँग भने, ‘जसरी दलका नेताहरु कामै लाग्दैनन्, कामै छैन भनेर राजनीतिक दलका विरुद्धमा नकारात्मक खालका प्रचार र फैलाइएका घृणाका बाबजुद पनि जनताले दलहरू नै रोजे, त्यसमा पनि गठबन्धनलाई नै मत प्रकट गरेको देखियो, यसलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने निष्कर्ष रह्यो ।’

बैठकमा कांग्रेस सभापति समेत रहेका शरबहादुर देउवाले गठबन्धनलाई असफल पार्ने विभिन्न प्रयासहरु भएपनि पक्षमा जनमत रहेकाले आगामी दिनमा कमजोरीलाई सुधार्दै अघि बढ्नुको विकल्प नभएको बताएका थिए ।

‘जनमत गठबन्धनकै पक्षमा छ । केही कमजोरी पनि भएका छन् । त्यसलाई सुधारेर अघि बढ्नुपर्छ’, प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै महासचिव भुसालले भने, ‘जनतासँग हामीले गठबन्धनकै लागि मत मागेकाले अरु सोच्ने बेला भएको छैन ।’ देउवाले गठबन्धनले नै नयाँ सरकार बनाउने भन्दै गठबन्धनलाई अझ मजबुत बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि गठबन्धन नेतृत्व जिम्मेवार भएपनि केही कमजोरीका कारण काठमाडौं, चितवन, कञ्चनपुर, लमजुङ लगायतका  जिल्लामा गठबन्धनको पक्षमा अपेक्षाकृत मत आउन नसकेको बताएका थिए ।

सोमबारको बैठकमा नेताहरुबीच निर्वाचन आयोगले निर्वाचनको सवै नतिजा सार्वजनिक गरेपछि मात्रै पावर सेयरिङबारे छलफल गर्ने सहमति समेत भएको छ । ‘पावर सेयरिङका बारेमा सोमबार कुनै छलफल भएन । किनभने अहिले नै त्यसमा छलफल गर्नु अलि हतार पनि हुन्छ’, समाजवादीका महासचिव भुसालले भने, ‘२७/२८ तिर आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ला, त्यसपछि दलहरूले  आ-आफ्ना संसदीय दल गठन गर्छन् । त्यसपछि मात्रै पावर सेयरिङको विषय प्रवेश हुन्छ ।’

बैठकमा नेकपा एमालेले सरकार गठनका सन्दर्भमा फालेको पासा काम नलाग्ने ठहर गर्दै महाकालीमा भारतीय पक्षले एकतर्फी निर्माण गरेको भौतिक संरचनाका बारेमा समेत सामान्य कुराकानी भएको नेताहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप