अर्थतन्त्रको समस्या बोकेर धमाधम शीर्ष नेतालाई भेट्दै

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू वर्तमान आर्थिक समस्याका विषय लिएर प्रमुख पार्टीका शीर्ष नेताहरूलाई भेट्न पुगेका छन् । मंगलबार मात्र महासंघका अध्यक्ष शेखर गोल्छासहित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, तीन उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटको छ ।
यसअघि महासंघका पदाधिकारीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत छुट्टाछुट्टै भेटेर समस्या राखेका थिए ।
उक्त भेटमा महासंघका पदाधिकारीहरुले मुलुकको वर्तमान आर्थिक समस्याको निराकरणका लागि विशेष भूमिका खेलिदिन आग्रह गरेका छन् । खासगरी वर्तमान आर्थिक समस्याको आन्तरिक तथा बाह्य कारण सोको समाधानका लागि बैंकिङ ब्याजदर, चालु पुँजी सम्बन्धि निर्देशिका, ब्याजदर कोरिडोर, एलसी तथा आयात सहजता लगायतका मुद्दामा सरकार गम्भीर हुनुपर्ने महासंघको माग रहेको छ ।
उक्त मागका सन्दर्भमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरेर छिट्टै समाधान निकाल्ने आश्वासन दिएका छन् । महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्र सहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्वदायी भूमिका निभाउने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
यस्तै महासंघका प्रतिनिधि मण्डललाई एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयबाट समेत आर्थिक सुधारको सकारात्मक पहलका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको र सकारात्मक पहल गर्ने आश्वासन मिलेको थियो ।