बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानका नयाँ सेना प्रमुखका अगाडि चुनौती नै चुनौती

मङ्गलबार, २० मङ्सिर २०७९, १६ : ५६
मङ्गलबार, २० मङ्सिर २०७९

जनरल असिम मुनिरले गत हप्ता पाकिस्तानको सेना प्रमुखको जिम्मेवारी लिए । ५७ वर्षीय पूर्वगुप्तचर प्रमुख मुनिरले अब सेना प्रमुखका रुपमा देशको आन्तरिक तथा विदेशी मामिलामा ठूलो प्रभाव पार्न सक्छन् । पाकिस्तानले चौतर्फी संकटहरूको सामना गरिरहेको बेला मुनिरले पदभार ग्रहण गरेका छन् । तत्काल चुनावको माग गरिरहेको एक शक्तिशाली विपक्षी, आर्थिक मन्दी र देशको एक तिहाइ भाग डुबाउने ऐतिहासिक विध्वसंकारी बाढी पाकिस्तानले सामना गरेका केही समस्या हुन् ।

मुनिरले देशको शक्तिशाली सेनाको नेतृत्व गर्दाको समयमा मुख्यत: तलका पाँच चुनौती सामना गर्नेछन् -

घरेलु राजनीति

पूर्वप्रधानमन्त्री इमरान खानलाई पदबाट हटाइए यता पाकिस्तानको राजनीतिमा अराजकता र अस्थिरता व्याप्त छ । विश्लेषकका अनुसार प्रधान सेनापतिका रुपमा मुनिरको सामना गर्नुपर्ने प्रमुख चुनौती यही देशभित्रको अराजक राजनीतिक हुनेछ ।

खानले यस वर्ष अप्रिलमा संसदमा विश्वासको मत गुमाएपछि सत्ता त्याग्नु परेको थियो । सत्ताबाट बाहिरिएपछि अमेरिकाले प्रतिपक्षी दल तथा सेनासँग मिलेर आफूलाई सत्ताच्युत गर्ने षडयन्त्र गरेको खानले आरोप लगाए । सेना र वाशिंगटन दुवैले खानका यी आरोप बारम्बार अस्वीकार गरिसकेका छन् ।

गत महिनादेखि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानले आफूलाई हटाउन अमेरिकाको हात रहेको आरोपबाट पछि हटेको बताए । उनले आफूले  वाशिंगटनसँग राम्रो सम्बन्ध चाहेको जोड दिएका छन् ।

अमेरिकाप्रतिको धारणामा युटर्न लिएपछि पाकिस्तानको राजनीतिमा सेनाको हस्तक्षेपविरुद्ध खानले निरन्तर देशको सैन्य नेतृत्वको आलोचना जारी राखेका छन् । लाहोरमा बसोबास गर्ने विश्लेषक माजिद निजामीले अघिल्लो प्रधान सेनापति कमार जावेद बज्वाले समापन भाषणमा बालेको कुराले मुनिरको कार्यकाललाई धेरैले नजिकबाट निकालिने बताए ।

बिदाई भाषणमा सेनाका जनरलहरुलाई सम्बोधन गर्दै बाजवाले भविष्यमा पाकिस्तानको सेनाले राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने निर्णय गरेको बताएका थिए । बजवाले विगतमा पाकिस्तानले भोगेजस्तै सैन्य ‘कू’ अब भएमा त्यो असंवैधानिक हुने बताएका थिए ।

नयाँ प्रधानसेनापतिको अधीनमा, सेनाले न्यायपालिका, देशभरका नागरिक प्रशासन र समाचार मिडियामाथि हालसम्म कायम राख्दै आएको ठूलो गैरसंवैधानिक र गैरकानूनी प्रभावलाई नियन्त्रणमा राख्न मिहिनेत गर्नुपर्दछ , इस्लामावादस्थित थिंक ट्याकंमा आबद्ध मुशसफ जैदीले भने ।

सेनाको छवि सुधार्ने

पहिलो चुनौतीसँग जोडिएर मुनिरको दोस्रो सबैभन्दा ठूलो चुनौती आउँछ– पाकिस्तानी जनतामाझ सेनाको छवि सुधार्ने । पाकिस्तान एक स्वतन्त्र राष्ट्रका रुपमा स्थापना भएको ७५ वर्षमा ३० वर्ष सेनाले मात्रै प्रत्यक्ष शासन गर्यो । प्रत्यक्ष शासनमा नरहेको समयमा पनि त्यहाँ सेना घरेलु मामिलामा प्रमुख मध्यस्थ शक्ति मानिने गरेको छ ।

व्यवसायिक दृष्टिकोणले सेनाको छवि सुधार्न धेरै समय लाग्दैन भन्ने विगतले देखाउँछ, सेनाका अवकाशप्राप्त जनरल ओमर महमूद हायातले भने ।

पूर्व रक्षा सचिव र सेवानिवृत्त सेना अधिकारी आसिफ यासिन मलिक पनि मुनिरका लागि सेनाप्रतिको ‘धारणा व्यवस्थापन’ चुनौतीपूर्ण हुने ठान्छन् । ‘उनको पहिलो चुनौती भनेको सेनाको राजनीतिमा संलग्नताको बारेमा नै असर गर्दै आएको छ, मलिकले भने ।

पाकिस्तान तालिवानको खतरा र अफगानिस्तान

पाकिस्तान तथा अफगानिस्तानका विज्ञ अब्दुल सैयद मुनिरको मुख्य चुनौती ‘तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)’ नामक सशस्त्र समूहको बढ्दो खतरालाई नियन्त्रण गर्नु हुनेछ मान्छन ।

गत साता मात्रै अफगानिस्तानको सत्तारूढ तालिबानसँग सम्बन्ध रहेको टीपीपीले पाकिस्तानी सरकारसँग कायम युद्धविराम तोड्यो । अघिल्लो पटक काबुनका तालिवानको मध्यस्थतामा टीटीपी र इस्लामाबादबीच सम्झौता भएको थियो ।

युद्धविरामको अन्त्यको घोषणा गरिएको विज्ञप्तिमा टीपीपीले आफ्ना लडाकुहरूलाई ‘देशभर’ नयाँ आक्रमण सुरु गर्न निर्देशन दिएको छ । दुई दिनपछि, दक्षिण पश्चिमी सहर क्वेटामा पोलियो खोप अभियानको क्रममा भएको आत्मघाती बम विस्फोटमा एक प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको थियो । यस आक्रमणलाई टीपीपीले जिम्मा लिएको छ ।

पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडिज, इस्लामाबादले संकलन गरेको तथ्याङ्क अनुसार टीटीपीले सम्झौता अवधिमा समेत यो वर्ष ७० भन्दा बढी सशस्त्र आक्रमण गरे , जसमा दर्जनौं मारिएका छन् ।

पाकिस्तानले काबुललाई टीपीपी नेतृत्वविरुद्ध कारबाही गर्न माग गर्दै आएको छ । इस्लामावादले टीपीपी नेताहरु अफगानिस्तानमा शरण लिएर बसिरहेको आरोप लगाउँछ । जबकि तालिबानले आफ्नो भूमिलाई विदेशी मुलुकविरुद्ध आक्रमणका लागि प्रयोग गर्न नदिने भन्दै आएको छ ।

टीपीपी नेतृत्वले अफगानिस्तानमा शरण लिएकोमा कुनै आशंका छैन । पाकिस्तानसँग यो समस्या समाधान गर्ने दुईवटा उपाय छन्– एउटा राजनीतिक र अर्को सैन्य हो यदि पाकिस्तानले सैन्य कारबाही रोज्यो भने, यसले अफगान तालिबान सरकारसँगको सम्बन्धलाई अपरिहार्य रूपमा हानि पु¥याउँछ र यसको रणनीतिक उद्देश्यमा बाधा पु¥याउँछ , अब्दुल सैयद भन्छन् ।

इस्लामावादले अफगान तालिबानलाई टीपीपी नियन्त्रण गर्न दबाब दिने र पाकिस्तानमा आक्रमण गर्न रोक्ने गैर–सैनिक समाधान खोज्न पनि सक्ने सैयदले बताए ।

भारतसँगको सम्बन्ध

भारत ऐतिहासिक रूपमा पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी हो र स्वतः दुई देशका सेनाबीच पनि बैमनश्यता छ । दुई आणविक शक्ति राष्ट्रबीच बाँढिएको कश्मीरमाथि दुवैले पूर्ण स्वामित्व हुनुपर्ने दावी गर्छन् । भारत र पाकिस्तानबीच भएका तीनमध्ये दुई युद्ध कश्मीरको स्वामित्वकै विषयमा भएको थियो ।

त्यस अतिरिक्त भारत र पाकिस्तान आफ्नो भूमिमा हुने सशस्त्र आक्रमणको लागि एक–अर्काको सैन्य गुप्तचर संस्थालाई दोष दिन्छन् ।

सन् २०१९ को प्रारम्भमा, नयाँ दिल्लीले भारत प्रशासित कश्मीरमा भएको हिंसात्मक हमलाको लागि पाकिस्तानलाई दोष दियो । त्यसपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेर जवाफ दिँदा दुई मुलुक अर्को युद्धको संघारमा पुगेका थिए । तथापि पाकिस्तानले संयमता अपनाउँदा युद्ध टरेको थियो ।

भारतको केन्द्रस्थित हिन्दू राष्ट्रवादी भाजपा सरकारले भारत प्रशासित कश्मीरलाई प्राप्त संवैधानिक विशेष हैसियत खोसेपछि दुई देशको मुलुक थप थप बिग्रिएको छ । उनीहरूबीचको सबै कूटनीतिक सम्बन्धहरू त्यस यता अवरुद्ध छ ।

सेना प्रमुखको पदभार ग्रहण गरेको केही दिनपछि, मुनिरले पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेर एक सन्देश दिएका छन् । त्यहाँ उनले ‘मातृभूमिको प्रत्येक इन्चको रक्षा गर्ने’ वाचा गरे । ‘भारतीय राज्यले उसको नाजायज योजना हासिल गर्न कहिल्यै सक्षम हुने छैन, मुनिले सम्बोधनमा भने ।

अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने

पाकिस्तानले ऐतिहासिक रूपमा चीन र अमेरिका दुवैसँग घनिष्ठ सम्बन्ध कायम राखेको छ । तर अन्तराष्ट्रिय मन्चमा चीन र अमेरिकाबीच प्रतिद्वन्द्वीता बढ्दा पाकिस्तानको चुनौती बढ्दै गएको छ ।

दुई विश्व शक्तिबीच प्रतिद्वन्द्वी बढ्दा पर्यवेक्षकहरु यी दुवैसँगको घनिष्ठ सम्बन्ध कायम राख्नु मुनिरको प्रमुख चुनौती हुने बताउँछन् । केही दशकदेखि पाकिस्तानको चीनसँग निर्भरता बढ्दै गएको छ । पाकिस्तानभरका परियोजनाहरूमा चीनले अर्बौं डलर लगानी गरिसकेको सन्दर्भमा वाशिंगटनसँग इस्लामाबादको सम्बन्ध चिसिँदै गएको छ ।

प्रधानमन्त्री शेहबाज शरीफले इमरान खानको कार्यकालमा बिग्रिएको अमेरिकासँगको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । पूर्व सेना प्रमुख बाजवाले आफ्नो कार्यकालको अन्तिम महिनामा चीन र अमेरिका दुवैको भ्रमण गरेर दुवैलाई आफूहरूले महत्व दिएको संकेत गरे ।

चीनले हामीलाई कोसँग मित्र गर्ने वा नगर्ने भनेर कहिल्यै निर्देशन दिएका छैनन् । तर अमेरिकी तथा पश्चिमी देश भने चीनसँगको हाम्रो सम्बन्धमा समस्या देख्छन्, पूर्व रक्षा सचिव मलिकले भने ।

विदेश नीति विश्लेषक मोहम्मद फैजल मुनिरका सामु बेइजिङ र वाशिंगटनबाट आउने ‘प्रतिस्पर्धी दबाब’लाई सन्तुलनमा राख्ने चुनौती रहेको मान्छन् । ‘पाकिस्तानले दुबै देशबाट सैन्य तथा आर्थिक सहायता खोजेको छ, अब यसलाई कसरी सन्तुलित बनाउने उपाय पनि खोज्नुपर्छ’ फैजलले भने ।

मुशरफ जैदीले भने सेनाले सरकारको विदेश नीतिलाई पूर्ण रूपमा समर्थन गर्नुपर्ने र आफैले विदेश नीति संचालन गर्न चाहने कुराको प्रतिरोध गर्नुपर्ने बताए ।

अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप