मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘हामी सकेसम्म कम्युनिस्टहरूकै सरकार बनोस् भन्नेमा छौँ’

अहिलेको परिणाम नेकपाको एकतालाई जनताले स्वीकार गरेको प्रमाण हो : टोपबहादुर रायमाझी, सचिव, नेकपा एमाले
बुधबार, २१ मङ्सिर २०७९, १० : २७
बुधबार, २१ मङ्सिर २०७९

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी मुलुकमा कम्युनिस्टहरूकै सरकार बन्नुपर्नेमा जोड दिन्छन् । हालै सम्पन्न निर्वाचनको मतगणना सकिएसँगै उनले कम्युनिस्टहरू मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका हुन् ।

उनी राजनीतिमा असम्भव भन्ने केही नहुने तर्क गर्दै कम्युनिस्टहरूको सरकार बन्ने सम्भावना कायम रहेको जिकिर पनि गर्दछन् । यद्यपि, मुलुकलाई राजनीतिक स्थिरता र समृद्धितिर लैजाने हो भने ठुला दल मिलेर सरकार बनाउनुपर्ने उनको तर्क छ ।

चुनावको परिणाम, सरकार गठनका लागि भइरहेको पहलकदमी लगायतका विषयमा रातोपाटीले उनीसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

पाँच दलीय गठबन्धनलाई परास्त गरेर तपाईं अर्घाखाँचीबाट निर्वाचित हुनुभयो । चुनाव जित्न कति गाह्रो भयो ? 

यो निर्वाचन निश्चित रुपमा चुनौतीपूर्ण भयो । ऐतिहासिक र दुरगामी महत्त्व राख्ने खालको निर्वाचन थियो यो । अर्घाखाँचीको कुरा गर्ने हो भने अरु सबै पार्टी एकातिर र एमाले एक्लो उभिएको थियो । सबै पार्टीले चुनौती दिएपछि एक्लो पार्टीलाई अप्ठ्यारो पर्ने वा  चुनौती हुनु स्वाभाविक हो । यस्तो अवस्थामा पनि हामीले सफलता हासिल गर्‍यौँ । 

एमालेबाट पूर्व माओवादी समूहका ९ जना प्रतिनिधिसभामा उम्मेदवार हुनु भएको थियो । तीमध्ये तपाईं र ज्वालाकुमारी साहमात्रै निर्वाचित हुनुभयो । अरु साथी पराजित हुँदा पनि तपाईं कसरी निर्वाचित हुनुभयो ?

मैले अर्घाखाँचीबाट ३ पटक चुनाव जितिसकेको छु । मैले जिल्लाको प्रतिनिधित्व गरेको १०/१५ वर्ष भयो । जिल्लाको विकास, समृद्धिको पक्षमा र जनसेवाको पक्षमा निरन्तर खटिरहेको छु । मैले अर्घाखाँची जिल्लालाई राष्ट्रिय रुपमा पहिचान दिएँ । पहिला ‘अर्दाखाँची’ भन्थे । अहिले ‘अर्घाखाँची’ भन्ने बनाएको छु । जिल्लाको पूर्वाधारको विकासमा धेरै काम भएका छन् । जिल्लाको बाटो, पुलपुलेसा, खानेपानी, बिजुली, सिँचाइ, तटबन्ध, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् । यस्तै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा काफी मात्रामा काम भएका छन् । 

माओवादीबाट तीन पटक निर्वाचित हुनुभयो । यो पटक एमालेबाट चुनावमा जानुभयो । कहिले हसियाँ हथौडा, कहिले सूर्य चुनाव चिह्न लिएर जाँदा जनताले असन्तुष्टि पोखेनन् ? 

जनताले यस्तो खालको प्रश्न गर्ने भए भोटै हाल्ने थिएनन् । माओवादी र उसको चुनाव चिह्न हसियाँ हथौडालाई हामीले एमालेमा लगेर मिसाइसकेका थियौँ । एमाले र माओवादी मिनेर नेकपा बनेको हो । नेकपालाई छोडेर कतिपय साथीहरू आफ्नै पार्टी माओवादीमा फर्किनुभयो । हामी नेकपाको निरन्तरतामा अघि बढ्यौँ । नेकपाको एकतालाई अहिलेको निर्वाचनले जनताबाट स्वीकार गरेको प्रमाण हो यो । 

सर्वोच्च अदालतले नै एमाले माओवादी ब्युँताएर पठाएपछि अब नेकपाको निरन्तरता भन्न कसरी मिल्ला र ? 

हामीले पार्टी एकताको निरन्तरताको रुपमा बुझेका छौँ । पार्टी एकता गरेर प्रथम अध्यक्ष केपी शर्मा ओली र द्वितीय अध्यक्ष प्रचण्डलाई बनाएका थियौँ । सर्वेसर्वा अधिकार दिएर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । त्यस हुनाले संस्थापन ओली हो । 

तपाईंले चुनावी प्रचारको दौरानमा एमालेले अर्घाखाँचीमा ५० वर्ष राज गर्छ भनेर भन्नुभयो । ५० वर्ष राज गर्न सक्ने आधार के छन् ?

स्थानीय चुनावमा पाँच दलीय गठबन्धनका विरुद्ध हामी चुनाव लडेका थियौँ । त्यतिबेला जिल्लामा एक नम्बरको पार्टी बनायौँ । अहिले हामीले पाँच दलीय गठबन्धनलाई जितेर सर्वश्रेष्ठ पार्टी बनाएका छौँ । यस्तो अवस्थामा पार्टीलाई एक नम्बर बनायौँ । अब सधैंभरि गठबन्धन बन्दैन । यदि सबै मिलेर आए पनि जित्न सक्ने रहेछौँ । त्यसकै आधारमा हामीले दशकौँसम्मका लागि जग बसाल्यौँ भन्ने कुरा हो । 

सबै दल एकातिर हुँदा अब यो पटक चुनाव हार्छु कि क्या हो भन्ने लागेको थिएन तपाईंलाई ? 

त्यस्तो हुँदै भएन । हामीले स्थानीय चुनावको नतिजाले अब संघको चुनावमा एमालेले जित्छ भन्ने तयारी गरिसकेका थियौँ । हामीले धेरै मेहनत गर्‍यौँ ं । त्यसैले मैले हार्ने सम्भावना देखेकै थिएन । अलि धेरै मत अन्तरले जितिन्छ कि भन्ने लागेको थियो, तर कम मत अन्तरले जितियो, त्यतिमात्रै हो । 

पूर्व माओवादी समूहबाट चुनाव जित्ने दुई जनामा तपाईं एक हुनुहुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट कस्तो रेसपोन्स पाउनु भयो ? 

उहाँबाट राम्रै सहयोग भयो । किन भने उहाँले टिकट दिनुभयो । मैले सफलता पनि प्राप्त गरेँ । सबैलाई समेटेर अघि बढ्छौँ । 

पार्टी अध्यक्षसँग तपाईंले बधाई साटासाट गरेको देखिएन नि ?  

म हिजोमात्रै अध्यक्षलाई भेट्न गएँ । जिल्लाबाट ढिलोगरी आएँ । जिल्लाबाट निर्वाचित भएपछि सबै वडामा धन्यवाद दिन गइयो । हामीले चुनाव प्रचारको क्रममा जति मेहनत गर्‍यौँ, त्यत्तिकै धन्यवाद ज्ञापन गर्नमा समय खर्चियौँ । जितेर आउनुभयो, राम्रो भयो भन्नुभयो । उहाँले मिठाइ खुवाउनुभयो, खादा लगाइदिनुभयो । मैले पनि उहाँलाई धन्यवाद ज्ञापन गरेँ । 

माओवादीबाट एमालेमा गएका रामबहादुर थापा ‘बादल’ गुमनाम हुनुहुन्छ । प्रभु साहले पार्टी छाडेर छुट्टै समूह बनाउनुभयो । टिकट पाएकाहरूले चुनाव जित्न सक्नु भएन । अब एमालेमा पूर्व माओवादी समूह कमजोर भएको हो ? 

राजनीतिमा धेरै उतारचढाव आउँछन् । पार्टीमा सबैले टिकट पाउँदैनन् । त्यस्तो खालको परिस्थिति पनि नबन्न सक्छ । कतिपय पछाडि पर्छन्, कतिपय अगाडि जान्छन् । यो निरन्तर हुने प्रक्रिया हो । यसलाई कमजोर भन्न हुँदैन । जे जस्तो भए पनि पार्टी मजबुत भएको छ । पार्टी बलियो भएपछि व्यक्ति कसरी कमजोर हुन्छ ? 

पार्टीमा बादल, मणि थापा लगायतका नेताहरू असन्तुष्ट हुनुहुन्छ भन्ने छ, खास के हो ?  

खै ! मैले त्यस्तो देखेको छैन । नेताहरू कहिलेकाहीँ कार्यक्रममा कम सहभागी हुने कुरा हुन्छ । कतिपय अवस्थामा पार्टीको भित्री काम गरिरहनु भएको हुन्छ । यो युद्धको लडाइँ जस्तै हो । कहिले फ्रन्ट लाइनमा रहेर काम गरिन्छ, कहिले ब्याक सपोर्टर भएर गरिन्छ । 

प्रभु साह एमालेमा फर्किने सम्भावना छ ? तपाईंसँग कुरा भएको छ कि छैन ? 

प्रभुजीसँग कुरा भएको छैन । उहाँ मलाई विजय भएकोमा शुभकामना दिन आउनु भएको थियो । एक अर्कालाई बधाइ र शुभकामना दिने काम भयो । पार्टीमा प्रवेश गर्ने कि के गर्ने भन्ने विषयमा कुरै भएन । उहाँले के सोच्नु भएको छ भन्ने विषयमा पछि थाहा होला । 

माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतका दल मिलेर समाजवादी केन्द्र बनाउने कुरा पनि छ, त्यसले तपाईंलाई आकर्षित गरेको छैन ?  

त्यस्तो मलाई लाग्दैन । उहाँहरूले क्रान्तिकारी पार्टी, कम्युनिस्ट पार्टी बनाउनुभयो भने सकारात्मक रुपमै लिनुपर्छ । उहाँहरूले सोचेजस्तो समाजवादी केन्द्र बन्छ भन्ने लाग्दैन । यदि उहाँहरूले राम्रो पार्टी बनाउनुभयो भने शुभकामना दिउँला । 

प्रचण्डले बाबुरामसहित अन्य कम्युनिस्ट घटकहरूलाई जोडिरहनु भएको छ । अब सबै एक ठाउँमा हुने अवस्था बन्दै गएको छ नि ? 

प्रचण्डजीको जोड्ने र छोड्ने भइरहन्छ । मोहन वैद्य जस्तो ऐतिहासिक पृष्ठभूमि भएका नेता उहाँसँग हुनुहुन्न । सीपी गजुरेल, बादल, विप्लव, गोपाल किराती, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायत तिसौँ हजार जनमुक्ति सेनाले छोडेका छन् । आउने जाने क्रम जारी रहन्छ । उहाँको पार्टीमा जोडिने भन्दा छोड्ने मान्छेहरू बढी छन् । २०६४ सालको चुनावमा माओवादी एक नम्बरको पार्टी थियो । कांग्रेस र एमाले मिलाउँदा पनि नभेट्ने खालको पार्टी थियो । २०७० सालमा पुग्दा तेस्रो पार्टी भयो । २०७४ सालको चुनावमा एमालेसँग नमिलेको भए लास्टको लास्ट हुन्थ्यो । कांग्रेस सहित पाँच दलीय गठबन्धन बनाएर लड्नुभयो । आफ्नो स्थिति कमसे कम सुस्तसुस्त धान्न कोसिस गर्नु भएको छ । 

तपाईंहरूले पनि राप्रपा जस्तो पश्चगामी शक्तिसँग तालमेल गरेर यति सफलता पाएको त हो नि, हैन र ? 

गठबन्धन होइन, एकाध ठाउँमा सहकार्य गरेको देखिन्छ । त्यो पनि देशव्यापी रुपमा होइन । कतिपय निर्वाचन क्षेत्रमा सहकार्य भयो । मेरो निर्वाचन क्षेत्रमा राप्रपाले हलो चुनाव चिह्न लिएर लड्यो । हामीले गठबन्धन गरेका होइनौँ, सामान्य तालमेल मात्रै गरेका हौँ । 

मुख्य त लिडरसिपको कुरा हो । कसको लिडरसिपमा सहकार्य भयो भन्ने मुख्य प्रश्न हुन्छ । संयुक्त मोर्चा बनाएर तालमेल गर्ने कुरा धेरै फरक हो । कांग्रेसलाई दलाल पुँजीपतिहरूको पार्टी भन्ने गरिन्छ । उसैको नेतृत्वमा आफूलाई वामपन्थी भन्नेहरूले  गठबन्धन गर्ने कुरा यो विचित्रको तमासा भयो । नेपालको राजनीतिमा कांग्रेस समाजवादमा पुग्ने अवस्था छैन । त्यो महागठबन्धन भनेको आफ्नो अस्तित्व रक्षा र आफ्नो स्वार्थ पूरा गर्न लागेको हो भन्ने पुष्टी भइसकेको छ । 

यतातिर एमालेको नेतृत्व स्वीकार गरेर कतिपय ठाउँमा सहकार्य भयो । त्यसलाई बेठिक मान्न सकिँदैन । यता एमालेको नेतृत्वमा सहकार्य भएको छ भने उता कांग्रेसको नेतृत्वमा पुच्छर बन्ने अवस्था रह्यो ।

सीके राउत र राप्रपा भन्दा कांग्रेस थोरै भए पनि प्रगतिशील मान्न सकिएला नि ? 

राप्रपाले एमालेका केही क्षेत्रमा तालमेल मात्रै गरेको छ । उसले एमालेको नेतृत्वलाई स्वीकार गर्‍यो । त्यसमा विचारसँग कुनै सम्बन्ध छैन । नेतृत्व कसको थियो भन्ने कुरा महत्वपूर्ण हो । कसको नेतृत्वमा कहाँ पुग्ने भन्ने हो । नेतृत्व आफ्नो भएमा नीति, विचार र घोषणापत्र अनुसार अगाडि लग्न सकिन्छ । कांग्रेसको नेतृत्वका पछि लागेर गए कहीँ पुगिँदैन । 

यस्तो खालको परिस्थिति सबै केपी ओलीले सिर्जना गरेका हुन् भन्ने लाग्दैन ?

कम्युनिस्टको भोट लिएर चुनाव जित्ने, आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाएर विपक्षका नेतालाई प्रधानमन्त्री बनाउन हिँडे । यसरी हिँड्ने नेता र सांसदलाई कारवाही गरेर चुनावमा जाने लोकतान्त्रिक प्रक्रिया थियो । जनतामा जाने कुरा लोकतान्त्रिक अभ्यास मान्नुपर्छ । 

आफ्नै पार्टीको सरकार ढालेर विपक्षका नेतालाई प्रधानमन्त्री बनाउन हिँडेपछि त्यस्ता सांसदलाई कारवाही नगरेर के गर्नुहुन्छ ? उनीहरूलाई कारवाही गरेर चुनावमा जान्छु भन्नु लोकतान्त्रिक अभ्यास हो । जनताको जनादेश लिने कुरा राम्रो हो । सबै जनादेश कम्युनिस्टको पक्षमा छ । सरकार कांग्रेसको नेतृत्वमा बनाउन खोज्नेलाई के भन्ने हो ? अझ हुँदाहुँदा त्यसलाई पछि गएर प्रतिगमन भनियो । 

संसद विघटन भएर जीवित भएका सांसदहरूबाट सरकार बनाउन पाएनन् । सर्वोच्चले परमादेशबाट सरकार बनाइदियो । संसदको काम कानुन र सरकार बनाउने हो ।  अखिरमा अदालतको परमादेशबाटै सरकार बनाइयो । के गर्नुहुन्छ ?  

सर्वोच्चबाट यस्तो खालको आदेश आउँदा बेठिक, अनि अदालतबाटै पार्टी फुटाउँदा सही भन्ने हुन्छ ? अदालतले गरेका दुवै फैसलालाई एउटै आँखाले हेर्नुपर्ने होइन ?

अदालतले गरेका दुवै फैसला गलत हुन् । कुन पार्टीमा लाग्ने वा नलाग्ने भन्ने व्यक्तिको स्वतन्त्रताको कुरा हो । नेपालमा सर्वोच्च अदालतले यस्तो खालको तमासा देखायो, यस्तो गलत फैसला गर्‍यो कि एमाले एमालेतिरै जाउँ, माओवादी माओवादीतिरै जाऊ भन्यो । यस्तो खालको फैसला पनि हुन्छ ?

केपी ओलीले सेटिङमा पार्टी फुटाएको भन्ने छ नि ? 

विल्कुल गलत कुरा हो । यस्तो कुरा पनि हुन्छ ? सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीले  पार्टी फुटाउने भन्ने हुँदैन । तर, हामी अदालतको फैसला मान्न बाध्य भयौँ । 

किन विरोधमा सडकमा जानु भएन ? 

हामीले विरोध गर्‍यौँ । चर्को विरोध गरियो । तर भएन । सडकमा आएर सर्वोच्चसँग लडाइँ गरेर के गर्नुहुन्छ ? विरोध गर्दासम्म गरियो, अन्तिममा मान्न बाध्य भइयो ।  

एमालेमा गएपछि तपाईंहरूले १० वर्ष युद्ध लडेको स्वामित्व लिन नपाउने हुनुभयो, यस्तो हुँदा दुःख लाग्दैन ? 

त्यस्तो हुँदैन । मेरो बुझाईमा १० वर्षे जनयुद्ध ऐतिहासिक थियो । तत्कालीन राजतन्त्र फाल्न जनयुद्धले निर्णायक भूमिका खेलेको थियो । हामी माओवादी पार्टीमा नेतृत्वदायी भूमिकामा थियौँ । त्यो हाम्रो इतिहास छँदैछ । अब त्यो चाप्टर क्लोज भइसक्यो । अब जमाना बदलियो । हिजो निरंकुश राजतन्त्र फालेर गणतन्त्र ल्याउने कार्यदिशा र लक्ष्य थियो । अब त्यो लक्ष्य छैन । अब विकास र समृद्धिको लक्ष्य लिएर अघि बढ्ने हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीले लडेको जनयुद्ध कुहिएको फर्सीजस्तै हो, माओवादीले लहडमा युद्ध लडेका थिए भन्दा चित्त दुख्दैन ? 

व्यक्तिले भन्ने कुरा र पार्टीले लिने नीति अर्को कुरा हो । अब हामीले लडेर ल्याएको इतिहास कसैले मेटेर मेटाउन सक्दैन । हामीले विगतमा गरेको कामलाई कसैले मेटाउन चाहे पनि सक्दैन । अब इतिहास बन्यो बन्यो । हामीले एमाले र माओवादी एकता गरेर नेकपा बनाइयो । एकता गरेपछि अरु पार्टीको इतिहास मेटियो भन्ने हुन्छ ? नेकपापछि माओवादीतिर फर्किनेको इतिहास रहने, हाम्रो नरहने भन्ने हुँदैन । 

माओवादीमा हुँदा जति निर्धक्कसँग हामीले जनयुद्ध लडेर यो परिवर्तन ल्याएको भन्न जति सजिलो छ, एमालेमा छैन नि ?  

माओवादी भन्ने पार्टीलाई ब्युँताएर कामै छैन । माओवादी भन्नेहरू आफ्नै टाउकाको मूल्य तोक्ने कांग्रेसको पुच्छर भएर हिँड्दा के हुन्छ ? 

प्रचण्ड नेतृत्वको पार्टीमा बाबुरामसहित अन्य कम्युनिस्ट पार्टी जोडेर क्रान्तिकारी पार्टी बनाउने पहल भइरहेको छ, त्यसमा आकर्षित हुनु भएको छैन ? 

बाबुरामजी कहाँबाट चक्कर काटेर कहाँ पुग्नुभयो भन्नेतिर नजाउँ । बाबुरामजी माओवादी पार्टी छोडेर सोसलिष्ट पार्टी बनाउनु पर्छ भनेर हिँड्नु भयो । हिमालको काखमा भएको बाबुराम भारतको सीमामा पुग्नुभयो । अहिले त्यहाँबाट फर्किएर प्रचण्डतिर लाग्नु भएको छ । अझै पार्टी एकता गरेको होइन, सहकार्य गरेको भन्नु भएको छ । अलिअलि रोटी सेक्ने काम भइराखेको छ ।  त्यो ठिकै छ । उहाँले जे गर्नु भएको छ, त्यसमा अन्यथा ठान्ने कुरा भएन । उहाँहरूको स्वतन्त्रताको कुरा हो । अब प्रचण्ड, बाबुरामको आलोचना गर्नुपर्ने जरुरी छैन । 

प्रचण्डले सबै माओवादीहरू मिलौँ, राम्रो कम्युनिस्ट पार्टी बनाउँ भन्नु भएको छैन ? 

म पार्टी एकताको निरन्तरतामा छु । प्रचण्डजीले जहाँ लगेर छोड्नुभयो, हामी त्यहीँ छौँ । हामीलाई छोडेर कांग्रेससँग मोर्चाबन्दी बनाइराख्नु भएको छ । यसबाट प्रचण्डजी कहीँ पुग्नुहुन्न भन्ने मेरो विचार हो । 

के अब एमाले र माओवादी मिलेर वामपन्थी सरकार बन्ने अवस्था छ ? 

मान्छेले कहिलेकाहीँ गल्ती गर्न सक्छ । त्यसलाई करेक्सन गरेर अगाडि जाने कुरालाई स्वीकार गर्नुपर्छ । मेरो भनाइ नेपालका सबै कम्युनिस्ट एकीकृत र ध्रुवीकृत भएर एउटै कम्युनिस्ट पार्टी बनाउँदा राम्रो हुन्छ भन्ने छ । फेरि पनि वामपन्थीहरू मिल्ने सम्भावना छ । राजनीतिमा असम्भव भन्ने केही छैन । पार्टी एकता हुने र सरकार बन्ने कुरा असम्भव छैन । 

के वामपन्थी सरकार बन्ने संकेतहरू देखिएका छन् ? 

प्रचण्डजीहरूले भनिरहनु भएको छ । अब कम्युनिस्टहरू ध्रुवीकृत भएर सरकार बनाउनुपर्छ । उहाँले प्रस्तावहरू ओपन गरिराख्नु भएको छ । 

तपाईंको चाहना पनि एमाले र माओवादी मिलेर सरकार बनाइदिए हुन्थ्यो भन्ने हो ?  

वास्तवमा नेपालका कम्युनिस्टहरू मिलेर सरकार बनाउँदा हुन्छ भन्ने हो । अहिले पनि भन्न चाहन्छु । नेपालमा वामपन्थीहरूको वर्चस्व छ । कहिले कांग्रेसको पुच्छर हुने, कहिले अर्काको पुच्छर हुने भन्दा नेपालका कम्युनिस्टहरू एकीकृत भएर एउटै पार्टी बनाए हुन्छ भन्ने हो । 

अहिलेको यो निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने देखियो । सरकार बन्न नपाउने भयो । यसले देशमा अस्थिरता पैदा हुने सम्भावना बढेर गयो । देशलाई स्थिरतातिर लैजान संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्न जोडबल गर्नुपर्छ । हामीले प्रत्यक्ष कार्यकारी प्रमुख बनाउँदा राम्रो हुन्छ भन्ने लाग्छ । 

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान तपाईंकै पार्टी अध्यक्षले नै मान्नुहुन्न नि ? 

मान्ने नमान्ने यस्तै हो । नमान्ने कुरा मान्ने हुन्छ, मान्ने कुरा पनि नमान्ने हुन्छ । सधैं स्थिर हुन्छ भन्ने हुँदैन । निर्वाचन प्रणालीका कारणले देशमा अस्थिरता पैदा भइराखेको छ । त्यसबाट पाठ सिकेर देशलाई स्थिरतातिर लैजान प्रत्यक्ष निर्वाचित कार्यकारी नै उचित हुन्छ भन्ने लाग्छ । 

अहिलेको निर्वाचनबाट जुन परिणाम आइरहेको छ । यसले तीन खालका समस्या निम्त्याउँछ । यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ । त्यसपछि दुई ठूला पार्टी मिलेर विकास र समृद्धि ल्याउने काम गर्नुपर्छ । राजनीतिक स्थिरता दिन दुई पार्टी मिलेर सरकार बनाउने कोसिस गर्नुपर्छ । दोस्रो, गठबन्धनकै सरकार बनाउन कोसिस गर्नुपर्छ । तेस्रोमा एमाले र माओवादी मिलेर सरकार बनाउँदा हुन्छ । 

एमाले र माओवादी मिलेर सरकार बनाउने आधार के के छन् ?

सत्ता गठबन्धनको सरकार बनाउन निकै गाह्रो छ । पावर सेयरिङका कुरा छन् । विगतका काम कारवाहीलाई हेर्दा त्यति सन्तोषजनक छैनन् । गठबन्धन दलका सिट घट्दै गएका छन् । कांग्रेसलाई कम्युनिस्टहरूले भोट हालेनन्, नभए धेरै सिट आउँथ्यो भन्न थालेका छन् । 

कांग्रेस र माओवादी मिलेर सरकार बनाए भने एमाले ५ वर्ष सत्ता बाहिर बस्ने भयो भनेर पीर लाग्या त होइन ?  

हामीलाई विल्कुल कुनै पीर छैन । हामीलाई चिन्ता राजनीतिक स्थिरता नभएर देशले दुःख पाउँछ कि भन्नेमात्रै हो । देश विकास गर्न जुन समृद्धिको एजेण्डा छ, अब धरापमा परेर सबै अलपत्र पर्ने हो कि भन्ने चिन्ता छ । ओली नेतृत्वको सरकारमा राष्ट्रियताको सवालमा होस्, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित एजेण्डा होस् । ती सबै एजेण्डा अप्ठ्यारो अवस्थामा पुग्छन् कि भन्ने चिन्ता हो । नाकाबन्दी, भूकम्प र कोरोनाका बेला एमालेको सरकार हुँदा कामहरू तीव्र रुपमा अगाडि बढेका थिए । अब अलपत्र पर्छन् कि भन्ने चिन्ता हो । 

ओली नेतृत्वको सरकार हुँदा भ्रष्टाचार पनि तीव्र नै भयो भन्छन् नि ?   

त्यो विपक्षले भन्ने कुरा भयो । विपक्षले भनिरहन्छन् । विकासका कामहरू एकपछि अर्को गर्दै भइरहेका थिए । गठबन्धनको सरकार आइसकेपछि हेर्नुस्, देशको आर्थिक संकट चुलिँदो छ । 

आर्थिक संकट त कोरोनादेखि युक्रेन युद्धले पारेको असर भनिन्छ त ? 

कोरोना गएको धेरै भयो । कोरोना, नाकाबन्दी भूकम्प सबै गइसके । कोराना, नाकाबन्दीले जति आर्थिक संकट ल्याएको थियो, युक्रेन युद्धले त्यति प्रभाव पारेको छैन । 

आफू सत्तामा हुँदा सबै काम राम्रो देखिने, सत्ता बाहिर गएपछि अर्काले गरेको सबै काम खराब देख्ने राजनीतिक प्रवृत्ति नै छ नि, होइन र ?  

तथ्यले के बताउँछ भन्ने कुरा हो । हामी बिना पूर्वाग्रह राखेर कुरा गर्न सक्छौँ । नाकाबन्दीका बेला जति अडान लिएर झुकाएर छाडियो, यो रेकर्ड नै हो । राष्ट्रियताको सवालमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा राख्न सफल भइयो । ओली सरकारका बेला धरहरादेखि बसन्तपुर दरबार, रानीपोखरी लगायत धेरै संरचना बन्यो । देशैभर विद्यालय, स्वास्थ्य चौकी, सडकहरू कति बने, त्यसको हिसावै छैन । गठबन्धनको सरकार आएपछि सबैतिर अस्तव्यस्त छ । केही काम भएको छैन । हामी तथ्यमा जानुपर्छ । 

महँगी र भ्रष्टाचारले सीमा नाघिसक्यो । देशमा संकटै संकट छ । बजेटमा रकमान्तर गरिएको छ । बैंकमा गयो, आफूले राखेको समेत पैसा पाउन समस्या छ । देश आर्थिक रुपमा टाट पल्टिएको छ । पैसा कहाँ गयो ?

संघदेखि सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने स्थिति देखिन्छ । यस्तो अवस्थामा एमालेले के गर्छ ? 

हामी सकेसम्म कम्युनिस्टहरूको सरकार बनोस् भन्नेमा छौँ ।  यदि वामपन्थीहरूको सरकार नबनेमा एमाले प्रतिपक्षमा बसेर आफ्ना विषयहरू राख्छ । हामी यो देशको जीवनमरणको लडाइँ लडेर आएका मान्छेहरू हौँ । जीवनमा सरकारमा बसिन्छ भन्ने आशा नै गरेका थिएनौँ । जीवनभर लडेर देशमा परिवर्तन ल्याउने हो, यदि नसकेमा आउने पिढीलाई बाटो देखाउने हो भन्ने थियो । त्यस्तो अवस्थामा प्रतिपक्षमा बस्न के समस्या छ र ? एमाले प्रतिपक्षमा बसेर संगठन बलियो बनाएर आगामी ५ वर्षपछि जतिसुकै गठबन्धन भए पनि एक्लै बहुमत ल्याउँछ । 

अहिलेको निर्वाचनमा स्वतन्त्र पार्टी र युवाहरूको जुन आकर्षण देखियो, यसलाई कसरी लिनु भएको छ ?

बेलाबेला यस्ता खालका असन्तुष्टिहरू आइरहन्छन् । यसले दलहरूलाई सच्चिन मौका दिएको छ । यस्ता खालका असन्तुष्टिलाई सकारात्मक रुपमा लिनुपर्छ । मैले त्यसरी नै लिएको छु । यो असन्तुष्टिको अभिव्यक्ति मात्रै हो । यसमा कुनै राजनीतिक विचार र  दर्शन भन्दा पनि एक खालको असन्तुष्टि अभिव्यक्त भएको छ  । यस्तो खालको असन्तुष्टि लामो समयसम्म टिक्न गाह्रो हुन्छ । 

कुनै पार्टीको पछाडि विचार, राजनीति, योजना, कार्यक्रम हुन्छन् । तर उनीहरूमा त्यस्तो खालको कुनै अभिव्यक्त भएको देखिँदैन । यो नेगेटिभ भोट मात्रै हो । असन्तुष्टि पैदा गरेर भोट मागेर आएको मात्रै हो । 

हामीले काम गर्न सकेनौँ, त्यसैले स्वतन्त्रहरू आए भन्ने लाग्दैन ? 

हामीले काम गर्न नसकेर भन्ने होइन । हामीले काफी काम गरेका छौँ । राणा, पञ्चायत, कांग्रेस धेरैका शासन भोगियो । त्यतिबेला देश रसातलमा थियो । हामी वास्तवमा भन्ने हो भने ढाकरमा नुन, तेल बोकेर खान्थ्यौँ । मधेसबाट खाली खुट्टामा नुन तेल बोकेर खाइन्थ्यो । पछिल्लो समय मान्छेहरूले ढाकरमा बोक्ने भन्ने कसैले बुझेको छ ? अहिले गाउँगाउँमा गाडी पुगेका छन् । मान्छेले सामान बोक्नु परेको छैन । हामीले बिजुली नभएर टुकी बोलेर जीविका चलाउँथ्यौँ । अहिलेका बच्चालाई टुकी भन्ने थाहा छैन । गाउँगाउँमा बत्ती गएको छ । हामीले धेरै काम गरेका छौँ, त्यही पनि असन्तुष्ट छ, त्यसलाई सम्बोधन गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप