बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुले संघीय संसदको चुनाव हार्दा नगर प्रमुख छोराले ६४ कर्मचारी हटाए

बुधबार, २१ मङ्सिर २०७९, १० : २९
बुधबार, २१ मङ्सिर २०७९

रौतहट निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार रहेका उद्योगपति ओमप्रकाश जैसवाल पराजित भएपछि उनका छोरा कटहरिया नगरप्रमुख अजयप्रकाश जैसवालले एकै दिनमा ६४ जना कर्मचारीलाई हटाएका छन् । 

एमालेको साथ पाएका तर नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका ओमप्रकाश अर्का स्वतन्त्र उम्मेदवार प्रभु साहसंग ७ हजार बढी मतको अन्तरले पराजित भएपछि मेयर जैसवालले कटहरिया नगरपालिकामा करारमा कार्यरत ६४ जना कर्मचारीलाई एकै दिन हटाएका हुन । 

यसरी हटाइएको कर्मचारीमा  सफाइ कर्मचारी, स्वास्थकर्मी, इन्जिनियर लगायतका रहेका छन् । गत १४ गते बसेको नगरपालिकाको बोर्डको निर्णय अनुसार उनीहरुलाई हटाइएपछी कैयौं कर्मचारीले आफूमाथि अन्याय भएको भन्दै विरोध समेत गरेका थिए । सफाइ कर्मचारी शम्भु मरिक डुमले पछिल्लो ५ वर्ष भन्दा बढि समयदेखि आफू कार्यरत रहेको अवस्था हटाएर आफूमाथि अन्याय गरेको गुनासो गरेका छन् । 

करारमा रहेका ६४ जना कर्मचारी हटाइए पनि कटहरिया नगरपालिकामा अझै एक सय भन्दा बढी कागजी कर्मचारी घर बसिबसी तलब खाइरहेको वडा ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताएका छन । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उधोगपती ओमप्रकाश जैसवाल प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि उनका छोरा अजयप्रकाश जैसवालले मतदातालाई प्रभावमा पार्न कटहरिया, गरुडाको विभिन्न वडाका १७० जनालाई करार सेवाको कर्मचारीको रूपमा पुरानो मिति अर्थात् गत साउन देखिको मितिमा नियुक्त गरेका थिए ।

कटहरिया नगरपालिकामा कार्यरत करारका अधिकांश कर्मचारी गत निर्वाचनमा महागठबन्धनका उमेदवार ओमप्रकाश जैसवालको प्रचारप्रसारमा खुलेर हिँडेका थिए।

कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले पनि १७० जना कर्मचारी करारमा भर्ना भएको स्वीकार गरिसकेका छन । तिवारीले रातोपाटीसँग कुरा गर्दै गत साउन महिनाको मितिदेखि उक्त कर्मचारी भर्ना भएको बताएका छन् । 

कटहरिया नगरपालिका वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जनताको रगत पसिनाबाट आएको विकास निर्माणको बजेटलाई मेयर जैसवालले जथाभाबी आफ्नो बुबाको चुनावमा खर्चिनु अन्याय भएको भन्दै यसको सत्य तथ्य छानबिन गर्नुपर्ने माग गरेका छन् ।

करार सेवाका भनिएका १७० जना मध्ये २० जना कर्मचारी पनि कहिले कतै नदेखिनुले उनीहरुलाई घरमै बसीबसी तलब लिइरहेको प्रष्ट हुने वडा अध्यक्ष यादवको दाबी छ । उता कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालसँग सम्पर्क हुन नसके पनि नगर प्रवक्ता तथा कार्यपालिका सदस्य मनोज कुमार जैसवालले नगरपालिकामाथि आर्थिक भार बढेकाले ६४ जना करारका कर्मचारी हटाइएको र बाँकी सबै आ-आफ्नो काममा कार्यरत रहेको दाबी गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप