मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनको निर्मम समीक्षा

बुधबार, २१ मङ्सिर २०७९, ११ : २७
बुधबार, २१ मङ्सिर २०७९

निर्वाचनको निर्णायक परिणाम आइसकेको छ । यसपालीको निर्वाचनमा केही अस्वाभाविक तस्विरहरु पनि देखिएको छ । नयाँ पार्टीहरुले अनपेक्षित परिणाम हात पारेको छ । यसवारे विभिन्न कोणहरुबाट चर्चा परिचर्चा भइरहेको छ ।

सवैले आआफ्नो दृष्टिकोण र वुझाई अनुरुप धारणाहरु वनाइरहेका छन् । पार्टीहरुले गर्न नचाहेको, नसकेको र कार्यक्रमै नभएको भन्दै यसै प्रतिको वितृष्णा र असन्तुष्टि भनिरहेका छन् ।

यसै क्रममा कसैले विचार र सिद्धान्त विनाको उपभोगवादी आवेग भनेका छन् । कसैले माहौल र हल्लाखल्लाको कुरा गरिरहेका छन् । कसैले पुस्तान्तरको कुरा गरिरहेका छन् । धेरैले वस्तुवादी आधार, कार्यदिशा र कार्यक्रम विना अमूक र वनीवनाउ विकास, समृद्धि, भ्रष्टाचाररहित काल्पनिक समाजको वकालत गरिरहेका छन् । तर निर्वाचनको सारभूत समीक्षा यतिले मात्र पुग्दैन । यस लेखमा केही समीक्षा गर्ने प्रयत्न गरिएको छ ।

प्रणालीमा समस्या

 नेपालको सिंगो अर्थराजनीतिक प्रणालीमा थोरवहुत समस्या रहेको छ । प्रणाली भनेको पानीको मुहान जस्तो हो । स्वस्थ्य पानी पिउन मुहान सफा राख्नै पर्दछ ।  यसकारण हाम्रो अर्थराजनीतिक अस्वस्थ्यता र खराबीहरुको दीर्घकालिक समाधनको लागि प्रणाली नै स्वस्थ्य र सफा राख्न जरुरी छ ।

अर्थराजनीति भनेको कुनैपनि खास समाजको प्रधान पक्ष हो । हामी माझ शासकीय प्रणालीमा समस्या छ । जताततै निजत्व र आत्मकेन्द्रीत व्यक्तिवाद हावी छ । चरम स्वार्थ र महत्वाकाङ्क्षा डरलाग्दो छ । जसरी पनि जित्ने, कमाउने र नाफा आर्जन गर्ने अर्थराजनीतिक प्रणाली छ ।

शैक्षिक प्रणालीमा समस्या छ । स्वस्थ्य प्रणालीमा समस्या छ । आर्थिक प्रणालीमा समस्या छ । सामाजिक तथा साँस्कृतिक प्रणालीमा खोट छ । कुटनीतिक प्रणालीमा त्रुटी छ । सिंगो अर्थराजनीतिक प्रणाली उत्पादनमुलक, वस्तुवादी र भरपर्दो छैन ।

 यसरी मूल प्रणालीमै समस्या भएपछि तपसिलका अन्य सामाजिक आयाम स्वस्थ्य हुन सक्दैन । सिंगो अर्थराजनीतिक, सांस्कृतिक तथा सामाजिक  आयामहरु विरामी पर्दछ । यस्तो वेला कुनै वस्तु वा सत्ता थिति, विधि, मूल्यमान्यता र दृष्टिकोणद्वारा निर्देशित हुँदैन ।

मूल प्रणालीमा अन्तरनिहीत खराबीहरु समाजको स–साना इकाइहरुमा पनि व्यक्त हुन्छ । यसरी इकाइहरुमा अभिव्यक्त समस्या वा खराबीहरुलाई जनस्तरबाट पनि अनुभूति गरिन्छ । तर सर्वसाधारण नागरिकले इकाइमा देखिएको समस्यालाई मूल अर्थराजनीतिक प्रणालीमा अन्तरनिहीत समस्याको उपज भनेर बुझ्ने हैसियत छैन । 

तब उनीहरु अंशगत रुपमा कुनै अमूक पार्टी वा नेताहरुसँग रुष्ट हुन्छन् । अर्को पार्टी वा पात्रलाई बनीबनाउ रुपमा विश्वास गर्छन् । अर्थात् समग्रलाई नजरअन्दाज गर्दै अंशमा तरङ्गित हुँदै समाधान खोज्छन् । अर्थवहादुरहरुले गरेन भन्दै उस्तै अर्थराजनीतिक प्रणालीद्वारा निर्देशित धनवहादुरहरुलाई विकल्प देख्न थाल्दछन् । निर्वाचनमा अभिव्यक्त परिणाम यसैको उपज हो ।

पार्टी वा नेताप्रतिको असन्तुष्टि

पछिल्लो समय राजनैतिक पार्टी र नेताप्रति आम नकारात्मक दृष्टिकोण बन्दै गइरहेको छ, यो राम्रो कुरा होइन । वस्तुतः पार्टी र नेताको विकल्प अझ प्रगतिशील पार्टी वा नेता नै हुनुपर्दछ । कुुनै अमूक व्यक्ति यसको बनीबनाउ विकल्प भएपनि सही विकल्प हुँदैन ।

तर पार्टी वा नेताहरुले आप्mनो प्रतिवद्धता र रणनैतिक लक्ष्यअनुरुप राजनैतिक कार्यक्रमहरु अघि वढाउन नसक्दा सिंगो पार्टी र लामो आन्दोलनहरुबाट स्थापित नेताहरुको विकल्प कुनै अमूक व्यक्तिलाई बनाउन थालिएको छ । यो सरासर गलत हुन्छ ।

यद्यपि पार्टी र नेताहरुले आप्mनो आधारभूत राजनैतिक कार्यदिशा, कार्यक्रम, उद्देश्य र प्रतिवद्धताअनुरुप विचलित नभइ निरन्तर अघि वढ्नुपर्दछ । अन्यथा यस्तै अनपेक्षित हावा हुरी चल्ने नै छ, जुन हाम्रो समाजको वस्तुवादी र वैज्ञानिक समाधान होइन ।

मतदाताहरुले पार्टी र नेताहरु प्रतिको असन्तुष्टि र आवेग मात्रै पोखेका हुन् भने केही छैन । पार्टी र नेताहरु रुपान्तरण हुँदै जाँदा त्यो असन्तुष्टि र आवेग स्वतः मत्थर हुँदै जान्छ । हामीले हाम्रो जीवन व्यवहारहरुलाई सच्याएर अझ उन्नत बाटोको गन्तव्य तय गर्नैपर्दछ ।

अब पनि हामीले गल्ती कम्जोरीलाई सुधारेर जनखवरदारीलाई आत्मसात गरेनौं भने त्यसको महँगो मूल्य चुकाउनु पर्नेछ । तर उनीहरुले पार्टी र नेताहरुको विकल्प नै कुनै अमूक पार्टी वा स्वतन्त्रहरुलाई ठानेका हुन् भने त्यो वैचारिक दरिद्रता र पटमुर्खता मात्र हुन्छ ।

यसकारण पार्टी वा नेताहरुले पनि नेपाली अर्थराजनीतिमा व्याप्त विकृति र विसंगतिहरुलाई निस्तेज गर्नै पर्दछ । नत्र सही बाटो नभए पनि मतदाताहरु झनै भड्किने र वहकिने खतरा देखिन्छ ।

एजेण्डा संस्थागत नहुनु

 निश्चित उद्देश्य र परिणामको लागि तमाम् राजनैतिक एजेण्डाहरु स्थापित भएको हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका सवै अग्रगामी एजेण्डाहरुको कार्यान्वयनसँगै गुणात्मक उपलब्धिहरुको अपेक्षा गरिएको थियो । विद्यमान समस्याहरुको साङ्गोपाङ्गो हलको साधन ठानिएको थियो । जनता निकै आशावादी भएका थिए ।

तर आन्दोलनको सिलसिलामा जे उद्देश्य राखेर एजेण्डाहरु उठान गरिएको थियो, कार्यान्वयनमा जाँदा त्यस्तो भएको देखिदैन । यसरी एजेण्डा संस्थागत गर्नु भन्दा उल्टै  अपव्याख्या र भ्रष्टीकरण  गरिनु नै संस्थागत नहुनु हो । यसरी एजेण्डा संस्थागत नुहुनु भनेको एजेण्डा हार्दै जानु हो । जनताका परिवर्तन, न्याय र समानतासम्वन्धि चिन्ता र चासोका विषयहरुहरु रक्षात्मक हुँदै जानु हो । तव जनतामा निराशा वढ्दै जान्छ ।

 नेपाली राष्ट्रिय राजनीतिमा स्थापित सबै अग्रगामी एजेण्डाहरु आप्mनो आधारभूत राजनैतिक मर्म र भावनाअनुरुप कार्यान्वयन नहुनुले पनि मतदाताहरुमा निकै विचलन आएको देखिन्छ । यसरी एजेण्डाले आप्mनो धरातल छोडेपछि तमाम् मतदाताहरुमा विचलन आउनु स्वभाविकै हुन्छ । 

वास्तवमा एजेण्डाहरुले आप्mनो सारभूत राजनैतिक सार गुमाउँछ भने त्यहाँ विचार र दृष्टिकोणको केन्द्रीकरण हुँदैन । विचार केन्द्रीकरण विना आन्दोलन केन्द्रीकरण हुँदैन । तव एजेण्डागत गुरुत्वकेन्द्र बाहिर मतदाताहरु चिलविलको अवस्थामा पुग्दछन् । त्यस्तो विचलित मतदाताहरुले कसलाई रोज्छन् कुनै अनुमान लगाउन सकिन्न । तसर्थ एजेण्डाहरुको सही र वस्तुवादी व्यवस्थापन गरेर सिंगो मतदाताहरुलाई भड्किनुबाट जोगाउनु पर्दछ ।

उपभोगवादी संस्कृति

 पुँजीवादी अर्थराजनीतिमा उपभोगवाद हावी हुन्छ । यस्तो संस्कृतिले नेतृत्व गरेको समाजमा सिद्धान्त, विचार, दृष्टिकोण, मूल्यमान्यता, विधि र प्रक्रिया प्रधान हुँदैन । मूलतः विचार र राजनीति प्रधान हुँदैन । यस्तो वेला विचार र दृष्टिकोण भन्दा पनि औसत औपचारिक र आडम्वरी संस्कृतिले समाजको नेतृत्व गर्दछ । तव मतदाताहरु पनि निश्चित विचार र दृष्टिकोणमा बाँधिदैनन् । उनीहरु सामान्य हल्लाखल्ला र प्रचारवाजीकै भरमा तरङ्गित हुन्छन् ।

वस्तुवादी, वैज्ञानिक र व्यवहारिक भन्दा पनि अवस्तुवादी, बनीबनाउ, काल्पनिक, अव्यवहारिक र आडम्वरी क्रियाकलापहरु निर्णायक हुन पुग्दछ । यसरी सिद्धान्त र विचारको डोरोले नेतृत्व नगरेको समाजमा मतदाताहरु असाध्यै अस्थीर हुन्छन् । असाध्यै संवेदनशील हुन्छन् ।

आजको विश्व मानव समाजलाई उपभोगवादले नेतृत्व गरिरहेको छ । यस्तो समाजमा सारभन्दा रुप प्रधान हुन्छ । विचारभन्दा भीडभाड प्रधान हुन्छ । एजेण्डाहरु भन्दा हल्लाखल्ला निर्णायक हुन्छ । पद्यतिभन्दा आत्मकेन्द्रीत स्वार्थगत हर्कतहरु हावी हुन्छ । त्यसैले मतदाताहरु वहकिनुमा उपभोगवादी संस्कृति पनि जिम्मेवार रहेको छ ।

नकारात्मक भाष्य

 आज नेपाली अर्थराजनीतिमा सकरात्मकता र सिर्जनशीलता हराएको छ । सिंगो सामाजिक भाष्य नकरात्मकतामा अडेको छ । यस्तो समाजमा कुनै पनि वस्तु वा सत्ताप्रतिको हेर्ने दृष्टिकोण नै नकारात्मक हुने गर्दछ  । नकारात्मकता र सकारात्मकतालाई वस्तुवादी र तथ्यमा आधारित भएर होइन, केवल आग्रह र पूर्वाग्रहद्वारा निर्देशित गर्ने परम्परा छ ।

एकले अर्कोलाई तथानाम गालीगलौज गरेर आप्mनो छवि वनाउने गलत परम्परा छ । अरुको भन्दा आप्mनो एजेण्डा, कार्यदिशा, कार्यक्रम र कार्ययोजना जनपक्षीय रहेको दावासहित जनतामा पेश हुने प्रचलन छैन ।

यसकारण हामी उनीहरुभन्दा सही छौ भन्नु पर्नेमा यहाँ त अरुलाई गाली गरेर, खोइरो खनेर अनि भएको नभएको सवै लाञ्छना लगाएर आप्mनो धरातल वनाउने चलन छ, जुन क्रम विगतदेखि नै थियो । आज झन् बढिरहेको देखिन्छ ।

 एउटा पार्टीले अर्को पार्टीविरुद्ध राजनैतिक एजेण्डा, विचार, दृष्टिकोण, कार्यदिशा, कार्यक्रम र कार्ययोजनाहरुमाथि प्रश्न उठाएर आप्mनो धरातल बनाउने राजनैतिक संस्कार छैन । हामी यसकारण सही छौं भनेर दावाको साथ प्रस्तुत हुने आधार छैन ।

यही मेसोमा पछिल्लो समय राजनैतिक पार्टीहरुलाई तथानाम गाली गरेर स्वतन्त्र पार्टी र अन्य केही स्वतन्त्र व्यक्तिहरुले आपफूलाई सही सिद्ध गर्न खोजिरहेका छन् । यसमा कतिपय त आधारहिन र तथ्यहीन आरोपहरु मात्रै पनि होला ।

यद्यपि विना विचार नकरात्मकताद्वारा निर्देशित समाजमा कसैमाथि गरिएको गालीको स्वाद वा प्रचारमा रमाउने चलन छ । तुरुन्तै धारणा वनाइन्छ अनि निर्णय लिने गरिन्छ । चलन मात्र होइन, यही भावनामा मनोविज्ञानहरु समेत फेरवदल हुने गर्दछ । यसरी नकरात्मकतामा आधारित सामाजिक भाष्यमा दलहरुप्रतिको आलोचना र लाञ्छानाकै सहारामा मतदाताहरु अन्यत्र वहकिएको देखिन्छ ।

चरम् स्वार्थ र महत्वाकाङ्क्षा बढ्नु      

नेपालमा भए गरेका ठूल्ठूला राजनैतिक आन्दोलनहरुको कारण आम सर्वसाधारणमा नाटकीय रुपमा राजनैतिक सचेतना आएको छ । यो सुखद अनि गर्वको विषय हो । तर यो सचेतनालाई उन्नत सामाजिक व्यवस्था निर्माणमा उपयोग गर्न सकिएको छैन ।

 अर्थात् यस्ता सचेतनालाई सुहाउँदो राजनैतिक एजेण्डाहरुको छहारीमुनि व्यवस्थापन गर्दा मात्रै उपलब्धिपूर्ण वा उत्पादनमुलक हुन्छ । अन्यथा ती सचेतनाहरु केवल आत्मकेन्द्रीत चरम् महत्वाकाङ्क्षा र चरम् स्वार्थहरुमा अभिव्यक्त हुन थाल्दछ ।

आज यही नियम वमोजिम तमाम् नागरिकमा महत्वाकाङ्क्षा र स्वार्थ उत्कर्षमा पुगेको छ । उनीहरु विभिन्न सुगरकोटेड नारा र वाचाहरुसहित स्वार्थसिद्धिको मैदानमा निस्किएका छन् ।

सुनिदैछ, अलि वढी स्वतन्त्रहरु देशी तथा विदेशी शक्तिकेन्द्रहरुद्वारा सञ्चालित छन् । कतिपयहरु सांसद र मन्त्री जस्ता प्रतिष्ठित पदका भोकमा उदाएका छन् । अनि कतिपयहरु राजनैतिक पार्टीहरुले केही गर्न सकेन भनेर, केही गर्न सकिन्छ कि भनेर सदिच्छा राख्नेहरु पनि छन्, जो असाध्यै थोरै छन् । यसले पनि मतदाताहरुलाई भड्काएको देखिन्छ ।

वैचारिक मतदाता नहुनु

 वर्तमान राष्ट्रिय राजनीतिलाई विचार, दृष्टिकोण, एजेण्डा, कार्यदिशा, कार्यक्रम र कार्ययोजनाले नेतृत्व गरिरहेको देखिदैन । यस्तो वस्तुगत धरातलमा राजनैतिक रुपमा सचेत वा अचेत सवै मतदाताहरुको मनोविज्ञानलाई राजनीतिले दिशानिर्देश गरिरहेको हुँदैन ।  यसमा विचार राजनीतिभन्दा पनि औसत रुपवादी माहौल, हल्लाखल्ला, स्वार्थ र महत्वाकाङ्क्षाहरुले कमाण्ड गर्दछ ।

निर्दिष्ट विचार भन्दा पनि कसैको लहैलहै र भीडभाडको प्रभाव निर्णायक हुन्छ । आप्mनो व्यक्तिगत लाभ–हानीमा राजनैतिक मूल्य र आस्थाहरु लिलाम हुने गर्दछ । यही सच्चाइको कारण आज अधिक मतदाताहरुमा एकाएक अनपेक्षित निर्णय लिने क्रम बढिरहेको छ । यसले हामीलाई उन्नत विकल्प पनि दिदैन । साथै सही गन्तव्यमा पनि पु¥याउँदैन । अर्थात् मतदानमा वैचारिकताको लगाम कमजोर हुनाले पनि मतदाताहरु वहकिएको देखिन्छ ।

 त्यसैले यो निर्वाचनको निर्मम समीक्षा गर्दा हाम्रो अर्थराजनीतिमा अन्तरनिहीत विद्यमान प्रणालीगत समस्याहरुको निदान गर्नु पहिलो कार्यभार हो । पार्टी तथा नेताहरुले जनअपेक्षा अनुरुपको कार्यशैली र जीवनशैली तुरुन्तै लागु गर्नु अनिवार्य हुन्छ । जनताले औंला ठडाउने ठाउँ दिनु हुँदैन ।

विगतमा भएका कमी कम्जोरीहरुबाट पाठ सिक्न जरुरी छ, तबमात्र जनतामा उनीहरु प्रतिको असन्तुष्टि र आवेग मत्थर हुुनेछ । आन्दोलनबाट स्थापित अग्रगामी एजेण्डा अनुरुपको सही व्यवस्थापन गर्नुपर्दछ । नकरात्मकमा आधारित भाष्यलाई निस्तेज गर्दै सकारात्मक संस्थागत गर्नुपर्दछ ।

त्यस्तै, उपभोगवादी संस्कृतिको ठाउँमा वैज्ञानिक अर्थराजनीतिक संस्कृति निर्माण गर्नुपर्दछ । अस्थीर मतदाताहरुलाई आवश्यक प्रशिक्षण दिनुपर्दछ । जनतामा बढिरहेको निकृष्ट स्वार्थ र महत्वाकाङ्क्षालाई प्रोत्साहन गर्नु हुँदैन । आवश्यक स्कूलीङमार्पmत् वैचारिक वा प्रतिवद्ध मतदाताहरु बढाउनु पर्दछ, जो अरु औसतभन्दा दृढ हुन्छन्, तब मात्र उन्नत समाज स्थापना गर्ने ऐतिहासिक प्रक्रिया उपलब्धिपूर्ण हुन्छ । सही र अपेक्षित निर्वाचन परिणामहरु हासिल गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप