शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा १० दलले कटाए थ्रेसहोल्ड

बुधबार, २१ मङ्सिर २०७९, ११ : ३६
बुधबार, २१ मङ्सिर २०७९

प्रतिनिधि सभा र प्रदेश सभा गरी कुल ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा १० वटा राजनीतिक दलले समानुपातिकमा थ्रेस होल्ड कटाएका छन् । लुम्बिनीमा प्रत्यक्षतर्फ भने आठवटा राजनीतिक दलले चुनाव जितेका छन् । समानुपातिकमा थ्रेस होल्ड पार गरेका १० राजनीतिक दलको प्रदेशसभामा प्रतिनिधित्व हुनेछ । संविधानको व्यवस्था अनुसार प्रदेशमा ‘थ्रेस होल्ड’ पार गर्न कुल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ ।

लुम्बिनीेमा ३२ दलले चुनावमा भाग लिएकामा १८ लाख ८७ हजार ७८ मत सदर भएको थियो । जसमा १० वटा दलले २८ हजार ३०६ मत (१.५ प्रतिशत) ल्याएर थ्रेसहोल्ड कटाएका छन् । १० दलले पाएको १७ लाख ७७ हजार ७२० मतलाई ३५ सिटमा भाग लगाउँदा सबैभन्दा धेरै (३० प्रतिशत) ५ लाख ७० हजार ९२१ मत पाएको नेकपा एमालेले ११ सिटसम्म भाग पाउनेछ ।

दोस्रोमा कांग्रेसले २६ प्रतिशत ९ लाख ९९ हजार ९८६ मत ल्याएको छ । उसले ९ देखि १० सीटसम्म भाग पाउनेछ । १० प्रतिशत १ लाख ९८ हजार ४५० मत पाएको नेकपा माओवादी केन्द्रले ५ वटासम्म सिट पाउनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीले (६ प्रतिशत) १ लाख २७ हजार ४५२ मत ल्याएर दुई सिट पाउनेछ । (६ प्रतिशत) १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको नागरिक उन्मुक्ति पार्टीले पनि दुई सीट पाउनेछ । (४ प्रतिशत) ८१ हजार ६०५ मत पाएको जनमत पार्टीले एक सीट पाउँदा (३ प्रतिशत) ६० हजार ८८६ मत ल्याएको जनता समाजवादी पार्टीले पनि एक सिट पाउनेछ ।

यहाँ ‘थ्रेस होल्ड’ कटाएका एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक एक सीट पाउनेछन् । प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सिट जितेका थिए । 

माओवादीबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएर तीन जनाले, जनमत पार्टीले एक सिट जित्दा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कुनै सिट जित्न सकेनन् । तर, सरकार गठनका बेला बहुमत जुटाउन भने निकै कठिन हुने देखिएको छ । ८७ सदस्यीय प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनको पनि बहुमत छैन भने सबैभन्दा ठूलो दल एमालेलाई पनि बहुमत जुटाउन कठिन छ । यो अवस्थामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक हुने भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप