शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसानहरूसँगको धान खरिद प्रक्रिया अविलम्ब अघि बढाउन माग, आन्दोलनको चेतावनी

बुधबार, २१ मङ्सिर २०७९, १४ : २३
बुधबार, २१ मङ्सिर २०७९

नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । बुधवार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । 

महासङ्घहरूले हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन् ।  आफ्ना माग पूरा नभए किसान महासंघहरु देशभरका किसान परिचालन गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत कार्तिक १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ निर्धारण गरेको थियो । गत वर्षको भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भए पनि लागत मूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ नपुग्ने महासङ्घहरूले जनाएका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय सदस्य आदर्श कार्कीले मङ्सिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरु नगरेकाले किसानहरू व्यपारीहरुलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भइरहेको बताए । उनले धान खरिदका लागि आवश्यक बजेट निकासा नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको विषयमा चासो नदेखाएको बताए । सरकारले धान खरिदका लागि ल्याएको नीतिगत व्यवस्था किसानलाई झुक्याउन मात्रै ल्याएको आरोप लगाए । उनले आफ्नै घोषणा र प्रतिबद्धताअनुसार धान खरिद नगर्नु सरकारको असक्षमता रहेको बताए । 

पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले अहिलेसम्म पनि धान खरिद प्रक्रिया अघि बढ्न नसक्नु किसानका लागि विडम्बनाको विषय भएको बताए । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न सक्ने स्थिति नरहेको बताए । उनले अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको कुरा आएको भन्दै बजेट निकासा गरी तत्काल किसानसँग धान खरिद गर्नुपर्ने बताए । उनले करिब १० लाख मेट्रिक टन धान खरिद गर्ने तागत सरकारले राख्नुपर्ने बताए । 

महासङ्घहरूले आगामी दिनमा किसानका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि जनाएका छन् । आम किसानलाई संघर्षमा उत्रिनका लागि आह्वान गर्दै देशव्यापी किसान महासंघका संगठन परिचालन गर्ने, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, उद्योगमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका मुलुकभरका शाखा कार्यालय तथा डिपोहरूमा मङ्सिर २५ गते धर्ना दिने र तालाबन्दी गर्ने, देशभर विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, र्‍याली तथा सभाहरू आयोजना गर्ने, निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद गर्ने प्रक्रिया सुरु नगरे दोस्रो चरणका संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने महासंघहरुको चेतावनी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप