शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोलेन्द्रलाई ‘क्लिन चिट’ दिने संघीय संसदका महासचिवमाथि कारवाही हुन्छ : माओवादी केन्द्र

बुधबार, २१ मङ्सिर २०७९, १५ : ४८
बुधबार, २१ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संघीय संसदका महासचिव भरतराज गौतमले संविधानको गम्भीर उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग महासचिव गौतमले बुधबार निष्प्रभावी भएको भन्दै ‘क्लिन चिट’ दिएका थिए । पूर्वकानुनमन्त्री समेत रहेका नेता देव गुरुङले संसदको सार्वभौम अधिकार र गरेको निर्णयलाई एउटा कर्मचारीले निर्णयमा लैजान नसक्ने बताए । 

‘महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीशलाई दिएको पत्र संवैधानिक मान्यता विपरीत छ । संसदको क्षेत्राधिकारको पनि हनन भएको छ’, गुरुङले रातोपाटीसँग भने, ‘महाभियोगका बारेमा संविधानले किटानीका साथ  प्रतिनिधि सभाले निर्णय गर्नुपर्ने भनेको छ ।’

उनले पुरानो प्रतिनिधि सभा नरहेको र नयाँ गठन भैनसकेको अवस्थामा महासचिवले जसरी पत्राचार गरेका छन् त्यो बेठीक मात्रै नभइ संविधानमाथिको ‘कु’ नै भएको बताएका छन् । 

‘त्यसैले यो प्रकरण संविधानमाथिको हमलाको श्रृंखलाकै एउटा कडी हो भन्ने पनि लाग्छ’, नेता गुरुङको भनाइ छ ।
 साथै गुरुङले संविधानको उल्लंघन गरेकाले महासचिव गौतममाथि संसदले कारबाही गर्ने पनि बताए । ‘उहाँलाई संसदले नै कारबाही गर्छ । संविधान उल्लंघन गरेको अवस्थामा महासचिव गौतम कारबाहीको दायरामा ल्याउनै पर्छ’, गुरुङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप