विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

मधेसीहरू कहिलेसम्म अपहेलनामा ?

बुधबार, २१ मंसिर २०७९, १६ : ५४
बुधबार, २१ मंसिर २०७९

मधेसीहरू यो देशका नागरिक हुन् । तर मधेसीको राष्ट्रियतामाथि पटक पटक तेजाब छर्किने काम भइरहेको छ । मधेसीलाई दोस्रो दर्जाको नागरिकको ट्याग लगाइएको छ ।

दुई साता पहिलेको कुरा हो । काठमाडौं, थापाथलीस्थित वागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीको टहरा भत्काउन नगरप्रहरी पुगे । सुकुम्बासीहरू त्यसको चर्को प्रतिकार गर्दै प्रहरीमाथि ढुंगामुढा पनि गरे । यसैबीच त्यस आन्दोलनमा सहभागी केही सुकुम्बासीहरूले काठमाडौं महानगरपालिका प्रमुख बालेन साहलाई ‘मधेसी....’ कहाँ कहाँबाट आएर हामीमाथि शासन गर्नेे भनेर रिस पोखे ।

यस्ता अपमानजनक आक्रोशित अभिव्यक्तिले बालेनलाई मात्र नभएर पुरै मधेसी समुदायलाई विक्षिप्त बनायो । सुकुम्बासीको झगडा महानगर सँगको हो, बालेनको पद सँगको हो । बालेनको  जात, समुदायसँगको होइन, मधेससँग होइन । तर पनि मधेसीलाई लक्षित गरी बालेनलाई गाली गरियो । मधेसीको राष्ट्रियतालाई छड्के आँखाले हेरियो ।

यदि बालेनको ठाउँमा पहाडी समुदायका मेयर भएको भए, उनको राष्ट्रियतालाई आघात हुने गरी दुर्वाच्य बोलिदैनथ्यो होला । यसबारे मधेसी आयोगले पनि ध्यानाकर्षण गरेको छ ।

त्यसो त काठमाडौंलगायत कतिपय पहाडी जिल्लावासीको लागि मधेसीलाई अपहेलित गर्नु नयाँ  कुरा होइन । राणाकालदेखि नै मधेसीहरू हेपिदै आइरहेको छन् ।

म स्वयम् मधेसी भएकै कारण आफ्नो साथीहरूबाट कयौँ पछक अपहेलित भएको छु । कक्षा चारसम्म सप्तरीमै पढेपछि म धरानको एउटा नाम चलेको स्कुलमा कक्षा पाँचमा भर्ना भएको थिएँ । क्लास ज्वाइन गरेको दुई महिना पनि भएको थिएन । क्लासका साथीहरू मसँग अरूभन्दा फरक व्यवहार गरिरहेको कुरा महसुस हुन थाल्यो । साथीहरूको हेराई, बोलाई मप्रति निकै फरक थियो । साथीहरूले मलाई ‘भैया’ भनेर बोलाउँथे ।

मेरो मातृभाषा मैथिली हो । मैथिलीमा भैया भनेको दाइ हो । मेरै उमेरका साथीहरू मलाई भैया किन भनेको होलान् भन्ने लाग्थ्यो । अलि बुझ्ने भएपछि एकदिन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्यनरत मधेसी मुलको एक जना दाईलाई सोधे, ‘दाइ, मेरै उमेरका मेरा साथीहरू मलाई भैया किन भन्छन् ?’

उहाँको जवाफ थियो, ‘पहाडका केही मानिसहरूलाई मधेसीहरु भारतीय नागरिक हो भन्ने लाग्छ । तिमीले बोलेको नेपाली अशुद्ध थियो होला । तिमीले बोलेको नेपालीमा मैथिली शब्दको मिसावट भएको  होला । त्यही भएर उनीहरू तिमीलाई नेपाली नठानेको हुन सक्छन् ।’

दाइको जवाफले म स्तब्ध भएँ । दाईले अन्तिममा  एउटा कुरा अझै थप्नु भयो, ‘भाई, चिन्ता नगर । मलाई पनि सानैदेखि केही पहाडा साथीहरू अनेक शब्दले भन्छन् । पहिले पहिले त मलाई  पनि रिस उठ्थ्यो, दुःख लाग्थ्यो । अब यी शब्दहरूबाट रेसिस्ट भइसकेको छु ।’ 

दाईको कुराले मेरो दुखेको मनमा मलम त लगाउन सकेन । तर भैया शब्दको अर्थ भने मज्जाले बुझे । म नेपाली हो र मेरा पुर्खाहरु पनि नेपाली नै हुन् भन्ने कुराको चेत ममा नभएको होइन तर पनि साथीहरूले मेरो राष्ट्रियतामाथि शंका गर्दा निकै दुःख लागेको थियो । अझै त्यो पुरानो चोट घरी घरी बल्झिन्छ । झन् हालैको बालेनलाई आरोपित घटनाले घाउमा नुन छर्किने काम गरेको छ ।

मधेसीहरू यस्ता अपमानित अमर्यादित दुर्वचन दिनहुँ खेप्ने गरेका छन् । तरकारी, फलफुल बेच्ने, कपाल काट्ने, प्लास्टिक टिप्नेहरू मधेसी हुन् र मधेसी भारतीय हुन् भन्ने धारणा अझैसम्म धेरैमा भएको पाइन्छ । कालो  वर्ण र धोती लगाउने भारतीयहरू अस्थायी रूपमा नेपालको दक्षिण भूमिमा केही समयसम्म बस्न मात्र आएका हुन् भन्ने तर्क पनि केहीमा रहेको देखिन्छ ।

कालो छाला भएको तथा मैथिली, भोजपुरी बोल्नेलाई हेर्ने बित्तिकै उ भारतीय हो भन्ने लख काटिन्छ । जागिर या अध्ययन गर्न पहाड उक्लिएका तराईका मूलवासी मधेसी तथा भारतबाट नेपालको पहाडी क्षेत्रमा व्यापार गर्न आएका भारतीयलाई एउटै कित्तामा राखेर हेरिन्छ । 

हजुरबुबा, हजुरआमा उमेरकाले छोराछोरी उमेरका मधेसीहरूलाई भैया भनेर सम्बोधन  गर्छन् ।  सर्वसाधारणबाट मात्र होइन, कहिलेकाहीँ पढे लेखेको वुद्धिजीवी, पत्रकार, सरकारी कर्मचारी, नेताहरूबाट पनि मधेसीलाई नेपाली ठान्नबाट इन्कार गरिएको देखिन्छ । उनीहरूबाट पनि मधेसीहरू तिरस्कृत हुने गरेको देखिन्छ । यस्ता थुप्रै उदाहरण छन् । 

केही वर्ष पहिले नेकपाका एक नेताले मधेसीहरू कालो वर्णको छन्, त्यही भएर असोज ३ लाई कालो दिन मनाउँछन् भनेर ट्वीट गरेका थिए । मधेसीहरूको चर्को विरोधपछि उनले पोष्ट हटाएका थिए ।

भुटान, वर्मा, भारतको दार्जिलिङ, सिक्किमबाट अस्थायी रूपमा नेपाल बस्न आएका नेपालीभाषीहरूसँग कहिल्यै गैरनागरिक जस्तो व्यवहार गरिएन तर तराईका विशुद्ध नेपालीहरूलाई भाषा, रंग, रहनसहनकै आधारमा किन भारतीय ठानिन्छ ? किन भाषा र रंगमा राष्ट्रियता खोजिन्छ ?

यस्तै विविध विभेदका कारण जनमत पार्टीका अध्यक्ष सीके राउत कुनैबेला मधेसलाई नेपाल भन्दा पृथक मुलक बनाउनतिर लागेका थिए । किनकि उनी पनि मधेसी भएकै कारण काठमाडौंमा कैयौँ पटक केही पहाडी समुदायबाट अपहेलित भएका थिए । त्यसैले, मधेसलाई छुट्टै पहिचान दिन खोजेका थिए । उनले नेतृत्व गरेको जनमत पार्टी राष्ट्रिय पार्टी भई संसदीय राजनीतिको मूलधारमा आएको छ । तै पनि उनको राष्ट्रियतामाथि अहिले पनि औँला ठड्याइदै छ ।

हुन त मधेसीलाई राणाकालदेखि नै  गैरनागरिक सरह व्यवहार गरिँदैछ । राणाकाल, शाहकाल, पञ्चायती व्यवस्थाको अन्त्य भयो । प्रजातन्त्र आयो, लोकतन्त्र आयो । मधेसीहरुकै जोडबलमा संघीयता आयो । तर भावनात्मक रूपमा मधेसी अझै पनि आफ्नै देशमा गैरनागरिक जस्तो तिरस्कृत भइरहेका छन् । अब यो अपहेलना बन्द हुनुपर्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक मुलुक हो । विविधतायुक्त विशेषता भएको मुलुकमा भाषा, धर्म, रहनसहन, खानपिन, चाडपर्व, रंगरूप, लुगाफाटाको आधारमा कसैको राष्ट्रियता मापन गर्नु भनेको बचकना हो । सीके राउत मूलधारको राजनीतिमा आइसकेका छन् । उनी जस्तालाई पुनः देश टुक्र्याउने अस्वाभाविक मनोक्रान्ति अरू मधेसीमा पैदा हुन नदिन मधेसीहरु पनि अरू नेपाली जत्तिकै विशुद्ध नेपाली हुन् भन्ने कुराको चेत सबैमा आउन जरूरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप