शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय दलमा देउवालाई सहयोग गर्ने शशांकको सङ्केत, मागे मन्त्री

बुधबार, २१ मङ्सिर २०७९, १७ : १०
बुधबार, २१ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद शशांक कोइरालाले संसदीय दलमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने सङ्केत देखाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवालाई भेटेर कोइरालाले संसदीय दलमा सहयोग गर्ने सङ्केत दिएका हुन् । 

‘गगनजीलाई गाह्रो देखिन्छ । शेखर कोइराला मेरो दाइ भए पनि अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुरजी नै हो,’ उनी भन्छन् । संसदीय दलको नेताको तयारीमा जुटेका देउवाले सहयोग मागेपछि आफूले सधैँ सहयोग गर्दै आएको कोइरालाले जवाफ दिएका थिए । 

पार्टीको १४ औँ महाधिवेशनमा मौन समर्थन जनाएका कोइराला संसदीय दलमा खुलेर समर्थन गर्ने देखिन्छ । गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको बुझाइ छ । 

यस्तै कोइरालाले यसपटक आफू मन्त्री हुनुपर्छ भनेर देउवालाई भनेको पनि सुनाए । देउवालाई भेटेपछि मंगलबार रातोपाटीसँगको अन्तरवार्तामा उनले भने, ‘मैले शेरबहादुरजीलाई यस पटक म मन्त्री हुनुपर्छ भनेको छु । यसमा उहाँ सकारात्मक हुनुहुन्छ ।’ 

२०६४ देखि लगातार चार पटक प्रत्यक्ष चुनाव जितेका कोइराला अहिलेसम्म मन्त्री भएका छैनन् । ‘विगतमा पनि शेरबहादुरजीले मन्त्री हुनुहुन्छ भनेर सोध्नु भएको थियो,’ उनी भन्छन्, ‘साथीहरूलाई अवसर दिनुस् भने । म मन्त्री भइनँ । यसपटक म आफै मन्त्री हुन्छ' भनेको छु ।’ कोइरालाले आफूलाई कृषि मन्त्री भएर काम गर्ने इच्छा भएको बताए ।

अन्तर्वार्ता केही समय पछि रातोपाटीमा प्रकाशित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप