शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको छ : संघाई

बुधबार, २१ मङ्सिर २०७९, १७ : २४
बुधबार, २१ मङ्सिर २०७९

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवंं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि नेपालले पनि विश्वव्यापी मन्दीको प्रभावको सामना गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको १७ औं एसिया–प्रशान्त क्षेत्रीय बैठकको प्लेनरी सेसनलाई आज बिहान सिंगापुरमा सम्बोधन गर्दै संघाईले कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको र त्यसको पुष्टि अर्थतन्त्रका सूचकहरूले देखाइरहेको बताएका हुन् । 

सम्बोधनको क्रममा उपाध्यक्ष संघाईले सन २०१६ मा इन्डोनेसियाको बालीमा सम्पन्न एसिया–प्रशान्त क्षेत्रको १६ औ बैठकपछि थुप्रै परिवर्तन भएको खास गरी महामारी र यसबाट परेको प्रभाव, सिर्जित चुनौती र कोभिडबाट भएको नोक्सानीको छिटो क्षतिपूर्ति पाउन कठिनाइ भइरहेको पनि सो अवसरमा बताए ।

विभिन्न कठिनाइका बाबजुद नेपालको निजी क्षेत्रले व्यवसायको विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, औद्योगीकरण, साना तथा मझौला उद्योगको विकास एवं कार्य वातावरणको सुधारको क्षेत्रमा जोड दिई काम गरिरहेको सो अवसरमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए । 

निजी क्षेत्रका सबै गतिविधिहरू दिगो विकासको लक्ष्य प्राप्तिलाई ध्यानमा राखी सञ्चालन भइरहेको पनि उनले उल्लेख गरे । हाम्रा सम्पूर्ण गतिविधिहरू दिगो विकास लक्ष्यहरू हासिल गर्नेतर्फ लक्षित छन् र त्यसको कार्यान्वयनका लागि हामी सरकार र ट्रेड युनियनहरूसँग सामाजिक संवादमार्फत सहकार्य गरिरहेका छौँ, सभापति संघाईले सो अवसरमा बताए । 

उक्त बैठकलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र ट्रेड युनियनका तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमल कुमार खनालले सम्वोधन गरेका थिए ।

एक समारोहका बीच हिजो बिहान सिंगापुरका राष्ट्रपतिले बैठकको उद्घाटन गरेका थिए । एसिया प्रशान्त क्षेत्र र अरब राष्ट्रका सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको सो बैठक मङ्सिर २३ गतेसम्म चल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप