शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदालतले गर्दा अयोग्य व्यक्तिलाई नियमित तलब खुवाएर राख्नुपरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

बुधबार, २१ मङ्सिर २०७९, १९ : ४८
बुधबार, २१ मङ्सिर २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाए । 

उनले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताए । उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताए । उनले भने, ‘जनताको लगानी भएको संस्थाबाट जनताले नै सेवा नपाउनु देशको समस्या हो। अयोग्य व्यक्तिका कारण जनताले सेवा लिन सकेका छैनन् । अनि यस्तै नेतृत्व निरन्तरताका लागि अदालतबाट स्टे आउँछ । म सरकारी निकाय हो, सुतिसुती खान्छु भनेर सेवा प्रदान गर्न पाइँदैन । यो विडम्बना हो । देशकै लागि दुर्भाग्यको कुरा हो । प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको छ । सरकारले नियुक्त गरेको अयोग्य व्यक्तिलाई नियमित तलब खुवाएर राख्नुपर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको छ । निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद हो । संसार ठप्प भएको बेला कहाँबाट आम्दानी हुन्छ । कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वाभाविक हो । तर जुन स्रोतसाधनमा गरेको लगानी उठेको छ कि छैन महत्त्वपूर्ण कुरा हो । हिजो भन्दा आज आम्दानी गरेँ भनेर तर्क पेस गर्नु हास्यास्पद हो।’

मन्त्री श्रेष्ठले नेपालको आकाश हवाई उडान सुरक्षित रहेको बताए । उनले अन्तर्राष्ट्रिय निकायहरूले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नभएको भन्दै प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको बताए । मन्त्री श्रेष्ठले नेपालको हवाई उडान आइकाओको कालोसूचीबाट हट्ने अवस्थामा पुगेको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप