शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौखिक समझदारीअनुसार प्रचण्डलाई पहिलो चरणमै सरकारको नेतृत्व लिन पार्टीभित्र दबाब

नेतृत्व नपाए सरकारबाहिर बसेर समर्थन गर्न सुझाव
बुधबार, २१ मङ्सिर २०७९, २० : १६
बुधबार, २१ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले पहिलो चरणमै सरकारको नेतृत्व लिन दबाब दिएका छन् ।

सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएपछि माओवादीका अधिकांश नेताले प्रचण्डलाई सुरुवातमै सरकारको नेतृत्व लिन दबाब दिएका हुन् । ‘सत्ता गठबन्धनको सरकार निर्माण भएपछि देउवा र प्रचण्डबीच चुनाव लगत्तै सरकारको नेतृत्व माओवादीलाई दिनेगरी मौखिक समझदारी भयो । गठबन्धन बनाएरै चुनावमा गइयो । कतै राम्रो कतै नराम्रो नतिजा आयो,’ माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘अब प्रचण्ड कमरेड प्रधानमन्त्री बन्ने पालो हो । सोचे जस्तो नतिजा आएन भनेर छोड्ने भन्ने हुँदैन ।’

नेपाली कांग्रेसले माओवादी केन्द्रको नतिजा सरकारको नेतृत्व गर्नेगरी नआएको भन्दै पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसबाटै बन्नुपर्ने तर्क गरिरहेको छ । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगनकुमार थापाले आ–आफ्नो तरिकाले माहोल बनाउन लागिपरेका छन् ।  यता माओवादीका दोस्रो र तेस्रो तहका नेताहरुले प्रचण्डलाई पहिलो चरणमै प्रधानमन्त्री लिन दबाब बढाएका हुन् ।

सरकारको नेतृत्व आलोपालो हुने भएपछि पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्नेगरी गठबन्धनमा अडान लिन उनीहरुको सुझाव छ ।

माओवादी पार्टीका पोलिटब्यूरो सदस्य राजन दाहालले गठबन्धनमै रहेर पहिलो चरणमै सरकारको नेतृत्व लिनेगरी समझदारी गरेर जानुपर्ने जिकिर गरे । ‘हामी अहिल्यै गठबन्धन तोड्ने पक्षमा छैनौं । गठन्धनभित्र हाम्रो उपस्थिति मजबुत बनाएर सरकार गठनतिर अगाडि बढ्ने भन्ने सोच छ,’ रातोपाटीसँग दाहालले भने, ‘राजनीतिक रुपमा पहलकदमी लिने भन्ने मुख्य कुरा हुन्छ । यो राष्ट्रिय राजनीतिलाई यहाँसम्म ल्याउन प्रचण्ड कमरेडको पहलकदमी छ । हामीलाई भोट ट्रान्सफर नहुँदा र पार्टीको आन्तरिक कारणले कम सिट आयो ।’ तर कम सिट आउँदैमा समझारीबाट पछि हट्न नहुने उनको भनाइ छ ।

यसअघि माओवादीले ३६ सिट ल्याउँदा समेत २३ सिट जितेको कांग्रेसलाई सरकारको नेतृत्व दिएको दाहालले बताए ।

तर, माओवादीकै अर्का पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटाले यदि पहिलो चरणमै सरकारको नेतृत्व पाउने अवस्था नभएमा सरकारलाई समर्थन दिएर प्रतिपक्षमै बस्नुपर्ने सुझाव दिए । ‘सरकारमा जाँदा परिणाम देखाउन नसक्ने, संलग्नता मात्रै हुने भयो । ओली सरकारमा सहभागी भयौं । उनले गरेका भ्रष्टाचार अनियमितता र गलत क्रियाकलापको अपजस हामीले लिइदिनुपर्ने भयो । देउवा सरकारमा सहभागी भयांै । उनले गर्न नसकेका अपजस हामीले लिनुपर्ने भयो,’ सापकोटाले भने, ‘त्यसैले यो ५ वर्ष माओवादी सरकारमा जानु हुँदैन ।’

प्रधानमन्त्री भएर सरकारको नेतृत्व लिएर जाँदा आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सकिने नेताहरुको बुझाइ छ । सरकारमा सहभागी हुने तर नतिजा देखाउन नसक्दा पार्टी क्षयीकरण मात्रै भएकाले त्यस्तो अवस्थामा सरकारलाई समर्थन मात्रै दिएर बस्नुपर्ने मत बलियो हुँदै गएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप