शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आजका टप टेन समाचार

बुधबार, २१ मङ्सिर २०७९, २१ : ०२
बुधबार, २१ मङ्सिर २०७९

आज २०७९ मंसिर २१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

राणाको दोस्रो प्रयास पनि असफल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सर्वोच्च अदालत प्रवेश गर्ने दोस्रो प्रयास पनि असफल भएको छ । संसद् सचिवालयबाट आफूमाथि लगाइएको महाभियोग प्रस्ताव निष्प्रिभावी भएको पत्र लिएर राणा बुधबार अदालतमा फर्कने तयारी गरेका थिए । तर, सचिवालयले दिएको पत्रको वैधानिकतामाथि प्रश्न उठेपछि राणाको अदालत फर्कने प्रयास विफल भएको हो ।

संसद सचिवालयका कर्मचारीले संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको नेपाल बारको निष्कर्ष 

नेपाल बार एसोसिएसनले संसद सचिवालयका कर्मचारीले सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएपछि बारले यसबारे आपत्ति जनाएको हो । 

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मङ्सिर २० गते मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सहकारीले अब बिना धितो कर्जा प्रवाह गर्न नपाउने

सहकारी संघ संस्थाहरूले अब विना धितो कर्जा लगानी गर्न नपाउने भएका छन् । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सहकारी संघ संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ​

वैदेशिक रोजगारीले निम्त्याएको अर्को वीभत्स घटना

मंगलबार साँझ सामाजिक सञ्चालनमा एउटा तस्बिर भाइरल भयो । उक्त तस्बिरमा एक जना पुरुषले प्लास्टिकको थैलोमा केही वस्तु लिएर कतै हिँडिरहेको देखिन्छ । ती व्यक्ति हुन्, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा भन्ने गाउँका ३८ वर्षीय अम्मरबहादुर आले । उनले प्लास्टिकमा आफ्नै श्रीमती ३० वर्षीया मिना आलेमगरको घाँटी काटेर हालेका रहेछन् । 


सुदूरपश्चिमको मुख्यमन्त्रीमा फेरि माओवादीको नजर

सशस्त्र जनयुद्धबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी २०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा ठुलो दल बन्यो । दोस्रो संविधानसभा, २०७४ को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदै हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा माओवादीको अस्तित्व नै सङ्कटपूर्ण अवस्थामा पुगेको छ ।

कर्णाली प्रदेशसभा : १७ जनाले गरे संसदीय यात्रामा ‘डेब्यु’

कर्णाली प्रदेशसभामा ०७४ सालको तुलनामा यो पटक नयाँ अनुहारको वर्चश्व देखिएको छ । यद्यपि समानुपातिकतर्फबाट समेटिनेहरूको सूची आउन बाँकी नै छ ।​ प्रत्यक्षतर्फ २४ सिट रहेको प्रदेशसभामा १७ जनाले पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । डेब्यु गर्नेमा पनि धेरैजसो युवा र पढेलेखेका भएकाले अघिल्लो पटक भन्दा प्रदेश सरकारको काम कारबाही र नीति निर्माणका क्षेत्रमा अपेक्षाकृत नतिजा आउनसक्ने अपेक्षा गरिएको छ ।

हारको समीक्षा गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले मंसिर ४ को निर्वाचनमा धनुषा ३ मा भएको पराजयका बारेमा समीक्षा थालेको छ । 

रोकिएन नेप्सेको ओरालो यात्रा

लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक आज पनि घट्न पुगेको छ । सोमबार २४ अङ्कमाथिले घटेर मंगलबार ४ अङ्कमा रोकिएको नेप्से सूचक आज थप १६.६१ अङ्कले घट्दै १९१७.२८ मा ओर्लिएको छ । 

किसानहरूसँगको धान खरिद प्रक्रिया अविलम्ब अघि बढाउन माग

नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप