शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपाको इन्ट्रीसँगै गण्डकीमा ५ दलको प्रतिनिधित्व, सरकार निर्माणमा माओवादी निर्णायक

बिहीबार, २२ मङ्सिर २०७९, ०८ : ४१
बिहीबार, २२ मङ्सिर २०७९

गण्डकी प्रदेशसभामा मंसिर ४ गतेको निर्वाचनबाट ४ दलले थ्रेसहोल्ड कटाए पनि ५ दलको प्रतिनिधित्व हुने भएको छ । प्रदेशमा निल भएको नेकपा एकीकृत समाजवादीले मनाङ (२)बाट स्वतन्त्र निर्विरोध निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै ५ दलको प्रतिनिधित्व हुने भएको हो । 

थ्रेस होल्ड कटाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै दल हुन् । ०७४ मा निल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक थ्रेस होल्ड कटाएको छ । प्रत्यक्ष निर्वाचनमा निल भएको एकीकृत समाजवादीले मनाङेलाई पार्टी प्रवेश गराएर प्रदेश सभामा उपस्थिति देखाएपनि थ्रेस होल्ड कटाउन सकेन । 

प्रदेशसभा तर्फ ०७४ मा राष्ट्रिय जनमोर्चा र तत्कालीन बाबुराम  नेतृत्वको नयाँ शक्ति पार्टीले  थ्रेस होल्ड कटाएर समानुपातिकमा १÷१ सिट पाए पनि यस पटक कटाएनन् । बाबुराम नेतृत्वको पार्टी माओवादी चुनाव चिन्ह लिएर चुनावमा गयो भने राष्ट्रिय जनमोर्चाले प्रदेशसभा तर्फ प्रत्यक्षमा उम्मेदवार नै उठाएनन् ।
 
कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरि २७ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । ०७४ मा प्रदेशमा प्रत्यक्ष तर्फ ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको कांग्रेसले यस पटक प्रत्यक्षमा तेब्बर सिट जितेको हो । समानुपातिकमा भने उस्तै सिट सुरक्षित गरेको हो । 

०७४ प्रदेशसभामा पहिलो दल बनेको एमाले दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि २२ सिटमा जितेको छ । ०७४ मा प्रत्यक्ष तर्फ १७ र समानुपातिक तर्फ १० सिट सहित २७ सिट जितेको एमाले यसपटक विगतको सिट गुमाएको हो । माओवादी केन्द्रले पनि विगतको सिट गुमाएको छ । ०७४ प्रदेशसभा तर्फ ९ र समानुपातिकको ३ सिट गरी १२ सिट जितेको माओवादीले यसपटक प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिट जित्न सफल भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशमा उदय भएको छ । प्रत्यक्षमा कुनै पनि सिट नजितेपनि समानुपातिकमा २ सिट पाएर गण्डकीको चौथौं ठुलो शक्ति बनेको छ । सत्ता गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले सरकार गठन गर्न आवश्यक बहुमत संख्या पार गरेका छन् । ती दुई पार्टी मिल्दा बहुमतको सरकार बन्न सक्छ । यदी सत्ता गठनबन्धन भत्किएर एमालेको नेतृत्वमा सरकार गठन भए माओवादी, राप्रपा र एकीकृत समाजवादी पार्टी निर्णयक देखिन्छ । मुलतः गण्डकीमा ८ सिट पाएको माओवादी सरकार गठनमा निर्णयक देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप