शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सौर्य ऊर्जाले पोखरी गाउँ उज्यालिएपछि स्थानीय दङ्ग​

बिहीबार, २२ मङ्सिर २०७९, ०९ : १३
बिहीबार, २२ मङ्सिर २०७९

वर्षौंदेखि मनभित्रै उज्यालो सपना गुम्साएर राखेका जुम्ला तिला गाउँपालिका - ७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दङ्ग​ छन् । कहिल्यै पनि बिजुली सपना पूरा नहुने पीडा साँचेर बसेका रोकाया अहिले रातदिन सौर्य ऊर्जाको बिजुली बाल्छन् ।

'सल्लाको दियालोको भरमा अन्धकार रात काटिन्थ्यो । उज्यालो भनेकै दियालो सम्झेका थियौं । तर सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौं देखिएको बिजुली बाल्ने धोको पूरा भएको छ, उनले भने-'यो गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । '

धनबहादुरले भने पोखरी गाउँकै धनबहादुर रोकायाले सौर्य ऊर्जाले ऊर्जा दिएको बताए । उनले भने 'गाउँ त २४ सैं घण्टा झिलीमिली भयो । त्योसँगै वर्षौंदेखि दियालोले कालो बनिसकेका मनमा समेत उज्यालो अनुभूति गरायो । योभन्दा खुसीको क्षण के हुन सक्छ र ? पोखरी गाउँमा न बिजुली निकाल्ने खोला नै थियो । न त घरै पिच्छे सोलार किनेर बिजुली बाल्ने सपना पूरा गर्ने पैसा नै हुँदैनथ्यो । '

पोखरी गाउँमा ६० घर छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्याइएको छ । सबै गरेर १ सय २० घरमा बिजुली बालिएको छ। ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ । तर एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । मुनबहादुरले भने, ‘गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । छिमेकी गाउँकाले समेत मोबाइल चार्ज गर्न पठाउने गरेका छन् । टीभी र वाईफाई चलाउनसमेत सजिलो भएको छ ।’ 

उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ, जसको लागि वडापालिकाले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने देखिएको अर्को सुनबिर बुढाको भनाइ छ । घट्ट पिस्न न्यूनतम् आधा घण्टादेखि एक घण्टा हिँडेर बास बस्नुपर्ने अवस्था छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड ३४ लाख ९६ हजार ५ सय १० रूपैयाँको लागतमा सौर्य ऊर्जा बालिएको हो । जसमा ३० लाख रूपैयाँ तिला गाउँपालिकाको साझेदारी रकमसमेत हालिएको छ ।फागुनदेखि सौर्य ऊर्जा निकाल्नका लागि कामको थालनी भएको थियो । एक वर्ष नपुग्दै बिजुली बालेपछि स्थानीय चकित छन् । न बत्ती निकाल्ने खोला थियो न त बत्ती बाल्ने स्थानीयको धोको नै थियो  तर एकाएक सौर्य ऊर्जाले ओठमा मुस्कान र अनुहारमा चमक ल्याइदिएको छ ।

पोखरी गाउँमा सौर्य ऊर्जाको लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए ।  कतैबाट पनि बिजुलीको सम्भावना नदेखेका भण्डारीले सौर्य ऊर्जाको विकल्प अघि सारेका थिए । पहिले हावा र सौर्य ऊर्जाबाट विद्युत निकाल्ने भनिएको थियो । तर हावाबाट बिजुली निकाल्दा दिगो नहुने देखिएपछि सोलार सिस्टम मात्र जडान गर्ने गरी डीपीआर बन्यो । त्यही बमोजिम वैकल्पिक ऊर्जाले बिजुली बालिदियो । भण्डारीले जुम्लाको हरेक बस्ती उज्यालो बनाउन पहल भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप