शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साकेला उधौली मनाउँदै किरात समुदाय

बिहीबार, २२ मङ्सिर २०७९, १० : ५१
बिहीबार, २२ मङ्सिर २०७९

मुलवासी किरात समुदायले साकेला उधौली मनाइरहेका छन् । अन्नवाली भित्र्याइएको खुसीयाली तथा लेकमा रहेका मानव, जीवजन्तु तथा चराचुरुङ्गी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपूजक किरात समुदायले मंसिर पूर्णिमाका दिनबाट धुमधामका साथ साकेला उधौली मनाउन सुरु गरेका हुन् । 

राई, लिम्बू, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल लगायतका समुदायमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनलाई उधौली चाडका रुपमा मनाउने प्रचलन छ । रीतिरिवाज एउटै भए पनि उधौलीलाई राई समुदायले उधौली, लिम्बू समुदायले चासोक तङनाम, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवाको रुपमा मनाइरहेका छन् । 

किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णिमामा उभौली तथा अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली मनाउने गरिन्छ । उभौली र उधौलीमा ढोल, झ्याम्टा बजाएर गीत गाउँदै विभिन्न परम्परागत भेषभुषामा जीवजनावर, पशुपंक्षी, चराचुरुङ्गीको नक्कलदेखि खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको लगायतका कृषि कर्मलाई चित्रण गर्दै नाच्ने गरिन्छ । कपासबाट धागो काटेको, कपडा बुनेको, सिङ्गारपटार गरेको आदि मानव क्रियाकलापलाई पनि ‘सिली टिप्ने’ गरिन्छ । उभौली महिना दिन र उधौली १५ दिनसम्म मनाइन्छ ।

पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङदेखि काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँ ढोलझ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गरेको छ ।

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा किरात राई यायोक्खा, किरात सेवा समाज र मझुवागढी संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको संयुक्त आयोजनामा बिहीबार सामूहिक रुपमा उधौली मनाइँदै छ । मझुवागढीलगायत जिल्लाका अन्य ठाउँमा पनि सामूहिक रुपमा साकेला मनाइने किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । दिक्तेलकै हेलिप्याडमा आगामी शनिबार बृहत साकेला प्रदर्शनको आयोजना गरिने यायोक्खाले जनाएको छ । 

उभौली र उधौलीलाई ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ । नदी तथा खोलामा पाइने माछा उँधो (धेरै पानी भएको ठाँउतिर) झर्ने समयलाई उधौलीका रुपमा बुझ्ने गरिन्छ । त्यही उँधोबाट उधौली चाडको नामाकरण गरिएको जानकार बताउँछन् । किरात समुदायको मुख्य चाडको रुपमा रहेको उधौली साकेलालाई न्वागी, साकेवा, साखेवा, साकेन्वा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा लगायतका नामले चिन्ने गरिन्छ । 

साकेला मनाउने क्रममा कुखुरा, सुँगुरको साथमा जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायतका सामग्रीको आवश्यकता पर्छ । नक्छुङले चुलोको पुजा गरेपछि साकेला नाच्न सुरु गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप