शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

बालनिबन्ध :  रिस

विहीबार, २२ मंसिर २०७९, ११ : २४
विहीबार, २२ मंसिर २०७९

रिस जन्मजात गुण हो, जो सँग पनि हुन्छ, जहिले पनि हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ, युवामा हुन्छ । यहाँसम्म कि यसले पशु, पक्षीलाई समेत छाडेको हुँदैन । कारण हो जसलाई पनि आफूले भने बमोजिम हुनैपर्ने तर प्रकृतिको नियम के छ भने कसैलाई भन्नासाथ हुँदैन । कतिपय अवस्थामा हुन पनि सक्छ कतिपय अवस्थामा नहुन पनि सक्छ । जब हुँदैन रिस उठिहाल्छ ।

मानौँ कुनै चीजको चाहना गर्नुभएको थियो पाउनु भएन, जसले तपाईंलाई रिस उठायो । जतिपटक काममा असफलता पाउँदै जानुहुन्छ त्यति नै रिसको सङ्ख्या पनि बढ्दै जान्छ । विस्तारै एउटा अन्त्यहीन सृङ्खला बन्छ र त्यसैभित्र हराउन पुग्नुहुन्छ ।

पहिले तपाईँले रिसलाई खेलाउनुभएको थियो पछि उसले खेलाउन थाल्नेछ । हुँदाहुँदा रिसको सङ्ख्या यति बढ्दै जान्छ कि तपाईँको जीवन नै रिसमय हुन पुग्छ । जता हेरे पनि रिस, जसलाई हेरे पनि रिस, जसलाई देखे पनि रिस, जसले जे भने पनि रिस, जे बोले पनि रिस, जे सुने पनि रिस, सर्वत्र रिसैरिस । यी सबै तपाईँले चाहनु भएको चीज नपाउनुकै प्रतिफल हुन् ।

सुरूमा सानो थियो बिस्तारै बढ्दै गयो । सावा थपिँदै गयो, ब्याज बढ्दै गयो । उसले तपाईँलाई नराम्ररी सम्मोहन ग¥यो । आँखा देख्नुभएन । सर्वत्र रिस देख्नुभयो, रिस पाउनुभयो । जादूगरले देखाएको जादू जस्तो । एउटा कुशल जादूगरले बाघलाई मानिस पनि बनाइदिन्छ, मानिसलाई बाघ पनि बनाइदिन्छ तर यहाँ भएको कुनै मानिस बाघ र बाघ मानिस थिएन । थियो त केवल सम्मोहन । यसैले नै तपाईँको आँखा घुमाइदिएको थियो, जसले गर्दा वास्तविकता देख्न सक्नुभएको थिएन । रिसको अवस्था पनि त्यस्तै हो । उसले यति बढी सम्मोहन गर्छ कि वास्तविकता बोध गर्नै दिँदैन ।

जब सर्वत्र रिसैरिस देखिन थाल्यो त्यसपछि मुठी कस्न थाल्नुभयो, दाह्रा किट्नुभयो तैपनि उसलाई थाम्न सक्नुभएन र व्यक्त गरिदिनुभयो । यसलाई तपाईँ दूध उम्लिएको र पानी भरिएको अवस्थासित पनि तुलना गर्न सक्नुहुन्छ । भरिएपछि पछि के हुन्छ ? पोखिन्छ यही होइन ? हो, यहाँ पनि त्यस्तै भयो । शरीरका रगतका कणकणमा, शरीरका रौँरौँसम्म रिस भरियो अन्ततः विस्फोट हुन पुग्यो ।

रिस व्यक्त गर्ने स्थान कि सजीव हुन्छन् कि निर्जीव । तपाईँले पनि त्यस्तै गर्नुभयो तर जहाँ व्यक्त भएका भए पनि ऊ पनि चुप लागेर बसेन । सजीव भए तत्कालै प्रतिक्रिया जनायो । तपाईँले हान्नुभयो, उसले पनि हान्यो । टुटिला उठे, निलडाम बस्यो, रगतका धारा बग्न थाले । बिरालाको न्याउरो वा कुकुरको छाउरो भए उसले पनि ङ्यार्र ग¥यो । गाई, भैँसी, गोरु भए सिङ तेस्र्याउँलान्, बाघ, भालु भए पञ्जा देखाउलान् ।

आखिर सबैले आफ्नो साथमा जे छ त्यसैलाई उठाउने हुन् । यसबाट के पाउनुभयो । उसलाई पनि हानि, आफूलाई पनि हानि । पहिले उसलाई हानि पु¥याउनुभयो, पु¥याउन खोज्नुभयो पछि उनीहरूले तपाईँलाई हानि पु¥याए, पु¥याउन खोजे । 

निर्जीव वस्तुमाथि प्रयोग भएका छन् भने पनि नतीजा उस्तै हो । मानिलिनुस् तपाईँलाई रिस उठ्यो र भित्तामा हान्नुभयो । नतीजा के भयो तपाईँकै हात दुख्यो । तपाईँले रिस त भित्तामाथि पोख्न खोज्नुभएको थियो तर उसले लिएन । जस्ताको तस्तै फिर्ता ग¥यो, गरिदियो । फलत नोक्सानी तपाईँकै भयो । यद्यपि उनीहरूको पनि स्वरूप बिग्रन सक्छ । सिसा भए फुट्न सक्छ, भित्तो भए बाङ्गिन सक्छ । काठ भए भाँचिन सक्छ । ढुङ्गो भए फोरिन सक्छ तर उनीहरूलाई दुखेन । दुखेन र त नोक्सानीको भरपाई पनि गर्नु परेन तर तपाईँ त्यस्तो हुनुहुन्न । त्यसरी छुट पाउनुहुन्न । आफ्नो नोक्सानी पनि व्योहोर्नुपर्छ, उनीहरूले गराएका नोक्सानीको पनि भरपाई दिनुपर्छ ।

गीतामा कृष्णले रिसबारे राम्रो व्याख्यान दिएका छन् । उनी भन्छन्– ‘रिसले पहिले सम्मोहन गराउँछ । गर्न हुने, नहुने कामको र बोल्न हुने, नहुने कुराकोसम्म हेक्का राख्न दिँदैन र स्मृतिभ्रमको अवस्थामा पु¥याउँछ । स्मृतिभ्रम भएपछि बिस्तारै बुद्धि नाश हुँदै जान्छ र सर्वनाशको अवस्थामा पुगिन्छ ।’

यसको अर्थ रिसाउनु हुन्न भन्ने होइन । आफ्नै स्वभाव भएकाले हुन्न भनेर के गर्ने ? नरिसाई बस्नै सक्नुहुन्न तर विरेचनको तरिका भने मिलाउनुपर्छ, जान्नुपर्छ । अन्यथा हमेशा समस्या बनेर खडा हुनेछ । प्रश्न उठ्न सक्छ त्यो भनेको के हो ? तर नआत्तिनुस् उत्तर सहज छ । केही पनि होइन । मात्र स्वरूप परिवर्तन गर्ने ।  

मानिलिनुस् तपाईँलाई कसैमाथि रिस उठ्यो । तत्कालै चिथोरौँ कि कोपरौँ जस्तो लाग्यो । यतिबेला अन्यत्रै कतै हेर्नु थाल्नुभयो, लामोलामो सास फेरेर बस्नुभयो, सयदेखि उल्टो गन्न थाल्नुभयो भने मात्र पनि नतीजा अर्कै हुन्छ । खोज्दै गए यस्ता अनगिन्ती तरिका पाउन सक्नुहुन्छ । जस्तै गालीको विरुद्ध गाली नगर्नु, जतिसुकै रिस उठे पनि गरिरहेको काम नछाड्नु, मौन रहनु, बसिरहेको स्थानबाट उठेर कतै एकान्त स्थानमा जानु, कुनै मान्यजन नजिक छन् भने उनीहरूका पासमा जानु, सम्भव हुन्छ भने स्नान गर्नृु, प्रसङ्गलाई अन्यत्रै मोड्ने प्रयास गर्नु, सरसफाइमा ध्यान दिनु, बगैँचा तथा गमलामा पानी हाल्नतिर लाग्नु आदि, आदि ।

यदि यस्ता कुरामा ध्यान दिन थाल्नु भयो भने रिसको सहज विरेचन पनि हुन्छ र तपाईँले नोक्सानीको भरपाई गर्न पनि पर्दैन ।                                   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप