सोमबार, १६ माघ २०७९
ताजा लोकप्रिय

यःमरि पुन्हिको नालीबेली

विहीबार, २२ मंसिर २०७९, १२ : ०४
विहीबार, २२ मंसिर २०७९

यःमरि च्वामु, उकी दुने हाकु 
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुह्रिकुति 
छिमिनं चिकु, जिमि नं चिकु 
पियाच्वने थाकु, याकनं ब्यू । 

(यःमरि चुच्चो, भित्र भने कालो दिने तरुनी, नदिने बूढीढिकी तपाईंहरूलाई पनि जाडो, हामीलाई पनि जाडो कुरिरहन गाह्रो, चाँडो चाँडो देऊ ।) 

माथि उल्लिखित काव्यात्मक अभिव्यक्ति कुनै कवि विशेषको आत्माबाट प्रस्फुटित भएको नभई यःमरि पुन्हिको कुरोलाई लिएर लोकोक्तिमा आधारित अभिव्यक्ति हो । जसमा यःमरिको आकार–प्रकार, यःमरि बनाउने महिला, यःमरि पुन्हिको वातावरण आदिलाई झझल्को दिने गरी अभिव्यक्त भइराखेको छ । 

वर्षभरिको १२ वटा पूर्णिमामध्ये मंसिर अर्थात् मार्गशुक्ल पूर्णिमा वा थिंला पुन्हिलाई यःमरि पुन्हि भन्ने गरिन्छ । यो दिन विशेष गरी नेवार जातिले आफ्नै प्रकारको रोटी अर्थात् यःमरि पकाई खाने गर्दछन्, त्यही विशेष रोटीको नाममा ‘यःमरि पुन्हि’ रहन गएको हो । यो पूर्णिमा थिंला पुन्हि, मार्ग पूर्णिमा, यःमरि पुन्हि, धान्य पूर्णिमा, गैंडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ । 

यो पूर्णिमाभित्र धान काटेर, तलसिं हुनेले तलसिंलाई बुझाइसकेर र नहुनेले पनि आफ्नो धान सुकाएर भकारीमा राखिसक्ने हुनाले यसलाई धनधान्य पूर्णिमा भनेको हो । यसबेला पनि मोहीहरूद्वारा धान काटेर कुत बुझाइसक्ने हुनाले उनीहरूले आफ्नो भकारी भरिसकेका हुन्छन् । यसरी तलसिं मोही दुवै वर्गले आ–आफ्नो खेतको धान भित्र्याएर भकारी भरिसक्ने भएकोले धनधान्य पूर्णिमा भनेका हुन् । नेवारहरूको कुनै पनि काम व्यवस्थित ढंगले गर्ने परम्परा छ । त्यसैले दशैंमा पहिले जमरा छरेर उखेली सकेपछि मात्र धान काट्ने काम सुरु गर्छन् । 

जमरा नउखेली धान काट्न हुँदैन भन्छन् खेतीवालाहरू । जमरा उखेली सके पछिदेखि यःमरिपुन्हिसम्म धान भित्र्याई सक्नुपर्छ भन्ने धारणा रहेको छ । पहाडवासीले पनि आफ्नो गाईगोरु राख्ने गोठ सफासुग्घर गरी आफूलाई खेती गर्दा धेरै सहयोग पु¥याएकाले गर्दा (हलो जोत्नु, दुध, गोबर, मल आदि दिएर) गोठपूजा गर्ने चलन छ । यसरी गोठपूजा गर्नेहरूले यःमरि पुन्हि वा मंसिर शुक्ल पूर्णिमालाई गैंडु पूर्णिमा भन्ने गर्दछन् । 

यःमरिको महत्त्व 

नेवारहरूले खाने धेरै किसिमका रोटी भए पनि नेवार संस्कृतिसँग घुलमिल भएको रोटीमध्ये यःमरि पनि एउटा हो । रोटीको नाममै चाडपर्व मनाएर खाने यःमरी, केटाकेटीको दोस्रो जन्मदिन मनाउँदादेखि बुढाबुढीको जंक्व गर्दा संस्कारगत रुपमा आवश्यक पर्ने रोटी हो । त्यसरी नै हर्ष उल्लासका साथ मनाइने देउताको रथजात्रामा उल्लासका साथ चढाइने रोटी हो ।

 नयाँ घर बनाएर धुरी कस्दा, गृहपूजा गरेर साना नानीहरूको जन्मदिन मनाउँदा चढाइने यःमरि जसरी नै घरलाई पनि यःमरि चढाइन्छ । नामैले मनपर्ने रोटी भएकाले विशेष गरी शुभकार्य, हर्ष उल्लासको काममा देवखट, देवता, घर, साना नानी, वृद्धवृद्धाहरूलाई चढाउने कार्य नेवारको आफ्नो मौलिक परम्परा हो । साना नानीहरूको दोस्रो जन्म दिनमा फूलको माला उनेझैँ यःमरिको माला उनेर जन्मदिन मनाइने बच्चालाई लगाई दिएर बच्चाहरूको जन्मदिन मनाउने कार्य सुरु गर्दछन् । 

कसैकसैले दुई वर्षदेखि बाह्र वर्षसम्म जोडजोड वर्षमा जति उमेर पुग्छ, त्यति नै वटा यःमरि मालाझैँ धागोमा उनेर लगाइदिने गर्छन् । एकातर्फ बच्चाको उमेर यति पुग्यो भनेर संकेत गर्ने कुरा भयो भने अर्कोतर्फ यःमरिलाई गलामै लगाइदिएर यःमरिको महत्त्व दर्शाउने काम भयो । त्यसरी नै भारी जिउ हुनेहरूलाई दहीचिउरा खुवाउँदा यःमरि नभई हुँदैन । ज्यापू समुदायमा बिहे भएको पहिलो वर्ष भाइटीका गर्न जाँदा लिएर जाने विशेष सामग्रीमा यःमरि पठाउनुपर्छ । 

यःमरि पुन्हिको पूजा 

हरेक पूर्णिमाको दिन बुद्धको पूजा गर्नु साधारण हो । यो दिन बिहान विशेष गरी ढिकुटीलाई चोखोनितो गरी धानचामलको भकारी, घ्याम्पो आदि भाँडाहरूमा धानचामल भरीभरी राखेर त्यसमा चामलको पीठोद्वारा तयार पारिएको यःमरि, लोहँचांमरि, लक्ष्मी, गणेश, कुबेर राखी फूल चन्दन, नैवेद्य, फलफूल चढाई पूजा गरी चार दिन सम्म थापना गर्ने गरिन्छ । 

दसैँमा जस्तो यःमरि साथै विभिन्न देवदेवी थापना गरी चार दिनसम्म पूजा गरी, चार दिनपछि पूजा समाप्त गरी प्रसादको रूपमा यःमरि, लोहँचांमरि परिवारका प्रत्येक सदस्यलाई बाँडेर खाने गरिन्छ । 

यो पूर्णिमाको बारे विष्णु पुराणमा यसरी लेखिएको छ । मार्गशुक्ल पूर्णिमाको दिन धानचामल राखिने भकारीमा यःमरिको कुबेर, लक्ष्मी र गणेश बनाई थापना गरी, चार दिनसम्म नित्य विधिपूर्वक पूजा गरी रोटी चढाउने, अरुलाई पनि रोटी दान गरी आफूले पनि खाने गरिन्छ । यो कार्य गरेपछि वर्ष दिनभरिका लागि धनसम्पत्ति र अन्न स्थिर भएर कल्याण हुन्छ (पुण्यरत्नः १०८४ः७३) । 

यो पूर्णिमामा पूजा गरिने समस्त देवदेउता धन सम्पत्ति अभिवृद्धि गर्ने देवता हुन् । गणेश मंगलमयका मूर्ति, कुबेर सम्पत्तिका धनी, लक्ष्मी सम्पत्तिदाता नै भइन् । यःमरि पुन्हिमा लक्ष्मी, वसुन्धरा, गणेशको पूजा गर्ने चलन छ । धनधान्य भएको बारे एउटा लोककथा प्रचलित छ । यःमरि पुन्हिको खुसियालीमा यो कथा सम्झिने परम्परा छ । साथै यो कथाबाट शिक्षा लिएर ‘त्यःछिं त्यः’ माग्न आउनेहरूलाई यःमरि, धान चामल आदि दान दिने वा ख्वाउने परम्परा रही आएको छ । 

यःमरि कथा

पांचाल (पनौती) देशको कुनै एउटा गाउँमा बस्ने सुचन्द्र नामक मानिस बस्दथे । उनको पतिपत्नी दुवै गरिबप्रति अति नै दयालु थिए । यो जोडी गरिबप्रति कत्तिको दयालु रहेछ भनी बुझ्न धनका देवता कुबेर गरिबको भेष धारण गरी सुचन्द्रको घरमा माग्न गएछ । गरिबरूपी कुबेरलाई साँच्चिकै गरिब ठानी सुचन्द्रकी जहानले डाकेर आफ्नो घरको तलामा लगी नयाँ लुगा फेरि दिएर मीठो खाना खुवाएर मानमनितो गरिन् । 

गरिबको भेष धारण गरेका कुबेर खुसी भएर आफूलाई सेवा गर्ने सुचन्द्रकी जहानलाई ज्ञानगुनका शिक्षा सहित तःसि (बिमिरो) एउटा पनि दिएर अन्तध्र्यान भएछन् । पछिबाट कुबेरले दिएको ज्ञानगुनका सबै कुरा आफ्नो श्रीमानलाई सुनाइन् । दुवै जोडी मिली सखरतिलको झोल यःमरिभित्र राखेर, पीठोको कुबेर बनाई बफ्याएर कुबेरले दिएको बिमिरो र यःमरि सबै अन्नको भकारीभित्र राखेर चार दिनसम्म पूजा गरेर त्यसै राखिछोडे । 

यःमरि आफूले पनि खाए, अरुलाई पनि बाँडिदिए । जति दान गरे, उत्तिकै अभिवृद्धि भएर आयो । कुबेर, यःमरि र बिमिरो राखेर पूजा गरेको भकारीबाट जतिसुकै धान निकाले पनि अलिकति पनि नघटी जतिको तति नै भइरह्यो। त्यसबेलादेखि यःमरि बनाएर ढिकुटी, धान भकारी आदिमा पूजा गरेर आफूले पनि खाने, अरुलाई पनि बाँडिदिने, अनि माग्न आउनेहरूलाई पनि दिने परम्परा बनेको हो भन्ने भनाइ छ । 

ग्वह्र पूजा 

यःमरि पुन्हिको दिन बिहान यःमरि, ल्वहँचा मरि आदि बनाइसकेर कोठा वा भकारी पूजा गरिसके पछि बेलुका पाटीपूजा (सिलोटपूजा) गर्ने भनी एउटा नाङलोमा पाटी (सिलोट) सँगै किताब समेत राखेर यःमरि, ल्वहँचा मरि चढाउने गर्छन् । पाटीपूजा सकिसकेपछि मकलमा आगो बालेर बदाम खाएर आगो ताप्ने चलन पनि छ । यःमरि पुन्हि जाडो याममा पर्ने मात्र होइन, म्हपूजादेखि जाडो सुरु भएर यःमरि पून्हिसम्म जाडो निकै नै बढिसक्ने हुनाले जाडो छल्नका निम्ति मकलमा आगो ताप्ने काम थाल्छन् । 

यसबेला मकल ताप्न सुरु गरेर सिलाचह्रे (शिवरात्रि)मा समाप्त हुन्छ । वास्तवमा यःमरि पुन्हिमा ज्यापुहरूको धानको भकारी सँगसँगै खेती गर्दा चाहिने औजार (जस्तोः कुटो कोदालो, खटामुग आदि)को पनि पूजा गर्ने चलन छ । त्यसरी नै वैद्य काम गर्नेहरू वा आफूले अध्ययन गरेको विद्याबाट जीविका चलाउनेले ग्वह्रपूजा वा पाटीपूजा गर्ने चनल छ । 

धान मात्र पूजा गर्ने होइन कि आफ्नो आयस्रोतको पनि पूजा गर्नुपर्छ भन्ने परम्परा हो । दसैंमा आफ्नो आयआर्जन गर्ने वस्तुलाई पूजा गरेर शक्तिको उपासना गर्दछन् भने यःमरि पुन्हिमा आफ्नो आयस्रोतको वस्तुलाई सम्पत्ति आर्जनको निमित्त पूजा गर्छन् । यःमरिको दार्शनिक पक्ष यःमरिको आकार भनेको बौद्ध स्तुप हो । त्यसो हुनाले यःमरि खानु भनेकै बौद्ध ज्ञान प्राप्त गर्नु हो । 

शिक्षा प्राप्त गर्नको निमित्त मनस्थिति स्थिर गर्नु हो । आफ्नो मनलाई स्थिर राखेर बसमा राख्न सक्यो भने आत्मज्ञान प्राप्त गर्न सकिने हो । आफूसित भएको ज्ञान आफैँसित मात्र सीमित नराखी सक्दो सबैलाई बाँडिदिने हो । त्यस्तै यःमरि पनि आफैले मात्र नखाई सबैलाई बाँडेर ख्वाउने हो। अर्थात यःमरिपुन्हिमा वा आफ्नो जन्मोत्सवमा आफूले मात्र नखाई त्यःछिंत्यः (यःमरि माग्न आउँदा गाइने भैलोको पहिलो हरफ) माग्न आउनेहरूलाई बाँडि दिने हो । जन्मदिनमा मुछेको दही चिउरासँग बाँडिदिन्छन् भने बच्चाको दुई वर्षे जन्मदिन भए आफन्तहरूलाई बाँडिदिने चलन छ । 

अझ मामा, फुपु, दिदीबैनीहरूकहाँ त घरैमा पठाई दिने चलन छ । जसरी कसैसँग ज्ञान आर्जन गर्न अप्ठ्यारो मान्नु पर्दैन त्यसरी नै यःमरि पनि कसैसँग मागेर खान लाज मान्नुपर्दैन । त्यसलै यःमरि पुन्हिमा घरघर गएर यःमरि मागेर खान्छन्। यःमरि ज्ञानको प्रतिक भएकोले पूर्णिमाको दिन पुस्तक वा पाटी पूजा गर्नु सान्दर्भिक नै देखिन्छ । पाटी भनेको सरस्वतीको प्रतीक हो । पाटीले नजान्नेहरूलाई ज्ञानगुण प्रदान गर्दछ । त्यसैले पूर्णिमाको दिनमा पूजा गरेर ज्ञान आर्जन गर्ने हो। 

त्यःछिं त्यः 

नेवार समुदायमा दान लिनुलाई त्यछिं त्यः लिने भन्छन् । टोल टोलका केटाकेटीहरू भेला भएर घरै पिच्छे त्यःछिं त्यः माग्ने गर्दछन् । एउटा टोलको अर्को टोलमा पनि त्यःछिं त्यः माग्न जाने चलन छ । त्यःछिं त्यः माग्नेलाई यःमरि, चामल, धान, पैसा जे पनि दान गर्न सक्छन् । यसरी त्यःछिं त्यः माग्न जानेहरू कसैकसैले योजना बनाएर पनि माग्न जाने गर्दछन् । यसको निम्ति पहिले नै सूचना दिने गरिन्छ । 

यःमरि पुन्हिमा त्यःछिंत्यः माग्न आउनेहरूको भाका भने ठाउँ हेरेर, मान्छे हेरेर फरक फरक पाइन्छ । 

वसं जाने 

यःमरि पुन्हि अरु जातिले भन्दा ज्यापू समुदायले धुमधामसित मनाउने गर्छन् । खेतीपातीको काम बिग्रन्छ भनेर आफ्नो बाजाहरू थन्क्याइराखेको ठाउँबाट कागेश्वर अष्टमीको दिन पारेर निकालेर ज्यापुहरूले आफ्ना छोराहरूलाई धिमे बाजा बजाउन र धुँज्याबुँज्या (रंगीविरंगी कपडाहरूले सजाएको लिंगो) घुमाउन सिकाउँछन् । यसरी सिकाइराखेको बाजालाई टोलटोलमा घुमाउन लैजाने कामलाई वसं वनेगु (वसं जाने) भन्छन् । यो वसं जाने काम यःमरि पुन्हिदेखि सुरु हुन्छ । वसं जाँदा साधारण धिमे मात्र बजाउने होइन, धिमेको तालमा धुँज्या बुज्याँ नै घुमाउने गर्दछन् । मान्छेको काँधमा चढेर धिमे बजाउने, धुँज्या बुज्याँ घुमाउने गर्दछन् । ४ मान्छे ५ मान्छे अग्लोमा चढेर पनि धिमे बजाउन र धुँज्या बुज्याँ घुमाउने गर्दछन् । 

यःमरि बनाउने विधि 

नयाँ वा पुरानो चामलको पिठो तातोपानीले मुछ्नुपर्छ । यःमरि बफ्याउँदा फुट्छ भनेर पिठो मुछेर कपडामा पोको पारेर राख्ने गरिन्छ । 

मुछेको पीठोबाट एउटा डल्लो लिएर एकातिर चुच्चो पारेर अर्कोतिर औँला घुसारेर पातलो बनाउनुपर्छ । खोक्रो पारेको त्यस प्वालभित्र सख्खर, तिल, नरिवल, काजुकिसमिस (विशेष गरी सखर र तिल मात्र) पकाएर उक्त झोल हालेर प्वाल बन्द गर्ने गर्छन् । यसरी बन्द गर्दा अलिकति टुप्पा बाँकी रहन्छ । कसैले त्यस टुप्पोलाई सिङको आकार दिन्छन्, कसैले दुइटा वा तीनटा पातको आकार दिएर समाप्त गर्ने गर्छन् । 

यसरी पीठोको डल्लाभित्र गुलियो झोल राखेर स्तुपाकारमा बनाइएको रोटीलाई यःमरि भनिन्छ । कसैकसैले यःमरिलाई ठाडो राख्न हुने गरी पनि बनाउँछन् । कसैले भने दुइटा चुच्चो बनाएर बिन्ती गरिराखेको आभास पनि दिने गर्छन् । कसैले तिल सख्खरको साटो मुंग दाल भिजाएर मसालासहित पिसेर पनि राख्ने गर्दछन् । 

त्यसरी नै चिनी, खुवा, काजु, नरिवल, छोहरा इत्यादि मसलाको धुलो बनाएर पनि राख्ने गर्छन् । देउपूजा गर्नुपरे वा चढाउनु परे यःमरि भित्र तिलसखर मात्र राखेर पुग्दैन । त्यसभित्र तिलसखरको सट्टा पाँचवटा अक्षता समेत राख्ने चलन छ । सांस्कृतिक लेखक ज्यापु पञ्चका भनाइ अनुसार त्यसमा राखिने पाँचवटा अक्षताको अर्थ पञ्चबुद्ध अमिताभ, अमोघसिद्धि, अक्षोभ्य, रत्नसम्भव र वैलोचनको प्रतीक हो । 

यःमरिको आकार बौद्ध चैत्यको आकार हो । चैत्यको भित्र पञ्चतत्वको प्रतीकका रूपमा तिल, सख्खर समेत पाँच थोक मिसाउने गरिन्छ । यसरी यःमरि बनाइसकेपछि पहिले पहिले प्वतासि वा चाल्नीमा राखेर फ्वसि वा कसौडीमा पकाउने गर्थे । यो कलात्मक रोटी हो । 

यःमरि पकाउन जान्नेहरूले मुछेको पीठोलाई सकुञ्जेल पातलो बनाएर त्यसभित्र तिल सख्खर राख्ने गर्छन् । रोटी जति पातलो हुन्छ, त्यति सिपालुले बनाएको भन्ने बुझिन्छ । बफ्याएर पाकेपछि उचालेर चिस्याइन्छ । यसरी चिस्याएपछि यःमरि चम्किन्छ । यःमरि बनाउन मुछिराखेको पीठोलाई अण्डा चढाएर ढुंगेरोटी (लोहँचांमरि) पनि बनाउने चलन छ । लोहँचांमरिलाई गणेशको प्रतीक पनि मान्छन्, (‘सन्ध्या टाइम्स’ शुक्रवाःया तँसापौ सिलाथ्व ६, १११६) । यःमरि बनाउने क्रममा पीठोको गणेश, लक्ष्मी, कुवेर, ज्यापु ज्यापुनी, भूतप्रेत, भेडा, पानस आदि इत्यादि बनाएर बफ्याउने पनि गर्छन् ।

(डा. बज्राचार्यको अनुमतिमा ‘नेवाः सांस्कृतिक चाडपर्व’ पुस्तकबाट लिइएको ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप