सोमबार, १६ माघ २०७९
ताजा लोकप्रिय

काठमाडौंको विकासलाई आधार बनाएर देशको पर्यटन विकास गर्नुपर्छ : पर्यटनमन्त्री

विहीबार, २२ मंसिर २०७९, १३ : ४६
विहीबार, २२ मंसिर २०७९

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन् । बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौं उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताएका हुन् ।

उनले आफूले पर्यटन विकासको कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारित बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडि सारेको बताए ।  उनले नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडि बढाएको उल्लेख गरे । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका प्रकृति र मौसमका कारणले पनि सधैँभरि घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरूलाई जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने– ‘हामीले हाम्रो देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना अगाडि सार्दा उपत्यकाको पर्यटन क्षेत्रको विकास, यहाँको संस्कृति र सम्पदालाई आधारित बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अघि सारेका छौँ । त्यो नीतिलाई अगाडि सारेका छौँ । हाम्रो देशको पर्यटन क्षेत्र सिजनल खालको पर्यटन होइन, नेपाल बाह्रै महिना पर्यटकको गन्तव्य स्थल हो भन्ने कुरालाई अगाडि सारेका छौँ । उपत्यका जहाँको प्रकृति, हावापानी र मौसमहरुका हिसाबले मान्छेहरू घुमफिर गर्न सक्ने वातावरण छ । संस्कृति र सम्पदालाई चिनाउन सकिएमा पर्यटकलाई आकर्षक गर्न सक्ने अवस्था छ ।’

उनले सम्पदा तथा संस्कृतिहरुको संरक्षणका लागि जनस्तरबाट पनि काम हुनुपर्ने बताए । सरकारी प्रयास सँगसँगै जनस्तरबाट पनि काम गर्न सके सम्पदाहरूको संरक्षण गर्न सकिने र मौलिकतालाई कायम राख्न सकिने उनको भनाई छ । मन्त्री श्रेष्ठले सभ्यता र संस्कृतिहरुको संरक्षण गर्न सकेमा मात्र देशको पहिचानलाई कायम राख्न सकिने बताए ।

उनले भने– ‘ज्यापु दिवस मनाउँदै गर्दाखेरी हामीले यो उपत्यकाको संस्कृतिको जगेर्ना गर्ने कुराहरू, यहाँका सम्पदाको संरक्षण गर्ने कुराहरू र हाम्रो इतिहासलाई उजागर गर्ने कुराहरू र हाम्रो सभ्यतालाई चिनाउने कुराहरू यो सँगसँगै भइरहेको छ । हामीले हाम्रो सभ्यतालाई चिनाउन सक्यौँ भने मात्र हामीले हाम्रो इतिहासलाई उजागर गर्नसक्यौँ भने र हामीले हाम्रा सभ्यता र संस्कृतिहरूलाई संरक्षण गर्नसक्यौँ भने मात्र हाम्रो पहिचानलाई कायम गर्नसक्छौँ । हाम्रो राष्ट्रलाई चिनाउन सक्छौँ । हाम्रो मौलिकतालाई संरक्षण गर्नसक्छौँ । त्यसकारण यसको छुट्टै महत्व छ । सरकारले संस्कृतिको विकासको लागि, सम्पदाहरूको संरक्षणको लागि जुन कामहरू अगाडि बढाइरहेको छ, यसलाई जनस्तरबाट पनि हामीले सँगसँगै लैजानसक्यौँ भने हाम्रो देशको संस्कृतिलाई अझ संरक्षण गर्नसक्छौँ । सम्पदाहरुलाई जगेर्ना गर्न सक्छौँ र मौलिकतालाई कायम राख्न सक्छौँ ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नयाँ पुस्तालाई कला, संस्कृति र जात्राहरूमा आकर्षण गर्नुपर्ने बताइन् । उनले हरेक चाडपर्वको वैज्ञानिक महत्व रहेको उल्लेख गर्दै सो महत्वलाई युवा पुस्तामाझ हस्तान्तरण गर्न सके उनीहरूले चाडपर्व तथा कला, संस्कृतिहरूको संरक्षण गर्दै जाने बताए ।

उनले भनिन्– ‘नयाँ पुस्तालाई कला, संस्कृति, जात्रा पर्वमा आकर्षण गर्ने हो भने हिजो, अस्ति हाम्रा बाजे आमाबुबाले भनेको भरमा मात्र नयाँ पुस्ताले कुनै पनि रहनसहनलाई अंगालिरहेको हुँदैन । त्यो करकापले मात्र अगाडि बढाइरहेको हुन्छ । यद्यपि हामीले मनाउने हरेक चाडपर्वमा वैज्ञानिक महत्व छन् । र त्यो वैज्ञानिक महत्व हामीले नयाँ पुस्तालाई हस्तान्तरण ग¥यौँ भने सहर्ष, खुशीका साथ त्यो पर्व मनाइन्छ र त्यसको महत्व सदैव जगेर्ना हुन्छ । किन मनाउँदै छौँ ? भन्ने त्यसको महत्वको पार्टलाई, नयाँ पुस्तालाई हामीले जानकारी दिन सक्यौँ भने हरेक पर्वहरूलाई हामीले कालान्तरसम्म अगाडि बढाउन सकिन्छ । जुन कुरालाई महानगरपालिकाले विशेष महत्वको साथमा हेरेको छ ।’

उनले काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका विभिन्न पर्वहरू, मुर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण र संवद्र्धनका लागि महत्व दिइरहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप