बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

यःमरिको सामाजिक र सांस्कृतिक महत्व

विहीबार, २२ मंसिर २०७९, १४ : ४०
विहीबार, २२ मंसिर २०७९

मानसिक रुपमा स्वस्थ रहन चाडपर्वले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले, मानिसहरुले आफ्नो जीवन सहज बनाउन विभिन्न चाडपर्वहरुको सुरुवात गरेका होलान् । जातजातिअनुसार विभिन्न चाडपर्वहरु मनाइने गरिन्छ । यही क्रममा नेवार समुदायले मनाउने पर्व यःमरि पुन्हि (पूर्णिमा)को बारेमा छोटो चर्चा गरिन्छ ।

नेवार समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेष गरी धर्ति माता भनिने अन्नपूर्ण माताको पूजा गरिन्छ । त्यसैले, उनलाई खुसी पार्न मिठाई स्वरुपमा यःमरि बनाउने गरिन्छ भन्ने मान्यता पनि छ ।  यसै दिन धनका लागि प्रसिद्ध देवता कुवेरको पनि पूजा गर्ने गरिन्छ ।

नेवारी समुदायमा यःमरि एक विशेष परिकारको रुपमा मानिन्छ । कृषिप्रधान देश भएकाले बाली लगाउँदा र बाली भित्र्याउँदाको समयलाई महत्वपूर्ण अवसरको रुपमा मनाउने चलन विभिन्न जातजातिमा रहेको छ । नेवार समुदायले पनि धान बाली भित्र्याएपछि यःमरि पूर्णिमा मनाउँछन् ।

सामान्यतया धान बाली भित्र्याएपछि नयाँ धानलाई कुटेर त्यसको चामलको पिठोमा चाकु र तिल प्रयोग गरी यःमरि बनाइन्छ । हाल आएर चाकुको सटामा खुवा, चिनी, मासुको किमा राखी बनाउने चलन पनि बढ्दै गएको छ ।

यःमरिमा चाकुको प्रयोग गर्नुको कारण चिसो मौसममा चाकुले हाम्रो शरीरलाई न्यानो बनाउनुका साथै तागत पनि दिने भएकोले प्राय चाकु नै प्रयोग हुने बुढापाकाहरु बताउँछन् । यःमरि पूर्णिमा विशेष गरी मंसिर महिनामा पर्ने हुनाले चिसो बढ्दै गएको हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउने गर्दछ । 

पहिला विशेष अवसरमा मात्र बनाइने यःमरि हाल आएर व्यापारिक हिसाबले पनि बनाएर बेच्ने गरिन्छ । यःमरि पूर्णिमाको अवसरमा घरका सबै सदस्यहरु एकै ठाउँमा जम्मा भई यःमरि बनाउने गर्दछन् भने साना बालबालिका र युवाहरु घर घरमा गएर गीत गाउँदै यःमरि माग्ने गर्दछन् यसलाई नेवारीमा यःमरि फोनेगु भनिन्छ ।

कतिपयले यःमरि पूर्णिमालाई प्रेमको प्रतीकको रुपमा पनि मान्दछन् । पहिला पहिला युवाहरु घर घर गएर गीत गाउँदै यःमरि माग्न जाँदा त्यसैबिच प्रेम सम्बन्ध पनि हुन्थ्थो ।  तर आधुनिकताको लहरसँगै गीत गाउँदै यःमरि माग्ने चलन हराउँदै गएको छ । आजकल त बालबालिकाहरु पनि घरबाहिर निस्किएर रमाइलो गर्नेभन्दा पनि विभिन्न आधुनिक ग्याजेटहरुमा गेम खेल्न, मुभी हेर्न व्यस्त देखिन्छन्  ।

वास्तवमा हाम्रा चाडपर्व, जात्रा, भाषा, भेषभुषा रहेमात्र हाम्रो पहिचान रहन्छ । त्यसैले, आफ्नो संस्कृतिको संरक्षण हरेक जातजातिले आफै अगाडि बढ्नु पर्दछ  ।

 यःमरि पूर्णिमाको बारेमा विभिन्न कथाहरु सुन्न पाइन्छ ।  यस  पर्वको सुरुवात कहिलेदेखि भयो भनेर इतिहास खोत्लने हो भने ‘सोसल हिस्टोरी अफ नेपाल’मा उल्लेख भएअनुसार काठमाडौंमा छैठौ शताब्दीमा  अंशुवर्माको पालादेखि यःमरि बनाउने चलनको सुरुवात भएको देखिन्छ ।

यस्तै गरी यःमरि बनाउने चलनबारे कसै कसैले यो प्रचलनको सुरुवात पान्चाल नगर हालको पनौतीबाट भएको मान्दछन् । यसै अनुसार त्यहाँ पहिले सुचन्द्र र कृता एक विवाहित जोडीले आफनो खेतबाट उत्पादन भएको नयाँ धानको चामलबाट चाकु हाली यःमरि बनाए र अरु गाउँलेहरुलाई पनि बाँडे । अरुहरुले पनि त्यो परिकारलाई सारै मनपराए । त्यसैले यःमरिको शाब्दीक अर्थ सामान्यीकरण गर्दा मीठो रोटी हुन्छ ।

     यःमरिको विषयमा चर्चा गर्दा कतिपयले यो संस्कृति भारतीय मिठाई मोदकसँग पनि मिल्दोजुल्दो रहेको भन्ने गरेका छन् । के.टी. आचार्यका अनुसार मोदक भारतको सबैभन्दा पुरानो मिठाई हो । मोदक गणेश भगवान्को प्रिय बस्तु मानिन्छ । विशेष गरी गणेश चतुर्थीमा यो मिठाइ बनाउने गरिन्छ । भारतमा यो मिठाइ बनाउने चलनको सुरुवात २ सय वर्ष भन्दा अगाडिको रहेको कुरा आचार्यले उल्लेख गरेका छन् ।

    यःमरि विशेष गरी नेवार समुदायले यःमरि पूर्णेको दिनमा बनाएर खाने चलन रहदै आए पनि अन्य विशेष कार्यहरुमा पनि यो बनाउने गरिन्छ जस्तो कि बच्चा १२ वर्ष नपुगेसम्म जन्म दिनमा यःमरिको माला बनाएर  लगाइदिने गरिन्छ । यसरी माला बनाउदा बच्चा जति बर्षको भयो त्यति वटै यःमरिको माला बनाएर लगाइ दिने चलन छ ।

यस्तै, विभिन्न सम्प्रदायमा पनि विमिरोसँगै यःमरिलाई पनि राखेर पूजा गरिन्छ । यसरी पूजा गरे धनसम्पति बढ्ने जनविश्वास छ ।  यस अवसरमा मानिसहरु यःमरि बनाई विभिन्न देवी देवताको मन्दिरमा पूजाआजा गर्दछन् ।

यःमरि पूर्णिमाकै अवसरमा आफ्ना छोरी चेलीलाई बोलाई भोज खुवाउने गरिन्छ । नेवार समुदायमा कायम रहेको सामाजिक संस्था गुठीको पालो साट्ने काम पनि यही दिन गरिन्छ । यसरी नेवार समुदायका महत्वपूर्ण कार्यहरुमा यःमरि बनाइने भएकाले यःमरिको सांस्कृतिक, धार्मिक तथा वैज्ञानिक महत्व रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप