शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताको रेसबाट ‘आउट’ !

बिहीबार, २२ मङ्सिर २०७९, १५ : ५२
बिहीबार, २२ मङ्सिर २०७९

आम निर्वाचन २०७९ अघिमात्र दर्ता भएर पहिलो पटक निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ २० सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी यो पार्टीले २० सिट जितेको हो । मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलहरु सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने पहलमा व्यस्त देखिन थालेका छन् । संघदेखि लिएर प्रदेशहरुमा कसरी सरकार गठन गर्न सकिन्छ र बहुमत जुटाउन कुन दललाई साथ लिन उपयुक्त हुन्छ भन्ने हरहिसाब भइरहेको छ ।

यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी भने सत्ताको रेसबाट टाढा देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन नयाँ सरकार गठनका लागि अग्रसर देखिएको छ । नेकपा एमाले पनि आफ्नो नेतृत्वको गठबन्धनमा रहेर चुनावमा गएका दलहरुलाई साथ लिएर आफ्नो पक्षमा बहुमत हासिल हुन सक्ने सम्भावनाको खोजीमा छ । प्रदेशहरुतिर पनि एमालेले कहाँकहाँ आफ्नो नेतृत्वमा सरकार गठन हुन सक्छ भन्नेमा सुक्ष्म विश्लेषणका साथ आवश्यक रणनीति बनाइरहेको देखिन्छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल यी दुवै ध्रुवको रोजाइमा पर्न सकेको छैन ।

प्रतिनिधिसभामा यस्तो छ समीकरण

२७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट प्राप्त गरेको हो । कांग्रेस नेतृत्वकै सत्तारुढ गठबन्धनमा रहेका अन्य दलहरुमा नेकपा माओवादी केन्द्रले १८ प्रत्यक्ष र १४ समानुपातिक गरी जम्मा ३२ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले समानुपातिकमा सिट नपाए पनि प्रत्यक्षतर्फ १० सिट पाएको छ । सोही गठबन्धनमा रहेको लोसपा नेपालले ४ सिट र राष्ट्रिय जनमोर्चाको एक सिट छ ।

सत्तारुढ गठबन्धनमा रहेका यी सबै दलको कुल सिट संख्या १३६ हुन्छ । यो गठबन्धनलाई बहुमत जुटाउन थप २ सिट आवश्यक हुन्छ । यसका बाबजुद यो गठबन्धनले २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई खासै वास्ता गरेको छैन । बरु, ६ सिट रहेको जनमत पार्टी र १२ सिट रहेको जसपा नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको तुलनामा बढी महत्त्व पाएका छन् ।

अर्कोतिर नेकपा एमाले नेतृत्वको राजनीतिक ध्रुवले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई खासै वास्ता गरेको छ । प्रतिनिधिसभामा ४४ प्रत्यक्ष र ३४ स्वतन्त्र गरी जम्मा ७८ सिट पाएको छ । निर्वाचनमा एमाले नेतृत्वको गठबन्धनमै रहेर प्रतिस्पर्धा गरेको राप्रपाले ७ प्रत्यक्ष र ७ समानुपातिक गरी १४ सिट पाएको छ । यस्तै, जसपा नेपालले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी जम्मा १२ सिट पाएको छ । यी तीन दलको कुल सांसद संख्या १०४ हुन्छ । यो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी सामेल भएको अवस्थामा कुल सांसद संख्या १२४ हुन्छ । यो अवस्थामा बहुमतका लागि थप १४ सांसद अपुग हुने देखिन्छ । एमालेले ६ सिट रहेको जनमत पार्टी, ३ सिट रहेको नागरिक उन्मुक्ति पार्टी, एक सिट रहेको नेपाल मजदुर किसान पार्टी र ५ स्वतन्त्र सांसदमध्येबाट बहुमतको आँकडा पार गर्न सक्ने सम्भावना प्राविधिक रुपमा जीवित देखिन्छ ।

प्रदेशसभामा ‘शून्य’ हुँदा घट्यो महत्त्व

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा मात्र भाग लिएको थियो । यसर्थ प्रदेशसभातर्फ उसको उपस्थिति शून्य छ । प्रमुख राजनीतिक दलहरुलाई संघीय सरकारका लागि मात्र होइन, केही प्रदेशमा प्रदेश सरकार गठनका लागि पनि सहयोगी घटकको खाँचो देखिन्छ । सत्तारुढ गठबन्धनलाई प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो गठबन्धन बाहिर रहेका दलको पनि समर्थन आवश्यक पर्ने भएको हो ।

यसका लागि सत्तारुढ गठबन्धनका लागि सबैभन्दा महत्त्वपूर्ण साझेदारका रुपमा जसपा नेपाल नै रहने देखिन्छ । किनकि, प्रदेश १ मा वर्तमान गठबन्धनलाई कायम राखेर जसपा नेपालको समर्थनबिना सरकार बन्न सक्ने अवस्था देखिँदैन ।

प्रदेश १ मात्र नभई सत्तारुढ गठबन्धनले साथ दिएको अवस्थामा मधेस प्रदेश र लुम्बिनी प्रदेशमा पनि सत्तारुढ गठबन्धनले सहजै सरकार गठन गर्न सक्ने सम्भावना छ । त्यसैले संघीय सरकार गठनका लागि सत्तारुढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीको तुलनामा जसपा नेपाललाई नै प्राथमिकता दिने देखिन्छ ।

जसपा नेपालले सत्तारुढ गठबन्धनलाई साथ दिएको अवस्थामा एमालेले संघीय सरकारका लागि समेत दाबी गर्न नसक्ने हुन्छ । त्यसैले एमालेले पनि तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति चासो देखाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप